मेलाबाट फर्किरहेकी किशोरी बलात्कृत
![](http://nepalpostkhabar.com/wp-content/uploads/2020/06/104945903_959319157829399_8841068040820604036_n.jpg)
नेपालगन्ज ः नेपालगन्जस्थित भेरी अस्पतालको गेटबाट १४ वर्षीया छोरीलाई साथमा लिएर हिँडेकी उनी दिनभर छोरीको स्वास्थ्य जाँचका लागि अस्पताल वरिपरि दौडिरहेकी थिइन् । सोमबार अस्पतालका कोठाहरू चहार्दा पनि उनले छोरीलाई छाडिनन् । उनका आँखामा पीडासँगै डर पनि देखिन्थ्यो ।
बाँकेको नरैनापुरस्थित नेपाल–भारत सिमानामा बस्ने पीडित परिवार सामूहिक बलात्कारमा परेकी छोरीलाई न्यायका लागि मात्र लडी रहेको छैन, परिवारकै सुरक्षालाई लिएर चिन्तित पनि छ ।
नरैनापुरमा पुस ३ को राति मेला हेरेर घर फर्किरहेकी वडा–४ की १४ वर्षीया किशोरीमाथि दुई युवाले बलात्कार गरेको घटनालाई परिवारले गुपचुप नै राखेको थियो । भोलिपल्ट प्रहरीले घटनाबारे थाहा पाएपछि पीडितलाई बोलाएर सोधे पनि उनीहरूले सुरुमा बताउन चाहेनन् ।
प्रहरीको निकै केरकारपछि मात्र परिवारले सबै कुरा खुलाएका थिए । त्यसको भोलिपल्ट पुस ५ मा प्रहरीले जबर्जस्ती करणीमा उजुरी दर्ता गरेको थियो । पीडित किशोरीका बुबाले पीडककै डरका कारण घटनालाई गोप्य राख्न खोजेको बताए ।
घटनामा संलग्न दुवै जना फरार छन् । ‘मलाई कस्तो भइरहेको छ त्यो म भन्न पनि सक्दिनँ । मेरी छोरीमाथि जे नहुनुपर्ने हो भइसक्यो अब अपराधीलाई खोजेर मलाई न्याय चाहियो । प्रहरीले त साथ दिनुभएको छ तर हामीलाई अझै पनि त्रास छ,’ किशोरीकी आमाले भनिन्, ‘बाटोमा एक्लो घर छ । कहींबाट आएर पनि हामीलाई जे पनि गर्न सक्छन् । त्यसको सुरक्षा कसले दिने ?’
मेला हेरेर राति ९ बजेतिर फर्कने क्रममा भारतीय मोटरसाइकलमा सवार नरैनापुर–४ नरैनापुर बस्ने २८ वर्षीय मोहम्मद इसरार खाँ र सोही ठाउँ बस्ने ३० वर्षीय मोहम्मद रिजवान खाँले जबर्जस्ती मोटरसाइकलमा बसाली मुख थुन्दै जंगलमा लगेर करणी गरेको पीडित किशोरीले बयान दिएको इलाका प्रहरी भगवानपुरका निरीक्षक टोपेन्द्र बुढामगरले बताए ।
‘पीडितहरू निकै त्रासमा भएकाले सुरुमा घटनाबारे बताउन मान्नुभएन, धेरैपछिको प्रयासपछि भएका सबै घटना नानीले खोलिन्,’ उनले भने, ‘घटनाका बेला नानीलाई निकै डरत्रास देखाइएकाले उनले वास्तविक कुरा खोल्न सकिनन् । घटनालगत्तै फरार आरोपित दुवैको प्रहरीले खोजी गरिरहेको उनले बताए । आरोपित पक्राउका लागि पुस ६ मा पक्राउ पुर्जीसमेत जारी भइसकेको छ । स्रोत ः कान्तिपुर
![](http://nepalpostkhabar.com/wp-content/uploads/2020/06/105490204_272609163822954_6761638499778742578_n.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/123.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/123456.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/bheri-1.jpg)