दुर्गमको पीडा ः एक तलो घर बसाई , मुसलको सहारामा कुटानी पिसानी

नन्दा शाही
मुगु , १ माघ ः मुगु सदरमुकामबाट झण्डै दुई घण्टा बढी समय लगाएर पैदल यात्रा हिडेपछि रोवा पुगिन्छ । छायाँनाथ रारा नगरपालिका–११ रोवामा परम्परागत घरहरुमा स्थानीयबासीहरुको बसोबास रहेको छ । यो चिसो मौसम भएकाले त्यस्ता परम्परागत घरहरुको महत्व भारी मात्रामा हुने स्थानीयबासीहरु बताउँछन् । एक तला रहेको सो घरमा काठ र माटोको मिश्रणबाट होचो खाल्का ति घर माथी घर जोडेर निर्माण गरिएका छन् । एउटा बस्तीमा ५० भन्दा बढी घरहरु एक आपसमा जोडिएर बनाएका छन् ।
रोवा मात्र होइन, मुगुका अधिकांश ठाउँमा यस्ता घरहरु अहिले पनि यथावथ रहेका छन् । प्रशस्त मात्रामा काठ नहुनु र पक्की घर निर्माण गर्नका लागि सामग्री लिन समेत मुस्किल हुँदा स्थानीयबासी तिनै घर माथी , घर जोडेर निर्माण भएको संरचनामा जिन्दगीका भारी बसन्तहरु कटाउदै आएका छन् । भव्य ठुला पक्की घर र सबै सुविधा उनीहरुलाई नचाहिएको पनि होइन रु तर सडक सञ्जाल सबै ठाउँमा पुग्न नसक्नु र आर्थिक अवस्था समेत कम्जोर हुदा स्थानीयबासीहरु एक तलामै जिन्दगीका हरेक सर्घष गर्दै आएको रोवाका स्थानीयबासी हरिबहादुर कुमाईले बताउनुभयो ।
सबै ठाउँमा विद्युत , सडक , खानेपानीको पहुँच नपुगेको मुगुमा धान कुटनका लागि समेत परम्परागत रुपमा चल्दै आएको मुसलको साहरा लिनुपर्ने बाध्यता रहेको छ । हातमा खत बसुन्जेल औख्यालमा राखिएको धानलाई मुसलले थिचेर धान कुटनु यहाँका स्थानीयबासीहरुको बाध्यता हो । खुट्टाका औलाले धानलाई औख्यालमा धकेल्दै , दुई हातको सहाराले मुसललाई तल , माथी पारेर धान कुटने चलन मुगुमा रहर नभई बाध्यता बन्दै आएको छ ।
छायाँनाथ रारा नगरपालिकाको श्रीनगर,कार्कीवाडा,रोवा,रुगा र पिना लगायतका गाउँमा भारी मात्रा यही परम्परागत रुपमा चल्दै आएको मुसलको सहायताले धान , मकै ,गहुँ लगायतका अन्नहरुको कुटानी,पिसानीको काम हुँदै आएको छ । यो सदरमुकामको पालिका पनि हो । नगरपालिकाको क्षेत्रफल ४८,०६९ हेक्टर र खेतीयोग्य जमीन ४,४०३ हेक्टर रहेको छ । कृषिको लागि माटो राम्रो भए तापनि जमीन समथर नभई भिरालो भएको र मलिलो माटो वर्षेनी बग्दै जाँदा कृषिको उर्वरा शक्ति नष्ट हुँदै गएको छ। परम्परागत कृषि प्रणाली, सिंचाईको असुविधा खेती लगाउने समयमा उन्नत बीउँ, मलको अभाव जस्ता कारणले कृषि उपजले कृषकको जीवनस्तरमा अपेक्षीत परिवर्तन आउन सकेको छैन ।
त्यस्तै खत्याड गाउँपालिका भित्र सेरी, खमाले, गम्था, श्रीकोट, कोटडाँडा, सुकाढिक र ह्याङलु गाउँहरु रहेका छन् । सोरु गाउँपालिका भित्र जिमा, रारा, कालै, धैनाकोट, भिई, फोतु र नाथर्पु लगायतका मुख्य गाउँहरुमा समेत यिनै परम्परागत औजारको प्रयोग हुने गरेको छ । यहाँका सबै भन्दा दुर्गम मध्यको मुगुम कार्मारोंग गाउँपालिका भित्रका मुगु , डोल्फु, पुलु, किम्री र मांग्री लगायतका ठुला गाउँहरु रहेका छन् । यहाँ अहिले सम्म सडक सञ्जाल , विद्युतीकरण समेत हुन सकेको छैन । उत्पादनका हिसाव निकै कम भएकाले यहाँका अधिकांश स्थानीयबासीहरु आयतित अन्नमा भर परिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुले जनाएको छ ।
भिराला बस्ती , एक ठाउँबाट अर्को ठाउँमा जानका लागि धेरै समय खर्चिनु पर्ने यहाँका स्थानीयबासीको मुख्य समस्य हुँदै आएको छायाँनाथ रारा नगरपालिका गमगढीका स्थानीय कर्णबहादुर कार्कीको भनाई रहेको छ । परम्परागत खेती प्रर्णाली , गाइ तथा भेडा पालन यस क्षेत्रका सर्वसाधारणको आम्दानीको स्रोत हो । स्थानीय सरकारले कुटानी ,पिसानीलाई सहज बनाउका लागि आर्थिक व्यवस्थापन गरेमा दुखका दिन कम हुने स्थानीयबासी जयलाल भामले बताउनुभयो । आधुनिकताले भारी फड्को मारेपनि मुगुका अधिकांश गाउँहरुमा परम्परागत औजारले नै काम हुँदै आएको छ ।










