पश्चिम जाजरकोटमा सडकको स्तरोन्नतीसँगै पुल निर्माण कार्य सुरु

हेमन्त केसी
सुर्खेत , ८ वैशाख ः पश्चिम जाजरकोटलाई सडक सञ्जालसँग जोडनका लागि तीन वटा पुलसँगै सडकको स्तरोउन्नतीको काम सुरु गरिएको छ । कच्ची सडक निर्माण भएको दर्शक पछि यहाँ तीन वटा पुल तथा सडकमा स्तरोउन्नतीको काम सुरु गरिएको हो ।
भेरी करिडोरसँग जोडिएको शिवालय गाउँपालिका–१ छेडाबजारबाट छेडागाड नगरपालिकामा मध्यपहाडी राजमार्गसँग जोडिएर जुनिचाँदेबाट जुम्ला जोडने सडक खण्ड तथा सहायक सडकमा पुल निर्माणको काम सुरु गरिएको छ । स्तरोन्नतीको क्रम्मा रहेको यो सडकको बीचमा रहेको जाजरकोटको शिवालय गाउँपालिका –९ र छेडाघाट नगरपालिका–१ को बीचमा रहेको जोड्ने रिठ्ठे खोलामा पक्की पुल निर्माण कार्य सुरु गरिएको हो । ३ करोड १२ लाख ५९ हजार १५९ रुपैयाँमा आसिस आर्सिवाद जेभी चितवनले पुल निर्माणको ठेक्का पाएको छ । २०८० चैत २८ गते सम्झौता भएकोमा पुल निर्माण गर्ने अन्तिम मिति २०८२ चैत २६ गते रहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजना , आयोजना कार्यान्वन एकाइका प्रमुख हरि ओलीले जानकारी दिनुभयो ।
आयोजना कार्यान्वन एकाइका प्रमुख ओलीले भन्नुभयो ,‘ शिवालयको मोर्क देखि वडावन सम्मको १७ किलोमिटर सडकको स्तरोउन्नतीसँगै पुल पनि निर्माणको काम चलिरहेको छ । अहिले सम्मा हामीले २३ प्रतिशत भौतिक प्रगती प्राप्त गरेछौँ । ५० करोड १२ लाखमा सडक तथा पुल निर्माण हुने गरि सम्झौता भएको छ । ’ पश्चिम जाजरकोटको लाइफलाइन सडक पनि यही रहेको छ । त्यस्तै पूर्वाधार विकास कार्यालय ,जाजरकोटले छेडागाड नगरपालिका–६ र जुनिचाँदे गाउँपालिका–५ को बीचमा रहेको लामातरामा बेलिब्रिज पुल निर्माण कार्य सुरु गरिएको छ । बेलिब्रिज निर्माण गर्नका लागि ३ करोड ६८ लाख ४ हजार ४७८ रुपैयाँमा गौरव हान्दिक इन्जिनियरिङ जेभी भरतपुर १६ चितवनसँग सम्झौता भएको छ । २०८१ फागुन २२ गते सम्झौता भएको छ भने २०८२ माघ २५ गते भित्र निर्माण कार्य पुरा गरेर हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख रहेको छ ।
यो सहायक सडकमा निर्माण हुने बेलिब्रिज पुल हो । त्यस्तै छेडागाड नगरपालिकाको वडा ५ र १२ जोड्ने मनघाट खोलामा बेलीब्रिज पुलको निर्माण कार्य समेत सुरु भएको छ । छेडागाड नगरपालिकाको प्रशासकीय केन्द्र समेत रहेको छेडागाडमा उक्त पुल निर्माण कार्य सुरु भएसँगै पालिकामा जान र आउन सहज हुने स्थानीयबासीको बुझाई रहेको छ । संघ सरकारले उपलब्ध गराएको सामग्री प्रदेश सरकारले जडान गर्न लागेको हो । लामो समय देखि पुलका सामानहरु अलपत्र परेर चालु आवमा पुल जडान गर्न बजेट बिनियोजन भएपछि पुलको काम सुरु भएको छ । बेलिब्रिज जडान गर्नका लागि २ करोड १ लाख ८९ हजार ८६८ रुपैयाँमा अजा निर्माण सेवाले ठेक्का पाएको छ । २०८१ चैत २२ गते सम्झौता भएकोमा २०८२ चैत २२ गते निर्माण कार्य पुरा गर्नुपर्ने सम्झौतामा उल्लेख रहेको छ । तोकिएकै समयमा पुल निर्माण भएमा पश्चिम जाजरकोटका स्थानीयबासीका लागि यात्रा सहज हुने छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र थापाले बताउनुभयो ।
प्रदेश सरकारले निर्माण गर्न लागेका यि सबै पुलहरु समयमै निर्माण गरि पश्चिम जाजरकोटका नागरिकलाई विकासको अनुभूति गर्न मदत पुग्ने आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहले बताउनुभयो । तीनै वटा पुल मन्त्री शाहकै निर्वाचन क्षेत्र रहनुका साथै शिलान्यास समेत उनैले गरेका छन् । छेडा–कचाली–जुम्ला सडक खण्ड भित्र पर्ने छेडागाड नगरपालिकाको साल्म खोला मोटरेबल पुल समेत निर्माण व्यवसायीले काम नगर्दा अलपत्र पर्दै आएको छ । २०७८ साउन २९ गते पुल निर्माण गर्न ठेक्का लगाएको भएपनि नेपाल मेगा–सिस्ने जेभी नेपालगन्ज–२ बाँकेले काम नगर्दा अलपत्र पर्दै आएको छ । यो पुल निर्माण नहुँदा छेडागाड , जुनिचाँदे जान र आउन समस्य समस्य हुँदै आएको छ । प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयले यो ठेक्का खोलेको थियो । ग्रामीण सडक सञ्जाल सुधार आयोजना , आयोजना कार्यान्वन एकाइले निर्माण गर्न लागेको सडक समेत यही भागमा पर्छ ।
पुल निर्माणको ढिलाइले आयोजना कार्यान्वन एकाइलाई समेत काम गर्न मुस्किल हुने अवस्था सिर्जना भएको पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताउनुभयो । यही पुल लगायत कर्णालीमा अलपत्र ३५ योजनालाई अगाडी बढाउनका लागि मुख्यमन्त्री यामलाल कँडेल , भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढा ,जिल्ला स्थित कार्यालय र निर्माण व्यवसायीसँग छलफल समेत भएको छ ।



