तिला नदी किनारमा भेटिएको बम सेनाद्वारा निष्क्रिय

कालीकोट ः खाँडाचक्र नगरपालिका-७ उडी कुनास्थित तिलानदी किनारामा बिहीबार विहान फेला परेको बेवारिसे बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।

यहाँको शम्शेर गुल्म मान्मबाट खटिएको टोलीले दिउँसो ३ बजे बम निष्क्रिय पारेको हो । नदी किनारामा माछा मार्न गएका स्थानीयले बम देखेपछि पिलीस्थित प्रहरी बिटलाई खबर गरेका थिए ।

लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रामप्रसाद पाण्डेको नेतृत्वमा खटिएको टोलीले घटनास्थल पुगेर ग्रिनेटजस्तो देखिने शंकास्पद वस्तुबारे नेपाली सेनालाई जानकारी दिएका थिए ।

सेनाले बम डिस्पोजल टोली पठाएर बम निष्क्रिय पारेको डीएसपी टेकबहादुर रावतले जानकारी दिए । सेनाको बम डिष्पोजल टोलीले बेलुकी ३ बजे बम निष्क्रिय बनाएको उनले बताए । बम भेटिएको स्थान माओवादीले ०६२ साउन २३ गते आक्रमण गरेको पिलीभन्दा मुनि पर्दछ । बम पिली आक्रमणकै बेलाको बम हुनसक्ने प्रहरी अनुमान छ ।

पिली आक्रमणको बेला पिली भीरबाट केही सेनाले हाम फालेका थिए भने सेना ७५ जना राज्य र २६ जना माओवादी बिद्रोही गरी १ सय १ जनाले ज्यान गुमाएका थिए । पिली आक्रमणको ७ दिनपछि एक जना सेनाका जवान तिला नदीको बीचको ढुंगामा घाइते अवस्थामा भेटिएका थिए ।

तत्कालीन प्रमुख सेनानी कर्णेल राजु देवकोटा त्यही तिला नदीको किनारामा रहेको ओडारमा बसेर ३ दिनपछि सदरमुकाम पुगेका थिए ।





error: Content is protected !!