सुन्तला उत्पादन बृद्धि ः करिव १७ करोड भन्दा बढीको व्यापार

जाजरकोट ः जाजरकोटमा सुन्तला उत्पादनमा बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्षमा ३०९ मेट्रिक टन सुन्तला उत्पादन बृद्धि भएको हो ।

अघिल्लो आवमा २ हजार ६३९ मेट्रिक टन उत्पादन भएको सुन्तला यो आवमा २ हजार ९४८मेट्रिक टन उत्पादन भएको जिल्ला विकास कार्यालय ,जाजरकोटका प्रमुख दशरथ पाण्डेले जानकारी दिनुभयो । सुन्तला लगाउने जमिनको क्षेत्रफल समेत बढेको छ । पाण्डेका अनुसार अघिल्लो आवमा ६८९ हेक्टरबाट बढेर ७०० हेक्टरमा पुगेको छ । त्यस्तै जुनार अघिल्लो आवमा २० मेट्रिक टनबाट उत्पादन भएको थियो भने चालु आवमा २६ मेट्रिक टन उत्पादन भएको छ । जिल्लाको नलगाड , भेरी ,कुशेमा , छेडागाड , जुनिचाँदे गाउँपालिकामा सुन्तला उत्पादन हुने गरेको छ ।

प्रति केजी रु ६० मा सुन्तला विक्री हुने गरेको छ । जाजरकोटमा मात्र १७ करोड ४० लाखको सुन्तला विक्री भएको छ । कार्यालय प्रमुख पाण्डेका अनुसार सबै भन्दा बढी कुशेको दम्दाला र नलगाडको डाडागाउँमा सुन्तला उत्पादन हुने गरेको छ । सुन्तलाको उत्पादन बढाउनका लागि कार्यालयले यो आवमा पनि पनि बिभिन्न प्रकारका कार्यक्रमहरु गर्ने तयारीमा रहेको छ । अध्ययनबाट सिँचाइ पाएको ठाउँमा ठुलो सुन्तलाको दाना फलेको र नपाएको ठाउँमा साना दाना फलेको पाइएको छ । सिँचाइको समस्य भएको ठाउँमा यो आवमा सिँचाइको व्यवस्थापन तीर कार्यालयले ध्यान गएको उहाँले जानकारी दिनुभयो ।

सुन्तला उत्पादन क्षेत्र सम्मा यातायातको सहज पहुँच भएका कारण बजारीकरणको समस्य नभएको किसानहरुले बताएका छन् । दम्दालाका दिपक ओलीको अनुसार यहाँको घरबाटै गाडी मार्फत सुन्तला ढुवानी हुने गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र समुहको सहकार्यमा गाडी खरिद गर्न रकम पाएपछि फलफुल ढुवानी गर्ने गाडी खरिद गर्न सहज भएको थियो ।

परियोजना मार्फत जिल्लाका ढुवानी कार्यमा सहयोग पुर्याउनका लागि गाडीहरु खरिद भएर प्रयोगमा आएका छन् । जाजरकोटका सुन्तला नेपालगन्ज , सुर्खेत लगायतका सहरहरुमा सजिलै पुग्ने गरेको नलगाड नगरपालिका–३ का राजन रानाले बताउनुभयो । सुन्तला विक्रीबाट राम्रो आम्दानी भएको उहाँले जानकारी दिनुभयो । सुन्तलाको उत्पादन बढाउनका लागि सबै तहका सरकारको सक्रिय सहयोग रहेको बताएको छ ।





error: Content is protected !!