भेरी करिडोर निर्माण गर्न निर्माण व्यवसायी बाधक
हेमन्त केसी
सुर्खेत , २२ पुस ः त्रिदेशीय सडकको रुपमा विकास गर्ने लक्ष्य लिइएको भेरी करिडोरमा निर्माण व्यवसायीले समयमा काम नगर्दा अवरोध हुँदै आएको छ । जाजरकोटको तल्लुबगरबाट डोल्पाको सदरमुकाम दुनै सम्मा कच्ची सडकमा यातायातका साधनहरु सञ्चालनमा आएका छन् । अहिले तल्लुबाट त्रिपुरोकाट सम्माको सडकलाई पिच गर्नका लागि स्रोत सुनिश्चित गर्ने अन्तिम तयारी भएको पूर्व सहरी विकासमन्त्री धनबहादुर बुढाले बताउनुभयो ।
दुनैबाट लासिक्याम सम्मा रहेको सडक निर्माण गर्न लागेको ठेक्काको काम म्याद सकिन लाग्दा समेत १५ प्रतिशत कामको प्रगती नहुँदा सो भन्दा माथीको सडक निर्माणमा बाधा पुग्ने देखिएको छ । भेरी करिडोर सडक आयोजनाले सडक निर्माणको कामलाई तिब्रता दिनका लागि भारी अनुगमण तथा निरीक्षण कार्य जारी राखेपनि निर्माण कम्पनीले म्याद सकिन थोरै समय बाँकी रहदा सम्मा काममा गती नदिएको सरोकारवाला निकायको आरोप छ । डोल्पाको सदरमुकामबाट माथिल्लो डोल्पाको मरिमसम्मको एक सय किलोमिटर सडकमध्ये २५ किलोमिटरको कच्ची कटान गर्नुपर्ने रहेको छ ।
दुनै–लासिक्याप सडक खण्डको काम जतीसक्दा छिटो भएमा मात्र सोभन्दा माथिल्लो भागमा नेपाली सेनाले जिम्मेवारी लिने सडकको काम समेत अगाडी बढने देखिन्छ । अहिले २५ किलोमिटर सडक खण्डभित्र कच्ची कटानको काम तीव्र रुपमा अगाडी बढाउन निर्माण व्यवसायीलाई भारी ताकेता गरेर कामलाई निरन्तरता दिएको आयोजना प्रमुख सुनिल रन्जितकारले जानकारी दिनुभयो । अघिल्लो कार्यालय प्रमुखहरुले सडक निर्माणको कामलाई ध्यान नदिएर काठमाडौँमा बस्दा यहाँ निर्माण हुने सडकमा कुनै प्रगती भएको थिएन । अहिले कार्यालय प्रमुख अधिकारी समय फिल्डमै रहने गरेको पूर्वमन्त्री बुढाले बताउनुभयो ।
माथिल्लो डोल्पाको भागमा पर्ने लासिक्याप–मरिम ७५ किलोमिटर रहेको छ । उक्त ठाउँमा नेपाली सेनाले नै ४० किलोमिटर कच्ची कटानको काम पहिले नै गरिसकेको आयोजना प्रमुख रन्जितकारले जानकारी दिनुभयो । लासिक्यापबाट मरिमसम्मको सडक नेपाली सेनाले निर्माण गर्ने भन्दै प्राविधिक काम भइरहेका छन् । दुनैबाट लासिक्याप २५ किलोमिटर रहेको छ भने लासिक्यापबाट मरिम ७५ किलोमिटर रहेको छ । दुनै–लासिक्याप सडक खण्ड निर्माण सेवाको सूर्य–श्रेया–शान्ति देवी जेभी काठमाडौंको जिम्मेवारीमा रहेको छ । अब सडक निर्माण गर्नका लागि जेभीसँग एक वर्ष मात्र समय रहेको छ ।
जेभीले २०७८ चैत १७ गते सम्झौता गरेर २०८२ पुस १६ गते निर्माण कार्य पूरा गर्ने सहमति गरेर काम हुँदै आएको हो । १३ करोड ४२ लाखमा उक्त ठेक्का जेभीले लिएको छ । जेभीले जतीसक्दो सडकको कच्ची कटानको काम पुरा गरेमा मात्र सो भन्दा माथिल्लो भागमा नेपाली सेनाले निर्माणको जिम्मेवारी लिने सडक निर्माण गर्न सहज हुने देखिन्छ । तल्लो सडक निर्माण नगरी माथिल्लो सडक निर्माण गर्नका लागि आवश्यक उपकरण लिन सहज नहुने देखिन्छ । सेनाले प्राविद्यिक काम गरेर रक्षा मन्त्रालयबाट भौतिक मन्त्रालयमा अनुमतिका लागि पत्र पठाइसकेको छ ।
भौतिक मन्त्रालयले मन्त्रीपरिषदको बैठकमा उक्त सडक निर्माणको जिम्मेवारी सेनालाई दिनका लागि निर्णय गर्न मात्र बाँकी रहेको पूर्वमन्त्री बुढाले बताउनुभयो । हप्ता दिन भित्र मन्त्रिपरिषदको बैठकबाट उक्त निर्णय हुन लागेको समेत उहाँले बताउनुभयो । सेनाले निर्माण गर्ने सडक भन्दा दुनैबाट लासिक्याम अन्तरर्गतको सडक जतीसक्दो छिटो निर्माण भएमा माथिल्लो सडक निर्माण गर्न ढोका खुल्ने देखिन्छ ।
