कर्णालीका सामरिक महत्वका सडकमा अर्थद्वारा बजेट व्यवस्थापन , तोकिएकै समयमा काम भए आर्थिक संमृद्धिमा भारी कर्णालीलाई सघाउ पुग्ने
हेमन्त केसी
सुर्खेत , ३ माघ ः कर्णाली प्रदेशका सामरिक महत्वका रुपमा रहेका भेरी करिडोरसँगै कर्णाली करिडोरका लागि अर्थ मन्त्रालयबाट आठ अर्ब भन्दा बढी बजेट सुनिश्चित गरिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको आग्रह अनुसार अर्थ मन्त्रालयद्धारा बजेट सुनिश्चित गरेको प्रतिनिधिसभा सदस्य तथा पूर्व सहरी विकास मन्त्री धनबहादुर बुढाले जानकारी दिनुभयो ।
लामो समय देखि अल्झिएको काम बल्ल भएको भन्दै पूर्वमन्त्री बुढाले भन्नुभयो ,‘अब भेरी करिडोरको काम भारी गतिशिलताका साथ अगाडी बढछ । भेरी करिडोर सडक भित्रको जाजरकोट –डोल्पा सडक खण्डको ११८ किलोमिटर मध्य ६२ किलोमिटरमा अहिले काम भइरहेको र बाँकी ५६ किलोमिटर मध्य ४२ किलोमिटर सडक स्तरोन्न्तीका लागि बजेट व्यवस्थापन भएको छ । म सबै सहयोग गर्ने निकायलाई धन्यवाद दिन चाहान्छु । ’ स्रोत सुनिश्चित भएसँगै नेपाली सेनाका कर्णेल विश्ववन्धु पहाडी नेतृत्वको टिमले ट्याक ओपन गरेको सडकमा अब नयाँ ठेक्का लगाएर स्तरोउन्नतीको काम सुरु गरिने आयोजना प्रमुख सुनिल रन्जितकारले जानकारी दिनुभयो । केही दिनमा पुलको रकम समेत सुनिश्चित गर्ने अन्तिम तयारीमा रहेको समेत पुर्वमन्त्री बुढाले बताउनुभयो । अहिले बेलिब्रिज भएको ठाउँमा पक्की पुल निर्माण गरेर भेरी करिडोर सडकलाई अझ भरपर्दो र विश्वासिलो बनाउन लागेको उहाँले बताउनुभयो । डवल लाइनको सडक निर्माण हुने समेत उहाँले बताउनुभयो ।
त्रिदेशीय सडकको रूपमा विकास गर्ने लक्ष्य लिइएको भेरी करिडोरमा दुनै भन्दा माथिल्लो भागमा निर्माण व्यवसायीले समयमा काम नगर्दा ताकिएकै समयमा काम हुने विषयमा चिन्ता थपिएको छ । जाजरकोटको तल्लुबगरबाट डोल्पाको सदरमुकाम दुनैसम्म कच्ची सडकमा यातायातका साधन सञ्चालनमा आएका छन् । सोही ठाउँमा पक्की सडक निर्माण गर्न अहिले बजेट सुनिश्चित भएको छ । अहिले तल्लुबाट त्रिपुरोकाटसम्मको सडकलाई पिच गर्नका लागि स्रोत सुनिश्चित भएको पूर्वसहरी विकासमन्त्री धनबहादुर बुढाले बताउनुभयो ।
भेरी करिडोरकै दुनैबाट लासिक्यामसम्म रहेको सडक निर्माण गर्न लागेको ठेक्काको काम म्याद सकिन एक वर्ष मात्र बाँकी रहदा १५ प्रतिशत कामको प्रगति मुस्किलले हुँदा सो भन्दा माथीको सडक निर्माणमा समस्य भएको छ । भेरी करिडोर सडक आयोजनाले सडक निर्माणको कामलाई तीव्रता दिनका लागि भारी अनुगमण तथा निरीक्षण कार्य जारी राखेको योजना प्रमुख रन्जितकारले बताएउनुभयो । डोल्पाको सदरमुकामबाट माथिल्लो डोल्पाको मरिमसम्मको एक सय किलोमिटर सडकमध्ये २५ किलोमिटरको कच्ची कटान गर्नुपर्नेछ । दुनै–लासिक्याप सडक खण्डको काम जतिसक्दो छिटो भएमा मात्र सोभन्दा माथिल्लो भागमा नेपाली सेनाले जिम्मेवारी लिने सडकको कामसमेत अगाडि बढने देखिन्छ । अहिले २५ किलोमिटर सडक खण्डभित्र कच्ची कटानको काम तीव्र रुपमा अगाडि बढाउन निर्माण व्यवसायीलाई भारी ताकेता गरेर कामलाई निरन्तरता दिएको आयोजना प्रमुख रन्जितकारले जानकारी दिनुभयो ।
