महोत्सवमा ग्राहकको मन अर्ग्यानिक खाद्यान्नमा

बाँके ः महोत्सवस्थलको प्रवेशद्वारमै छ, ‘पँैचो पसल’ । उक्त पैँचो पसलमा लुम्बिनी प्रदेशमा उत्पादित विभिन्न अर्ग्यानिक खाद्यवस्तु प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । महोत्सवमा आउने अधिकांश पसलमा एकैछिन भए पनि रोकिएर चाखपूर्वक अर्ग्यानिक खाद्यान्नबारे जानकारी लिन्छन् भने केहीले खरिद पनि गर्छन् ।नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा यही माघ १० गतेदेखि सुरु भएको प्रादेशिक महोत्सवमा अधिकांश अवलोकनकर्ताको रोजाइ अर्ग्यानिक खाद्यवस्तुमा देखिएको छ । अन्य स्टलले भन्दा अर्ग्यानिक खाद्यान्नका प्रदर्शनी कक्षले अवलोकनकर्ता आकर्षित गरेको आयोजकको बुझाइ छ । अर्ग्यानिक कोसेली फुड इन्डष्ट्रिज प्रालिका सञ्चालक इन्दिरा शाहीले महोत्सवमा अर्ग्यानिक खाद्यान्नमा अवलोकनकर्ताको आकर्षण रहेको बताउनुहुन्छ । “मेरो प्रदर्शनी कक्षमा सबैभन्दा बढी बिक्री हुनेमा सातु छ, विभिन्न खाद्यान्न मिसाएर बनाएकाले होला धेरैले मन पराउनुभएको छ”, उहाँले भन्नुभयो ।
शाहीको प्रदर्शनी कक्षमा हिमाली र पहाडी क्षेत्रमा उत्पादित लसुन, खुर्सानी, टिमुरको छोपका साथै सेलरोटी, जुम्लाको अर्सा बिक्री भइरहेको छ । उहाँले दैनिक औसत रु १० हजारको बिक्री भइरहेको सुनाउनुभयो ।
त्यस्तै नमुना च्याउ फर्म कोहलपुरकी पद्मकली बमले पनि स्थानीय उत्पादनमा अवलोकनकर्ताको चाख राम्रो देखिएको बताउनुभयो । “मेरो प्रदर्शनी कक्षमामा फापर, कोदो, मार्सी चामल, चिनो, सिमी, सिस्नो बिक्रीमा छन्”, उहाँले भन्नुभयो, “नेपालगञ्जवासीले पनि सिस्नो, कोदो र फापर यति धेरै मन पराउनुहुन्छ भन्ने सोचेकै थिइन्, महोत्सवमा राम्रो व्यापार भइरहेको छ ।”
मीठो छ फुड प्रालिका सविता शाहको अनुभव पनि त्यस्तै छ । उहाँले महोत्सवमा फिनी र सेलरोटी, खुर्मालगायतका परिकार बिक्री गरिरहनुभएको छ । “हेर्दा राम्रो र खाँदा स्वादिला भएकाले होला, बिक्री राम्रो भइरहेको छ, दैनिक औसत रु चार हजारको आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो ।
महोत्सवमा हुम्लाको चङ्खेलीको घट्टेखोला मौरीपालन व्यवसायी फर्मका हरिलाल बुढाले भिरमौरीको महसँगै हुम्लामा उत्पादित अर्ग्यानिक सिमी, कोदो, चिनो, हाडे ओखर बिक्रीमा राख्नुभएको छ । “बजारभरि डुलेर बिक्री गर्दै अर्ग्यानिक होभन्दा धेरैले पत्याउँदैनथे, महोत्सवमा भने धेरैले भिरमौरीको मह मनपराउनुभएको छ”, उहाँले भन्नुभयो । बुढाले एक किलो भिरमौरीको मह रु एक हजार आठ सयमा बिक्री गरिरहनुभएको छ । उहाँले महोत्सवमा मात्रै अहिलेसम्म २२ केजी मह बिक्री भइसकेको बताउनुभयो ।
बर्दियाको मधुवन–८ को सृजनशील दालमोठ तथा चिप्स उद्योगकी वसन्ती जोशी स्थानीय आलुबाट बनेको चिप्सको माग महोत्सवमा राम्रो रहेको सुनाउनुभयो । उहाँको प्रदर्शनी कक्षमा चिप्ससँगै दालमोठ, कुरकुरे, चना, केराउ बिक्रीमा राखिएको छ । रोजिना किराना तथा तरकारी पसलकी रुपनी आचार्यको प्रदर्शनी कक्षमा पनि जुम्ला, कालीकोट र बर्दियामा उत्पादित अर्ग्यानिक खाद्यवस्तु राखिएको छ । जसमध्ये अधिकांशको रोजाइमा कोदो र फापरको पिठोमा रहेको उहाँले सुनाउनुभयो । नेपालगञ्ज–२ बागेश्वरी टोलको ‘आन्टीको अचार’ प्रदर्शनी कक्षमा बयर अचार, अकबरे खुर्सानी, आँप, लप्सीको अचार, टिमुर, सिद्रा, चिकन र बफका अचारमा पनि अवलोकनकर्ताको भीड छ ।
महोत्सवका तथ्याङ्क व्यवस्थापन समितिका संयोजक युवराज ढकालका अनुसार महोत्सवमा अर्ग्यानिक खाद्यवस्तुको बिक्री राम्रो भइरहेको छ । सङ्घका प्रथम उपाध्यक्ष तथा प्रादेशिक महोत्सवका प्रदर्शनी कक्ष बुकिङ समितिका संयोजक चिरञ्जीवी ओलीले महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका खाद्यवस्तुका तीन सयभन्दा प्रदर्शनी कक्ष छन् ।








