प्रधानमन्त्री ओली: ‘अब गफका भरमा देश चल्दैन,

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूलाई गफमा मात्रै निर्भर नभई ठोस र परिणाममूलक काम गर्न निर्देशन दिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा उनले राष्ट्रिय विकासको काम र देशको अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउन नयाँ सोच र क्रान्तिकारी कदमको खाँचो रहेको बताए।

बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सचिवहरू उपस्थित थिए। प्रधानमन्त्री ओलीले बजेट र कार्यक्रमको विसंगतिलाई व्यवस्थित गर्नुपर्ने विषयमा जोड दिँदै ११ हजार नक्कली आयोजना प्रणालीमा देखिएको र बहुवर्षीय योजनामा न्यून बजेट छुट्याउने विकृति अन्त्य गर्नुपर्ने बताए।

उनले भने, “हरेक मन्त्रालयले उत्पादन, कृषि, ऊर्जा, सूचना प्रविधि जस्ता क्षेत्रहरूमा नयाँ सोच सहित ठोस कदम चाल्नुपर्छ। प्रक्रियावादमा मात्रै अल्झेर काम रोकिनु हुँदैन। जनताले देख्ने र महसुस गर्ने किसिमका काम गर्न आवश्यक छ।”

प्रधानमन्त्री ओलीले विकास निर्माणका क्षेत्रमा देखिएका अव्यवस्था हटाउन, पारदर्शिता कायम गर्न र दीर्घकालीन विकासका लागि ठोस कार्ययोजना तयार पार्न निर्देशन दिए। साथै, अर्थतन्त्रलाई गतिशील बनाउनका लागि सबै मन्त्रालयहरूले साझा उद्देश्यका साथ काम गर्नुपर्नेमा पनि उनले जोड दिए।

प्रधानमन्त्रीको यो अभिव्यक्ति देशको आर्थिक र विकास योजनामा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्दै परिणाममुखी कामको खाँचो औंल्याउने प्रयास हो।





error: Content is protected !!