सुधारका नाममा हात बाँधेर बस्ने प्रवृत्ति अन्त्य हुनुपर्छ ः मुख्यमन्त्री कँडेल
वीरेन्द्रनगर ः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वित्तीय अनुशासनका नाममा हात बाँधेर बस्ने प्रवृत्तिलाई अन्त्य गर्न निर्देशन दिएका छन् ।
आर्थिक वर्ष २०८१/०८२ को मन्त्रालयगत समीक्षापछि प्रदेशका मन्त्री र सचिवलाई निर्देशन दिँदै मुख्यमन्त्री कँडेलले सुधारका नाममा हात बाँधेर बस्ने प्रवृत्तिलाई अन्त्य गर्दै उपयुक्त विकल्प खोजेर गाँठो फुकाउने काममा लाग्न मन्त्री र सचिवलाई निर्देशन दिएका हुन् ।
समस्या देखियो भनेर कामबाट पन्छिने काम नगर्नूस्,’ मुख्यमन्त्री कँडेलले भने, ‘बरू नियमसंगत रूपमा रोकिएको काम कसरी गर्न सकिन्छ त्यतापट्टि लाग्नुहोस् ।’ बजेट कार्यान्वयन र सेवा प्रवाहमा सहजता ल्याउने नीतिगत काम मन्त्री र सचिवको भएको बताउँदै उनले एउटै फाइल दुई महिनासम्म घुमिरहने तर काम नहुने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।
बजेटमा समेटिएका योजना र कार्यक्रम कार्यान्वयन गर्ने सम्बन्धमा विगतमा देखिएका कमी–कमजोरीलाई व्यापक सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै मुख्यमन्त्री कँडेलले सुधार गर्ने नाममा गर्न सकिने कामलाई पनि रोक्ने गलत मनसाय नलिन निर्देशन दिए । नागरिकको तहबाट उठेका विभिन्न टीका–टिप्पणीलाई कानुन सम्मत तरिकाले सम्बोधन गर्नुपर्नेमा उनको जोड थियो । अनुशासन कायम गर्ने नाममा कार्यसम्पादनमा नै प्रश्नचिह्न खडा गर्ने तरिकालाई बदल्नु पर्ने सुझाव उनले दिए ।
चालू आर्थिकको चौमासिक समीक्षाको प्रगति सोचेअनुरूप हुन नसक्नुका कारणहरू खोजेर समाधानतिर लाग्नुपर्ने उनको भनाइ थियो । प्रदेश सरकार निर्देशित सरकार नभएको बताउँदै उनले सार्वभौम संसदले पास गरेको बजेट कार्यान्वयनलाई नियमसंगत ढंगले काम गर्न कसैको मुख ताक्नुपर्ने अवस्था नरहेको बताए । ‘धेरैजसो पैसा विगतका योजनामा होल्ड भएको देखिन्छ,’ उनले भने, ‘लगानी भइसकेका योजनालाई अलपत्र छाड्ने नभई समयमै सम्पन्न गर्नेतर्फ लाग्नूस् । मन्त्री पद भनेको पटके अवसरमा प्राप्त हुने पद हो । अवसर पाएका बेला कार्य सम्पादनमा उत्कृष्टता देखाउनूस् । ’ स्रोत ः कान्तिपुर