सडक बनाउन ६ वर्षदेखि दौडधुप

डोल्पा ः गत शुक्रबारमात्र डोल्पाका सांसद धनबहादुर बुढाले रक्षामन्त्री मानवीर राइलाई भेटे । यसअघि २७ चैतमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई भेटे ।
विगत ६ वर्षयता बनेका सबै सरकारका भौतिक पूर्वाधार र रक्षामन्त्री भेटिसके । धेरै पटक सदनमार्फत् पनि सरकारको ध्यानाकर्षण गराए । तर, पनि ठोस निर्णय भने हुन सकेको छैन । विषय हो ल्यासीक्याप–सिसौल खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिने । यो खण्ड निर्माण पछिमात्र भेरी करिडोरले पूर्णता पाउँछ ।
दुई सय १६ किलोमिटर लामो भेरी करिडोरमध्ये ४४ किलोमीटर सडकमा अझै ट्रयाक खुलाउन बाँकी छ । जसमध्ये ३३ किलोमिटर चट्टानी भू–भागयुक्त छ । उक्त सडक सेनालाई निर्माणको जिम्मा दिन सांसद बुढाले ६ वर्ष यताका सबै मन्त्री गुहार्दै आएका छन् ।
तर, पनि कार्यन्वयन भने भएको छैन । सांसद बुढा भन्छन्, ‘ल्यासीक्याप देखि सिसौलसम्मको सडक निर्माणको जिम्मा सेनालाई दिन माग गर्दै विगत ६ वर्षयता बनेका सबै सरकारका भौतिक पूर्वाधार र रक्षामन्त्री भेट्दै आएको छु, तर अहिलेसम्म कुनै ठोस काम भएको छैन ।’
भेरी करिडोर डोल्पाको मात्र नभई नेपाल चीन र भारत जोड्ने देशकै महत्त्पूर्ण आयोजना हो । यसलाई पूर्णता दिने राज्यको प्रमुख दायित्व हो । ‘यस विषयमा सदन र सरकार दुवैलाई गुहारी रहेको छु । आश्वासन बाहेक केही पाइएन्,’ उनले भने, ‘ठूलाठुला चट्टान फुटाएर जाजरकोट–डोल्पा सडक निर्माण गरेपछि सेनाप्रति डोल्पालीको विश्वास छ । सेनाले जिम्मा पाएमा समयमै ल्यासीक्याप–सिसौलखण्ड काम सम्पन्न गर्छ भन्ने लाग्छ, तर सेनाले काम लिन सरकारले कहिले ठोस निर्णय गर्छ थाह छैन ।’
कर्णालीबासीको लाइफलाइनको रुपमा रहको भेरी करिडोर अन्तर्गत पर्ने यो खण्ड निर्माणका लागि राज्य गम्भीर हुनुपर्ने उनको माग छ । तत्कालीन रक्षामन्त्री पूर्ण बहादुर खड्का हुँदा नेपाली सेनाको विकास निर्माण महाशाखाका प्रमुख धर्मेन्द्र कुमार झा, भेरी करिडोरका इन्जिनियर महेन्द्र माझीसहितको टोलीले हेलिकोप्टबाट उक्त खण्डको निरीक्षण गरेको थियो ।
त्यतिबेला नै सेनाले जिम्मा लिने भनेको काम अझै टुंगिन सकेको छैन । उक्त खण्ड निर्माणको जिम्मा सेनालाई दिन आग्रह गर्दै बारम्बार डोल्पाबाट निर्वाचित प्रदेश सांसदहरुले कुरा उठाइरहे पनि सुनुवाइ हुन सकेको छैन ।
कर्णाली प्रदेश सभा सदस्य वीरबहादुर शाही भन्छन्, ‘दुनै–ल्यासीक्याप सडक निर्माणका लागि पटक–पटक प्रदेश सभा पनि आवाज उठाउँदै आएको छु तर, पनि सुनुवाइ भएको छैन ।’ यो सडक निर्माण पूरा गर्ने विषयमा सरकारले छिटोभन्दा छिटो निर्णय गर्नुपर्ने उनको माग छ ।
यो सडकले खाली यातायातको सुविधा मात्र दिने नभइ कुटनीतिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने उनको भनाइ छ । उनी भन्छन्, ‘प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेका सुन्दर फोक्सुण्डो ताल, जगदुल्ला ताल, सुलिगार्ड झरना, संसारकै अग्लोबस्ती छार्का भोट, प्रशिद्ध धार्मिकस्थल तथा शक्तिपीठ श्री बाला त्रिपुरासुन्दरी मन्दिर हेर्नकै लागि लाखौं पर्यटक भित्रिन्छन् र यसबाट राज्यले अर्बौं रकम लाभ लिनसक्छ ।’
विस २०७५ मंसिरमा डोल्पा दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो । अहिले दुनैसम्म सिधा काठमाडौंबाट गाडी पुग्छन् । तर, उपल्लो डोल्पाका बासिन्दाले यातायातको सुविधा नहुँदा कष्टकर जीवन बिताइरहेका छन् ।
उपल्लो डोल्पासम्म सडक नजोडिएकै कारण दैनिक उपभोग्य सामग्री ढुवानीदेखि स्वास्थ्य उपचारमा समस्या हुने गरेको स्थानीयको गुनासो छ । यससँगै महंगीको मार समेत खेप्नु परेको छ । सडक नजोडिएकै कारण नागरिकता राहदानी लगायतका कामका लागि सदरमुकाम पुग्न तीनरचार दिन पैदल हिँड्नुपर्ने उपल्लो डोल्पाबासीको बाध्यता छ ।
ल्यासीक्याप–सिसौलखण्डको ट्रयाकका खुलाई बीच–बीचमा पर्ने खोलामा पुल निर्मांण भएपछि मात्र उपल्लो डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिने छ । उपल्लो डोल्पामा डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङ्सोङ् गरेर तीववटा स्थानीय तह रहेका छन् ।



