दशवटा स्थानीय तहमा खानेपानीको परीक्षण गर्न प्रशिक्षण
जाजरकोट ः स्थानीय स्तरमै खानेपानीको गुणस्तर परीक्षणका लागि पश्चिम रुकुम र जाजरकोटमा रहेका दश पालिकामा कार्यरत खानेपानी ,स्वास्थ्य शाखाका कर्मचारीलाई प्रशिक्षण दिइएको छ । शाखामा कार्यरत प्रमुख तथा खानेपानी सरसफाइ तथा स्वच्छता संयोजकलाई क्षमता अभिबृद्धि तालिम दिइएको हो ।
जाजरकोटको कुशे,जुनीचाँदे ,बारेकोट, भेरी र नलगाड नगरपालिकामा कार्यरत खानेपानी सरसफाइ तथा स्वच्छता संयोजकलाई तालिम दिइएको छ । त्यस्तै पश्चिम रुकुमका मुसीकोट, चौरजहारी, आठबीसकोट ,त्रिवेणी र सानीभेरी गाउँपालिकामा रहेका स्वास्थ्य शाखा प्रमुख र खानेपानी सरसफाइ तथा स्वच्छता संयोजक लाई उक्त तालिममा सहभागीता रहेको थियो । जिल्लाका खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका प्राविद्यिक र खानेपानी उपभोक्ता समितिलाई समेत तालिममा सहभागी बनाएको छ । एकिकृत पुर्नलाभ कार्ययोजना संचालन गर्दै आएका साझेदार संस्थाका प्रतिनिधीहरुलाई तीन दिन सम्म स्थानीय तहमै खानेपानीको गुणस्तर परीक्षणका लागि क्षमता अभिबृद्धि तालिम संचालन गरिएको छायाँ नेपालका खानेपानी सरसफाइ तथा स्वच्छता प्रबन्धक सुरेन्द्र कुमार शाहीले जानकारी दिनुभयो ।
युनिसेफको आर्थिक सहयोग तथा बिश्व स्वास्थ्य संगठनको सहजीकरण र छाँया नेपालको आयोजनामा एकिकृत पुर्नलाभ कार्ययोजना अन्तरर्गत पुस ११ देखी जाजरकोटको सदरमुकाममा तीन दिने खानेपानी गुणस्तर परीक्षणका लागि क्षमता अभिबृद्धी प्रशिक्षण दिइएको उहाँले जानकारी दिनुभयो । खानेपानीको गुणस्तर परीक्षणका लागि संचालन भएको यो तालिम तथा प्रशिक्षणमा प्रभावकारी भएको सहभागीले बताएका छन् । प्रशिक्षणबाट सिकाइ भएका ज्ञानहरु स्थानीय तहमा प्रभावकारी रुपमा लागु गरेर भरपुर रुपमा उपलब्धी गरिने मुसीकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख डेविड रावलले बताउनुभयो । जुनीचाँदे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कल्पना सञ्ज्यालले तीन दिन सम्म संचालन भएको तालिम तथा प्रशिक्षणबाट खानेपानी स्वच्छताका बिषयमा धेरै कुरा सिकेको बताउदै अब पालिकामा गएर उक्त ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले खानेपानी परीक्षण ल्याब स्थापना गर्न आयोजक संस्थाबाट प्राप्त किटको सही सदुपयोग गर्दे खानेपानी गुणस्तरिय काम गर्ने बताउनुभयो ।
पालिकामा पानीको गुणस्तर परीक्षण ल्याब स्थापना गर्न १९ वटा मध्ये पाँच वटा पारामिटर फिजिकल तीन वटा क्यामिकल र जैविक एक एक गरी पाँच वटा पारामिटर परीक्षण हुने गर्दछ । परीक्षणका लागि १० वटा स्थानीय तहलाई पानीको गुणस्तर परीक्षण तालिमका साथै परीक्षण किट उपलब्ध गराईएको छ । तालिममा अन्य १४ वटा पारामिटरको बारेमा समेत जानकारी गराईएको थियो । सहभागीहरुले आ— आफना स्थानीय स्तरमा पाँच वटा खानेपानी आयोजनाको नमुना परीक्षण एक हप्ता भित्र गर्ने समेत प्रतिबद्धता जनाएका थिए । पाँच वटा पारा मिटरको गुणस्तर परीक्षण स्थानीय स्तरमै गर्नका लागि तालिम तथा प्रशिक्षणले महत्वपूर्ण भूमिका खेलेको आयोजक संस्था छायाँ नेपाल कर्णाली प्रदेशका नेतृत्वकर्ता मीनबहादुर रावलले बताउनुभयो ।