माथिल्लो डोल्पाको भागमा पर्ने लासिक्याप–मरिम ७५ किलोमिटर रहेको छ । उक्त ठाउँमा नेपाली सेनाले नै ४० किलोमिटर कच्ची कटानको काम पहिले नै गरिसकेको आयोजना प्रमुख रन्जितकारले जानकारी दिनुभयो ।
दुनैबाट –लासिक्याप २५ किलोमिटर रहेको छ भने लासिक्यापबाट मरिम ७५ किलोमिटर रहेको छ । दुनै–लासिक्याप सडक खण्ड निर्माण सेवाको सूर्य–श्रेया–शान्ति देवी जेभी काठमाडौंको जिम्मेवारीमा छ । अब सडक निर्माण गर्नका लागि जेभीसँग एक वर्षमात्र समय छ । जेभीले २०७८ चैत १७ गते सम्झौता गरेर २०८२ पुस १६ गते निर्माण कार्य पूरा गर्ने सहमति गरेर काम हुँदै आएको हो । १३ करोड ४२ लाखमा उक्त ठेक्का जेभीले लिएको छ ।
जेभीले जतीसक्दो सडकको कच्ची कटानको काम पूरा गरेमा मात्र सोभन्दा माथिल्लो भागमा नेपाली सेनाले निर्माणको जिम्मेवारी लिने सडक निर्माण गर्न सहज हुने देखिन्छ । तल्लो सडक निर्माण नगरी माथिल्लो सडक निर्माण गर्नका लागि आवश्यक उपकरण लिन सहज नहुने देखिन्छ । लासिक्यापबाट मरिमसम्मको सडक नेपाली सेनाले निर्माण गर्ने भन्दै प्राविधिक काम सकेर सेनाले रक्षा मन्त्रालयबाट भौतिक मन्त्रालयमा अनुमतिका लागि पत्र पठाइसकेको छ । भौतिक मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा उक्त सडक निर्माणको जिम्मेवारी सेनालाई दिनका लागि निर्णय गर्नमात्र बाँकी रहेको पूर्वमन्त्री बुढाले बताउनुभयो ।
हप्ता दिनभित्र मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय हुन लागेको समेत उनले बताए । सेनाले निर्माण गर्ने सडकभन्दा दुनैबाट लासिक्याम अन्तर्गतको सडक जतिसक्दो छिटो निर्माण भएमा माथिल्लो सडक निर्माण गर्न ढोका खुल्ने देखिन्छ । यो सडकमा चट्टान फोर्नका लागि विस्फोट गराउनुपर्ने अवस्था छ । यो करिडोर सम्पन्न भए सबैभन्दा छोटो त्रिदेशीय मार्ग बन्नेछ । कर्णेल विश्वबन्धु पहाडीको नेतृत्वमा रहेको नेपाली सेनाले भेरी करिडोर अन्तर्गतका जाजरकोट–डोल्पा सडक निर्माण विसं २०६५ मा सुरु गरेको थियो । ट्रयाक खुलेसँगै सेनाले उक्त ११८ किलोमिटर सडक विसं २०७६ मै भौतिक पूर्वाधार मन्त्रालयलाई हस्तान्तरण गरिसकेको थियो । दुनैबाट चीनको सिमानासम्म रहेको मरिम नाकासम्मको कुल एक सय किलोमिटरमध्ये नेपालतर्फ ४० किलोमिटर सडक निर्माण भइसकेको छ । दुनैबाट धोसम्म सडक बन्न बाँकी छ ।
