शिक्षा क्षेत्रमा सहकार्य गर्न बुढानीलकण्ठको टोलि डोल्पामा

डोल्पा ः देशका अन्यपालिकाका असल अभ्यासहरुबाट सिक्दै र आफूले अबलम्बन गरेका असल अभ्यासहरुबाट अन्य पालिकाले पनि सिक्न सकुन भन्ने उदेश्यले काठमाडौँको बुढानीलकण्ठ नगरपालिका जनप्रतिनिधिहरु डोल्पा पुगेका छन् । नगर प्रमुख मिठाराम अधिकारी ,उपप्रमुख अनिता लामा सहितको टोलि डोल्पाको दुनै पुगेको छन् ।
कर्णालीको जाजरकोट, पश्चिम रुकुम हुँदै डोल्पा पुगेर यी जिल्लाहरुमा भएका असल अभ्यासको अवलोकन गरेको अधिकारीले जानकारी दिएका छन् । मध्यपहाडी लोकमार्गको बाटो हुँदै डोल्पा पुगेको उक्त टोलिले दुर्गमको शिक्षाका बारेमा व्यापक अध्ययको विषय रहेको नगरप्रमुख अधिकारीले बताए ।
कर्मचारी सहित डोल्पा पुगेको उक्त टोलिले डोल्पाबाट कर्णाली प्रदेश सभा सदस्य बीरबहादुर शाही, त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख जनचन्द्र रोकाया, उपप्रमुख देवी घर्ती, ठुलीभेरी नगरपालिकाका प्रमुख स्वबर्ण कुमार बुढा, शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्दुक गुरुंग, छार्का ताङसोङ गाउँपालिकाका अध्यक्ष सेनांग गुरुंग, मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीसँग छलफल भएको छ । छलफलमा नगरपालिकाले शिक्षा क्षेत्रमा गरेका उत्कृष्ठ व्यवस्थापन, अनिवार्य तथा आधारभुुत शिक्षाको कार्यान्वयन, विद्यार्थीको सिकाई उपलब्धी अभिवृद्धि, शिक्षक पेसागत विकास र विद्यार्थी मूल्यांकनमा सुधार जस्ता शैक्षिक क्रियाकलापहरुका बारेमा अनुभव आदान प्रदान गरिएको थियो ।
नगरपालिकाले शिक्षामा गरेका उत्कृष्ठ व्यवस्थापन, अनिवार्य तथा आधारभुत शिक्षाको कार्यान्वयन, विद्यार्थीको सिकाई उपलब्धी अभिवृद्धि, शिक्षक पेसागत विकास र विद्यार्थी मूल्यांकनमा सुधार जस्ता शैक्षिक क्रियाकलापहरुमा अन्तरपालिका साझेदारी , सहकार्य गर्ने लक्ष्य रहेको छ । डोल्पामा त्रिपुरासुन्दरी नगरपालिका र शे फोक्सुण्डो गाउँपालिकासँग समझदारी पत्रमा हस्ताक्षर गरिने उद्देश्य रहेको बुढानीलकण्ठ नगरपालिकाको शिक्षा महाशाखा प्रमुख ललितविक्रम सिंहले जानकारी दिए ।
शिक्षा क्षेत्रको विकास बिना लक्ष्य हासिल गर्न कठिनाई हुने अनुभवका आधारमा शिक्षाको विकास र गुणस्तर सुधारका लागि साझेदारी र सहकार्य गर्ने स्थानीय तहहरुका बिचमा सम्भव भएसम्म भौतिक र नभए सूचना प्रविधिको प्रयोग गरेर भिडियो मार्फत कार्यक्रम आयोजना गरेर दुर्गमको शैक्षिक विकासमा योगदान पुर्याउने कार्यक्रमको उद्देश्य रहेको नगर प्रमुख अधिकारीले जनाउनुभयो ।
साझेदारी तथा सहकार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न अनुभव आदान प्रदान गर्ने, संयुक्त रुपमा साझा गन्तव्य निर्धारण गर्ने, शैक्षिक रणनीति र कार्यक्रम निर्माण गरी कार्यान्वयन गरिने जनाइएको छ । यो कार्यक्रम सफल कार्यान्वयन भएमा दुर्गम क्षेत्रका पालिकाहरुको शिक्षाको सुधार, विकास र उन्नयनमा उल्लेख्य टेवा पुग्ने उक्त नगरपालिकाका शिक्षा महाशाखाका महाशाखा प्रमुख उपसचिव ललित बिक्रम सिंहले बताउनुभयो ।
सझेदारी गर्ने स्थानीय तहहरुका बालबालिकाहरुका लागि यस अघि नै झोला र शैक्षिक सामग्री पठाइसकिएको जनाइएको छ । कठिन यात्रा गर्दै डोल्पा पुग्नु भएका नगर प्रमुख, उपप्रमुख सहितको टोलीले दुनैमा रहेको डोल्पो क्याम्पसको अवलोकन गरी जानकारी लिएका छन्।



