डोल्पाका सवै यार्सा पाटन जेठ ५ गते खोलिने

डोल्पा ः डोल्पाका पाटन क्षेत्रमा जेठ ५ गते देखि यार्सागुम्दा संकलन गर्न अनुमति दिइएको छ । जेठ ५ गते देखि खुल्ला गरिएका पाटनहरु असार ५ गते बन्द हुने आज बसेको सर्वदलिय बैठकले निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायले जानकारी दिनुभयो । पाटन क्षेत्रमा प्रवेश गर्नका लागि शुल्क लाग्ने व्यवस्था गरिएको छ ।
निकुञ्ज क्षेत्रका वन प्रबेशका लागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले प्रबेश शुल्क लिने छ भने मध्यवर्ति क्षेत्रका सामुदायिक बनहरुले सेवा शुल्क वापतको छुटै शुल्क लिन पाउनेछन । निकुञ्जको कोर क्षेत्र र मध्यवर्ति क्षेत्रका नागरिकले रु ५०० ,डोल्पा जिल्ला भित्रका नागरिकले रु २ हजार र जिल्ला बाहिरका नागरिकले रु ३ हजार रुपैयाँ तीरेर पाटन क्षेत्रमा प्रवेश गर्न पाइने निर्णय गरिएको रोकायले जानकारी दिनुभयो ।
यसरी लिएको प्रबेश अनुमति पत्र रसिदवाट सवै वन क्षेत्रमा यार्सागुम्वा संकलन गर्ने पाउनेछन । एक सामुदायिक वनवाट अर्को सामुदायिक वनमा यार्सागुम्वा संकलनका लागि प्रबेश गरेमा उक्त सामुदायिक वनले संकलकवाट सेवा शुल्क वापतको छुट्टै रु ५ सय रकम लिन पाउने निर्णय गरिएको छ ।
डिभिजन वन अन्तरगतका यार्सा पाटनहरुमा भने सामुदायिक वनले प्रबेश शुल्क लिने गरेका छन । आईतवार वसेको सर्वदलिय सर्वपक्षिय वैठकले बिभिन्न ११ वटा निर्णय समेत गरेको छ । घुम्ती स्वास्थ्य शिविर सञ्चालन देखि सुरक्षाको व्यवस्था कडा बनाउने सम्मका निर्णय गरेको छ ।