यो सडकमा चट्टान फोर्नका लागि विस्फोट गराउनुपर्ने अवस्था छ । भेरी करिडोर नामाकरण गरेर राष्ट्रिय प्राथमिकतामा राख्नका साथै त्रिदेशीय पारवहन सेवामा समेत सजिलो हुने भएकाले पनि छिन्चु–जाजरकोट–डोल्पा सडक त्रिदेशीय मार्गलाई महत्वका साथ हेरिएको पूर्वमन्त्री बुढाले बताउनुभयो । यो करिडोर सम्पन्न भए सबैभन्दा छोटो त्रिदेशीय मार्ग बन्नेछ । कर्णेल विश्वबन्धु पहाडीको नेतृत्वमा रहेको नेपाली सेनाले भेरी करिडोरअन्तर्गतका जाजरकोट–डोल्पा सडक निर्माण विसं २०६५ मा सुरु गरेको थियो । ट्रयाक खुलेसँगै सेनाले उक्त ११८ किलोमिटर सडक विसं २०७६ मै भौतिक पूर्वाधार मन्त्रालयलाई हस्तान्तरण गरिसकेको थियो । दुनैबाट चीनको सिमानासम्म रहेको मरिम नाकासम्मको कुल एक सय किलोमिटरमध्ये नेपालतर्फ ४० किलोमिटर सडक निर्माण भइसकेको छ । दुनैबाट धोसम्म सडक बन्न बाँकी छ ।
जाजरकोटबाट दुनैसम्म बेलिब्रिज निर्माण भएपछि यातायात सेवा सञ्चालनमा रहेको छ । देशको उत्तरी सीमाको सुरक्षा गरिरहेको माथिल्लो डोल्पाका तीन गाउँपालिकाभित्रका जनताले नेपालतर्फ सडकको सुविधा नहुँदा वर्षौंदेखि नागरिकता र सरकारी कामकाजका लागि जिल्ला सदरमुकाम दुनैसम्म हप्ता दिन पैदालयात्रा गर्नुपर्ने बाध्यता रहनाका साथै सम्पूर्ण खाद्य र अन्य सामान महँगो मूल्यमा उपभोग गरिरहेका छन् ।
दुनैदेखि धोसम्मको ५० किलोमिटर सडक निर्माण त्यति सहज छैन । चट्टानैचट्टानले बनेका ठूला पहाडका कारण निर्माणमा ढिलाइ हुने देखिन्छ । स्थानीयवासीका अनुसार अहिले यो बाटोमा जीवन नै हत्केलामा राखेर यात्रा गर्नुपर्ने हुन्छ । डोल्पा जडिबुटीको भण्डार भएकाले भेरी करिडोर अर्थात् त्रिदेशीय मार्ग निर्माण भएपछि कर्णाली प्रदेशलगायत देशकै समृद्धिमा टेवा पुग्नेमा दुईमत छैन । उपल्लो डोल्पाका तीनवटा पालिकालाई जोडने मुख्य सडक यही हो । काइके, डोल्पोबुद्ध र छार्काताङसुङ गाउँपालिकामा जाने मुख्य बाटो नै यही भएकाले पनि समस्या भएको हो ।
सडक समयमा निर्माण नहुँदा आफूहरूलाई भारी समस्या भएको काइके गाउँपालिकाका अध्यक्ष अंकद रानाले बताए । निर्माण सामग्रीदेखि दैनिक उपभोग्य सामग्री लिन र ल्याउन बाटो नहुँदा समस्या भएको गाउँपालिकाले जनाएको छ । निर्माण व्यवसायी ध्रुव शाहीले काम गर्ने छाटकाट नदेखिएको उनको भनाइ छ । ‘अब एक वर्षमात्र बाँकी छ समय ? कसरी होला र खै काम,’ उनले भने । त्यस्तै भेरी करिडोरको जाजरकोट डोल्पा सडक खण्डको बीचमा रहेका बिभिन्न ठाउँमा निर्माण हुने पुलहरु निर्माण नहुँदा अर्को समस्य थपिएको छ । क्याराभान हिराचन जेभीले लिएको ठेक्काको काम सुरु भएको छैन ।
उक्त जेभीले २०७७ माघ २ गते नलगाड खोला , झुम्रेखोलामा पुल निर्माणको ठेक्का लिएको थियो । त्यस्तै सोही रायमाझी क्याराभान जेभीले २०७७ माघ २ मै भेरी करिडोरका मैदेखोला , त्रात्र खोला , ताक्सुगाडमा पुल निर्माणको जिम्मेवारी लिएको थियो । १५० मिटर पहिलो र दोस्रो ठेक्काको लागि १०० मिटरको पुल निर्माण गर्ने सहमतिमा उल्लेख छ । १८ करोड ४३ लाख ४३ हजारमा पहिलो ठेक्का रहेको छ भने दोस्रो ठेक्कामा १३ करोड ५४ लाख ३८ हजार ९०० मा अर्को ठेक्का रहेको छ । ठेक्का मात्र लिने तर काम नगर्ने तरिकाले भेरी करिडोरमा पक्की पुल निर्माणमा बाधा पुग्दै आएको छ ।
बेलिब्रिज पुलहरुमा ठुलो तौलका यातायाताका साधनहरु सञ्चालनमा समस्य रहेको छ । १९ टन भन्दा बढीका गाडीहरु वारपार हुन मुस्किल रहेको छ । जाजरकोटबाट दुनै सम्म रहेको ११८ मध्य ५६ किलोमिटरमा यत्ति बिल्डसले भारी तिव्रताका साथ काम गर्दै आएको छ । पुल निर्माण गर्न नसक्ने हो भने सक्नेलाई ठेक्का दिन क्याराभानलाई दबाब बढदै आएको छ । अन्य ठाउँमा रहेका पुलहरुको तत्काल अगाडी बढाउनका लागि पहल जारी रहेको पूर्वमन्त्री बीरबहादुर शाहीले बताउनुभयो ।