दृष्टिविहीन पर्यटकको अन्तर्दृष्टिले देखेको नेपाल

काठमाडौँ ः बेल्जियमका ५० वर्षीय जिनो वर्सुएरे जन्मजात दृष्टिविहीन हुन् । शरदयाम (असोज–कात्तिक) मा पर्ने आफ्नो ५० औं जन्मदिन नेपालको हिमाली भेगमा पदयात्रा गरी मनाउने भन्दै उनले ६ महिनाअघि सहयात्राका लागि अपिल गरे । जिनोसँगै नेपालको अन्नपूर्ण क्षेत्र पदयात्राका लागि तयार भए नेदरल्यान्ड्सकी ६८ वर्षीया दृष्टिविहीन जोहन्ना क्याथरिना स्मिथ र ३७ वर्षीय दृष्टिविहीन स्टेफन जेरार्डस कोर्ने बोस्हुइजेन ।
उनीहरूलाई डच नागरिकहरू ५३ वर्षीया वेन्डी इडा कुमान्स, ५७ वर्षीया गिर्टरुइडा मारिया हेलम, ५७ वर्षकै योहानेस हेन्रिकस जोसेफुस मारिया र ६२ वर्षीया इमेरेन्टिया मारियाले साथ दिने भए ।
नेपालमा पर्यटकको औसत बसाइ १४ दिनको हुन्छ । यो टोलीले भने २० दिन नेपाल घुम्ने योजना बनायो । त्यसपछि तीन दृष्टिविहीनसहितको सात सदस्यीय टोली नेदरल्यान्ड्सबाट दोहा हुँदै कात्तिक १ मा काठमाडौंमा उत्रियो । लगत्तै उनीहरू स्वयम्भू उक्लिए । विश्वसम्पदा सूचीमा रहेको वसन्तपुर दरबार क्षेत्र अवलोकन गरे, पाटन दरबार संग्रहालय पसे । सुन्दरीजल हुँदै चिसापानीमा एक दिन पदयात्रा पनि गरे । दृष्टिविहीनले ठमेलमा सञ्चालन गरेको समाजिक उद्यम थेरापीमा पुगेर मसाजको अनुभव लिए ।
काठमाडौंपछि उनीहरूको गन्तव्य पर्यटकीय राजधानी पोखरा थियो । पृथ्वी राजमार्गबाट २ सय १० किमि तय गर्दै उनीहरू पोखरा पुगे । त्यहाँ उनीहरूको बसाइ होटलमा होइन, तिब्बती गुम्बामा थियो । उनीहरूले बौद्ध भिक्षुरभिक्षुणीको जीवनशैलीबारे जानकारी लिए । पाँचौं दिन धम्पुस हुँदै एक साताका लागि अन्नपूर्ण क्षेत्रको मर्दी हिमाल पदयात्रामा लागे । ६ जना गाइड र भरियाका साथमा मर्दीतिर लम्किए । उनीहरूले ४२ सय मिटर उचाइको भ्यु प्वाइन्ट मर्दी र माछापुच्छ्रे हिमाललाई नजिकैबाट महसुस गरेरहेरे । उनीहरूलाई अन्नपूर्ण (प्रथम), अन्नपूर्ण दक्षिण, हिमचुली, बराह शिखरबारेसमेत भनियो/देखाइयो ।
पदयात्राबाट पोखरा फर्केर एक दिनको आरामपछि उनीहरू सडक हुँदै १ सय ६५ किलोमिटर दूरीमा रहेको चितवन पुगे । उनीहरूले चितवन राष्ट्रिय निकुञ्जभित्र जंगल सफारीको अनुभव लिए । गैंडा हेरे, नवलपरासीको नाना जंगल लजमा थारू संस्कृति तथा नाचगानको मज्जा लिए । पहिलो पटक तिहार मनाए । गाउँलेले भाइटीका लगाइदिए । गत शुक्रबार बिहान उनीहरू नवलपरासीको कावासोतीमा थिए । एउटा दृश्यले उनीहरूको ध्यान खिच्यो । नेपाली गाउँघरमा सामान्य मानिने तर युरोपमा विरलै देखिने त्यो दृश्य थियो, ‘मरेको गाईको मासु खाँदै गरेका गिद्धको बथान ।’ ‘त्यो दृश्य साह्रै अनौठो लाग्यो,’ पोखरा–चितवनपछि काभ्रेको बलथली घुमेर १९ औं दिन मंगलबार ठमेलमा उत्रिएकी वेन्डीले भनिन्, ‘युरोपमा त्यस्तो देखेकै थिएनौं ।’
