हुम्लाको नाम्खामा भेटिए ३९ वटा हिउँ चितुवा

हुम्ला ः हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा ३९ वटा दुर्लभ लोपोन्मुख हिउँ चितुवा रहेको पाइएको छ । उकाली तथा तेस्रो ध्रुव संरक्षणले र डिभिजन वन कार्यालय हुम्लाको समन्वयमा गरेको सर्वेक्षणमा ३९ वटा हिउँ चितुवा रहेको पाइएको हो । सन् २०२२ देखि २०२३ सम्म त्यस क्षेत्रमा सर्वेक्षण गरिएको थियो ।

क्यामेरा ट्रयापिङ प्रविधिको प्रयोग गरेर सर्वेक्षण गरिएको उकाली तथा तेस्रो ध्रुव संरक्षण अनुसन्धानकर्ता प्रमुख तथा रोयलेक्स आर्वडका विजेता रिन्जिन फुन्जोक लामाले जानकारी दिए ।

नाम्खा गाउँपालिकाभर ६१ वटा क्यामेरा ट्रयाप प्रयोग गरी ४७२६ क्यामेरा दिनको सर्वेक्षण गरिएको हिउँ चितुवा अनुसन्धानकर्ता लामाले बताए । यो संरक्षित क्षेत्र बाहिर गरिएको पहिलो सर्वेक्षण हो ।

अनुसन्धानकर्ता लामाका अनुसार नेपाल सरकारले २०२४ देखि २०३० सम्म हिउँ चितुवाको गणना तथा संरक्षणलाई उच्च प्रथामितामा राखेको छ । यस अध्ययनले अभियानलाई प्रर्वद्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

नेपाल सरकारले राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभाग, वन तथा भू संरक्षण विभाग तथा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संरक्षण संस्थाहरुको सहकार्यमा अघि सारिएको राष्ट्रिय हिउँ चितुवा गणना अभियानमा यो अध्ययनले प्रत्यक्ष रुपमा योगदान गर्ने वैज्ञानिक आधार प्रदान गरेको छ ।





error: Content is protected !!