देशको उत्तरी सीमाको सुरक्षा गरिरहेको माथिल्लो डोल्पाका तीन गाउँपालिकाभित्रका जनताले नेपालतर्फ सडकको सुविधा नहुँदा वर्षौंदेखि नागरिकता र सरकारी कामकाजका लागि जिल्ला सदरमुकाम दुनैसम्म हप्ता दिन पैदालयात्रा गर्नुपर्ने बाध्यता रहनुका साथै सम्पूर्ण खाद्य र अन्य सामान महँगो मूल्यमा उपभोग गरिरहेका छन् । दुनैदेखि धोसम्मको ५० किलोमिटर सडक निर्माण त्यति सहज छैन । चट्टानै चट्टानले बनेका ठूला पहाडका कारण निर्माणमा ढिलाइ हुने देखिन्छ । स्थानीयबासीका अनुसार अहिले यो बाटोमा जीवन नै हत्केलामा राखेर यात्रा गर्नुपर्ने हुन्छ । डोल्पा जडिबुटीको भण्डार भएकाले भेरी करिडोर अर्थात् त्रिदेशीय मार्ग निर्माण भएपछि कर्णाली प्रदेशलगायत देशकै समृद्धिमा टेवा पुग्नेमा दुईमत छैन । उपल्लो डोल्पाका तीनवटा पालिकालाई जोडने मुख्य सडक यही हो । काइके, डोल्पोबुद्ध र छार्काताङसुङ गाउँपालिकामा जाने मुख्य बाटो नै यही भएकाले पनि समस्या भएको हो ।
सडक समयमा निर्माण नहुँदा आफूहरूलाई भारी समस्या भएको काइके गाउँपालिकाका अध्यक्ष अंकद रानाले बताउनुभयो । निर्माण सामग्रीदेखि दैनिक उपभोग्य सामग्री लिन र ल्याउन बाटो नहुँदा समस्या भएको गाउँपालिकाले जनाएको छ । त्यस्तै भेरी करिडोरको जाजरकोट डोल्पा सडक खण्डको बीचमा रहेका पुलको ठेक्का क्याराभान हिराचन जेभीले लिएको ठेक्काको काम सुरु भएको छैन ।
उक्त जेभीले २०७७ माघ २ गते नलगाड खोला, झुम्रेखोलामा पुल निर्माणको ठेक्का लिएको थियो । त्यस्तै सोही रायमाझी क्याराभान जेभीले २०७७ माघ २ मै भेरी करिडोरका मैदेखोला, त्रात्र खोला, ताक्सुगाडमा पुल निर्माणको जिम्मेवारी लिएको थियो । १५० मिटर पहिलो र दोस्रो ठेक्काको लागि एक सय मिटरको पुल निर्माण गर्ने सहमतिमा उल्लेख छ । १८ करोड ४३ लाखमा पहिलो ठेक्का रहेको छ भने दोस्रो ठेक्कामा १३ करोड ५४ लाखमा अर्को ठेक्का रहेको छ । ठेक्कामात्र लिने तर काम नगर्ने तरिकाले भेरी करिडोरमा पक्की पुल निर्माणमा बाधा पुग्दै आएको छ ।
बेलिब्रिज पुलमा ठूलो तौलका यातायाताका साधन सञ्चालनमा समस्या रहेको छ । १९ टनभन्दा बढीका गाडी वारपार हुन मुस्किल छ । जाजरकोटबाट दुनैसम्म रहेको ११८ मध्ये ५६ किलोमिटरमा यत्ति बिल्डर्सले भारी तीव्रताका साथ काम गर्दै आएको छ । पुल निर्माण गर्न नसक्ने हो भने , सक्नेलाई ठेक्का दिन क्याराभानलाई दबाब बढ्दै आएको छ । अन्य ठाउँमा रहेका पुलको तत्काल अगाडि बढाउनका लागि पहल जारी रहेको प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री बीरबहादुर शाहीले बताउनुभयो । त्यस्तै कर्णाली करिडोरको दक्षिणी खण्डमा रहेको खुलालु सल्ली सल्लाकालिकोट सडकलाई स्तरोन्नती गर्नका लाग रु चार अर्व १० करोड पनि स्रोत सुनिश्चित गरिएको छ । कर्णाली करिडोर सडक भित्रकै हिल्सा –सिमकोट सडक खण्डको लागि रु तीस करोडको स्रोत सुनिश्चित भएको छ । सडकको स्तरोन्नती गर्न स्रोत सुनिश्चित भएको हो ।