वेन्डीका अनुसार बिहानको खाजा खाएर गिद्ध रेस्टुरेन्ट भ्रमणमा पुगेका बेला २ सय गिद्धले मरेको गाईको मासु खाँदै थिए । वेन्डीले त्यही दिन ‘सावाधानीपूर्वक हेर्न’ भन्दै फोटो र भिडियो फेसबुकमा राखेर लेखिन्, ‘यो बिहान निकै रोचक भयो, एक घण्टा नबित्दै गिद्धको बथानले एउटा सिंगो गाईको मासु खाइसके । अनौठो लाग्यो ।’
उनीहरू जंगलभित्रको हिँडाइले पनि प्रभावित भए । ‘किराको किरकिर आवाजले दृष्टिविहीनलाई तान्यो,’ गाइड गोपी लामाले भने, ‘जब चरा कराउँथे, किराको किरकिर आवाज आउँथ्यो, उनीहरू चुपचाप सुनेर उभिन्थे । यो उनीहरूको देशमा यस्तो नहुने रहेछ ।’ अर्का गाइड पूर्ण तामाङका अनुसार दृष्टिविहीनहरू सुन्दरीजल र बल्थली पुग्दा स्थानीयले प्रशंसा गरेका थिए । ‘नेपाली गाउँघरमा दृष्टिविहीन, शारीरिक अपांगता भएका व्यक्तिलाई केही गर्न नसक्ने भन्ने गरिन्छ । तर जब दृष्टीविहीन तीन जना पदयात्रामा थिए, गाउँलेले ओहो, गजब भन्दै प्रशंसा गरे,’ उनले सुनाए ।
पदयात्राको नेतृत्व गरेका जिनोले नेपालमा अपेक्षा गरेभन्दा धेरै राम्रो अनुभव लिन पाएको बताए । बुधबार राति दोहा हुँदै बेल्जियम फर्किनुअघि उनले कान्तिपुरसँग भने, ‘यो पदयात्रामा हामी दृष्टिविहीनले आफूलाई नै चुनौती दियौं । यहाँको हरियाली, हिमाल, वनजंगल त आँखाले देखेनौं तर गाइडले भनेका आधारमा महसुस गर्यौं ।’
आफूले आफैंलाई शारीरिक र मानसिक चुनौती दिलाउन, दिनचर्या बदल्न, लामो समयदेखि दबाइएका भावनाबाट आफूलाई निकाल्न अपांगता भएका व्यक्ति घरबाट निक्ल्नुपर्ने जिनो बताउँछन् । ‘चराको आवाज, नदीको कलकल बगिरहेको पानी, हावा, झरनाको चिसो पानी, बाटामा किराहरूको किरकिर आवाज, हिँड्दै जाँदाको थकान, खुल्दै जाने इन्द्रिय, कपालमा पसेको हावा, शरीरको खुल्ला छालामा घामको न्यानोपन महसुस गर्न अपांगता भएका व्यक्ति पदयात्रामा निस्कनुपर्छ,’ उनले भने, ‘यसका लागि नेपाल धेरै राम्रो गन्तव्य रहेछ ।’
पर्यटन व्यवसायी पंकज प्रधानांगका अनुसार नेपालका अधिकांश पर्यटकीय गन्तव्य अपांगतामैत्री छैनन् । साहसिक पर्यटनका लागि संसारभर कहलिएको नेपालले अपांगता भएका व्यक्ति, वृद्धवृद्धालगायत सबैको पहुँचमा पर्यटनलाई पुर्याउने अभियान ०७२ को भूकम्पपछि मात्र थालेको हो । ‘नेपालका सबै क्षेत्र अपांगतामैत्री छैनन्,’ दृष्टिविहीन जोहन्नाले भनिन्, ‘यहाँका सडकमा धेरै खाल्डाखुल्डी रहेछन् । पदयात्रामा रहेका होटलका शौचालय पुराना खालका रहेछन्, ती अपांगता भएका व्यक्तिका लागि सजिला होइनन् ।’
काठमाडौंमा फोर सिजन ट्राभल एन्ड टुर्स प्रालिले यी पर्यटकको पदयात्रा र घुमफिरको जिम्मा लिएको थियो । फोर सिजनले शारीरिक रूपमा अशक्त, दृष्टिविहीन, कृत्रिम खुट्टा भएका पर्यटकलाई एक दशकदेखि अन्नपूर्णदेखि सगरमाथा आधार शिविरसम्म डुलाउँदै आएको छ । स्रोत ः कान्तिपुर



