माओवादी केन्द्रका नेता पदम राईको निधन

काठमाडौँ ः नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री पदम राईको निधन भएको छ । पार्किन्सन रोगबाट थलिएका उनको उपचारका क्रममा शनिबार राजधानीको वीर अस्पतालमा निधन भएको माओवादी केन्द्रका नेता सुनद किरातीले पुष्टि गरे ।
भोजपुर षडानन्द नगरपालिका बोयाका ५७ वर्षीय उनी हाल केन्द्रीय सदस्य थिए ।
राई तत्कालीन एकीकृत नेकपा माओवादी विभाजनपछि मोहन वैद्यतिर लागेका थिए । वैद्यको पार्टी फुटेपछि उनले नेत्रविक्रम चन्द ‘विप्लव’ साथ दिएका थिए ।
तर पछि उनी माओवादीमा फर्किएका थिए । उनको अन्तिम संस्कार कहाँ र कहिले गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको किरातीले बताए ।
यसैबीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राईको निधनले दुखित बनाएको बताएका छन् । ‘पारकिन्सन रोगबाट थलिनुभएका हाम्रो पार्टीका केन्द्रीय समिति सदस्य एवं पूर्वमन्त्री पदम राईको निधनले दुखित बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रचण्डले फेसबुकमार्फत भनेका छन् । स्रोत ः रातोपाटी










