उपनिर्वाचनका लागि आज रातिदेखि मौन अवधि सुरु

दिपेन्द्र शर्मा सुर्खेत – मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। मतदानको समयभन्दा ४८ घण्टाअघि लागू हुने यो निषेधित अवधिमा कुनै पनि प्रकारका प्रचार–प्रसार र निर्वाचन प्रचार सम्बन्धी गतिविधि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार मौन अवधिमा उम्मेदवार, राजनीतिक दल वा समर्थकहरूले मतदातालाई प्रभाव पार्ने कुनै पनि क्रियाकलाप गर्नु गैरकानुनी हुनेछ। आयोगले मौन अवधिको पालना भए/नभएको विषयमा कडा निगरानी गर्न विशेष टोली परिचालन गरेको छ।
मौन अवधिको उल्लङ्घन गर्नेलाई निर्वाचन ऐन, २०७९ अनुसार कानूनी कारबाही गरिने चेतावनीसमेत आयोगले दिएको छ। आयोगले सबै राजनीतिक दल, उम्मेदवार, र नागरिकहरूलाई निर्वाचन प्रक्रियाको मर्यादा कायम राख्न आह्वान गरेको छ।
उपनिर्वाचनका लागि विभिन्न स्थानीय तहका २२ वडामा मंसिर १६ गते मतदान हुनेछ। निर्वाचन शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा व्यवस्थासमेत कडा पारिएको जनाइएको छ।








