कर्णालीमा बलात्कारका घटना वृद्धि

सुर्खेत ः कर्णाली प्रदेशमा बलात्कारका घटना बर्सेनि बढ्दो रूपमा पाइएको छ । प्रदेशमा दर्ता भएका मुद्दाको आधारमा हेर्दा प्रत्येक वर्ष बलात्कारका घटना बढ्दै गएको पाइएको हो । प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार बलात्कारका घटनामा वृद्धि भएको देखिएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७८ देखि २०८१ सम्मको तीन वर्षमा जबरजस्ती करणीका ५६४ मुद्दा दर्ता छन् भने १२४ वटा मुद्दा जबरजस्ती करणी उद्योगका छन् । बलात्कार प्रयास भएको उजुरीलाई प्रहरीले जबरजस्ती करणी उद्योगमा दर्ता गर्ने गरेको छ ।

आव २०७८/७९ मा जबरजस्ती करणीका १५० वटा, जबरजस्ती करणी उद्योगमा ४५ मुद्दा दर्ता भएका थिए । आव २०७९/८० मा जबरजस्ती करणीका २०६ र जबरजस्ती करणी उद्योगमा ४५ मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै आव २०८०/८१ मा जबरजस्ती करणीसम्बन्धी २०८ वटा मुद्दा दर्ता भएका थिए भने जबरजस्ती करणी उद्योगसम्बन्धी ३४ मुद्दा दर्ता भएका थिए । प्रहरीको तथ्याङ्कले बर्सेनि बलात्कारका मुद्दा अझै उकालो लागेको देखाउँछ । चालु आवको हालसम्म ६० वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन् । यसै गरी जबरजस्ती करणी उद्योगसम्बन्धी १८ वटा मुद्दा दर्ता भएको तथ्याङ्कमा उल्लेख छ । स्रोत ः गोरखापत्र





error: Content is protected !!