दक्षिण कोरियामा विमान दुर्घटनामा १ सय ७९ जनाको मृत्यु, २ जना बाँचे

सिओल ः दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एक विमान अवतरणका क्रममा दुर्घटनामा परेको छ । यो विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु र छ जना चालक दलका सदस्य थिए ।

यस दुर्घटनामा १७९ जनाको मृत्यु भएको छ। दुई जनालाई भग्नावशेषबाट जिउँदै निकालेर अस्पताल लगिएको छ । उनीहरु दुवै चालक दलका सदस्य हुन् ।

यो जेजु एयरको विमान बैंककबाट दक्षिण कोरिया फर्किरहेको बताइएको छ । विमान अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो । कोरियाली बजेट एयरलाइन्स जेजु एयरद्वारा सञ्चालित बोइङ ७३७–८०० विमान स्थानीय समय अनुसार बिहान करिब ९ बजे दुर्घटनामा परेको थियो ।

मृतकका आफन्तहरु विमानस्थलमा भेला भएका छन् र त्यहाँ अस्थायी शवगृह स्थापना गरिएको छ । दुर्घटनाको खबर पाएलगत्तै दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ मोक दुर्घटनास्थल पुगेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

चोईले त्यहाँ उद्धार कार्यमा सहयोग गर्न जनशक्ति, स्वास्थ्य सेवा र उपकरणलाई निर्देशन दिएको कार्यालयले जनाएको छ। साथै पीडित परिवारलाई सरकारले सक्दो सहयोग गर्ने बताइएको छ ।

यो दुर्घटनापछि सरकारले सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । यस अवधिमा सरकारी कार्यालयमा झण्डा आधा झुकाउने र सबै सरकारी कर्मचारीले कालो रिबन बाँध्नेछन् । एजेन्सीका अनुसार मुआन विमानस्थलको धावनमार्ग स्थानीय समयअनुसार बुधबार बिहान ५ बजेसम्म बन्द रहनेछ ।

समाचार एजेन्सी योनहापका अनुसार विमानमा सवार १७३ यात्रु दक्षिण कोरियाका र दुई जना थाइल्याण्डका थिए । विमानमा सवार यात्रुहरूको उमेर तीन वर्षदेखि ७८ वर्षसम्म रहेको थियो। तर धेरैजसो आफ्नो उमेरको चौथो, पाँचौं र छैठौं दशकमा थिए।

थाइल्यान्डका प्रधानमन्त्री पाएटोंगटार्न चिनावाटले यो विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, ‘दुर्घटनामा परी ज्यान गुमाउने र घाइते भएकाहरुका परिवारप्रति म समवेदना व्यक्त गर्दछु ।’

दक्षिण कोरियाको दमकल विभागले घटनास्थलमा ३२ दमकल र १५ सय आपतकालीन कर्मचारी पठाइएको जनाएको छ । मुआन दक्षिण कोरियाको राजधानी सियोलबाट २८८ किलोमिटर टाढा छ।

कसरी भयो विमान दुर्घटना ?

दक्षिण कोरियाको विमान उद्योग सुरक्षाको हिसाबले राम्रो मानिन्छ। पछिल्लो दुर्घटनाको कारणबारे अहिलेसम्म ठोस जानकारी आएको छैन । तर, चरा ठोक्किएर र खराब मौसमका कारण दुर्घटना भएको अनुमान गरेको छ ।

दक्षिण कोरियाका एक अधिकारीले विमान धावनमार्गमा अवतरण गर्न खोज्दा एयर ट्राफिक कन्ट्रोलले विमानस्थल नजिक चराहरू छन्, अहिले हावामै बस्न चेतावनी दिएको बताएको थियो ।

त्यसको दुई मिनेटपछि पाइलटले ‘मे डे’ (इमर्जेन्सी) चेतावनी दिएपछि एयर ट्राफिक कन्ट्रोलले उनलाई विपरित तर्फ अवतरण गर्न अनुमति दिएको थियो ।

समाचार एजेन्सी योनहापका अनुसार दुर्घटनाको कारण चराहरूसँग विमान ठोक्किएर भएको देखिन्छ।

विमान दुर्घटनापछि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसको पुष्टि हुन सकेको छैन । यस भिडियोमा विमान बिना पाङ्ग्रा वा ल्यान्डिङ गियर नै अवतरण गर्न खोजिरहेको थियो र अवतरण गर्ने क्रममा धावनमार्गबाट ​​चिप्लिएर पर्खालमा ठोक्किएको थियो ।

यसपछि यसको केही भाग आगोले जलेको थियो । दोस्रो भिडियोमा कालो धुवाँको मुस्लो आकाशमा उडिरहेको देखियो ।

विमानका मुख्य पाइलटले सन् २०१९ देखि नै यो भूमिकामा काम गर्दै आएका थिए र ९ हजार ८ सय घण्टा उडानको अनुभव लिएका थिए । स्रोत ः रातोपाटी





error: Content is protected !!