कुन तहका पाठ्यक्रम परिमार्जन गरेर कहिले हुन्छ लागू ?

काठमाडौँ ः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम परिमार्जन गर्ने प्रकृया अगाडि बढाएको छ। पाठ्यक्रम विकास केन्द्रले यसका लागि विज्ञ, सरोकारवालाहरूसँग छलफल थालेर आवश्यक आन्तरिक प्रकृया अगाडि बढाएको जनाएको छ।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक एवं सूचना अधिकारी वासुदेव वस्तीले पाठ्यक्रम परिमार्जनका लागि प्रकृया थालिसकेको जानकारी दिए।

‘शिक्षा मन्त्रालय,पाठ्यक्रम विकास केन्द्र, सरोकारवाला निकायसँगको छलफल र समन्वयमा पाठ्यक्रम परिमार्जनको काम थालिएको छ, यो पछिल्लो समयको आवश्यकता नै हो,’ उनले भने।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पनि पछिल्लो समय सार्वजनिक कार्यक्रमहरूमा पाठ्यक्रम परिमार्जन गर्ने बताउँदै आएकी छन्।

गत भदौमा आयोजित ‘नेशनल सेमिनार अन एजुकेसन एण्ड इम्प्लइमेन्ट लिङ्केज’ मा उनले विश्व बजारमा प्रतिस्पर्धी जनशक्ति तयार गर्न सबै तहमा पाठ्यक्रम परिमार्जन गर्नुपर्ने आवश्यक नै रहेको बताएकी थिइन्।

उक्त कार्यक्रममा उनले भनेकी थिइन्, ‘राष्ट्रलाई योगदान दिनसक्ने जनशक्ति तयार गर्नेगरी पाठ्यक्रम बनाउनुपर्छ, यसको लागि मन्त्रालय अघि बढेको छ। अब शिक्षा मन्त्रालयले हाम्रो पाठ्यक्रमलाई पूरै परिमार्जन गर्नुपर्छ चाहे त्यो जनरल एजुकेशनको होस्, चाहे त्यो साइन्सको होस्, चाहे टेक्निकल एजुकेसनको होस्, सबै पाठ्यक्रम परिमार्जन गर्नुपर्छ भन्ने हिसाबले नै अगाडि बढेका छौँ।’

उनले त्यसबेला सिटिइभिटीलाई पुनः संरचना गर्न काम अगाडि बढाइएको भन्दै यसको पाठ्यक्रम र पुनः संरचनाका लागि आवश्यक काम गर्न दुईवटा समूह बनाएर जिम्मेवारी दिइएको जानकारी पनि दिएकी थिइन्।

उनका अनुसार सिटिइभिटीलाई पुनः संरचना गर्न आवश्यक नै छ। २०४५ सालको आवश्यकता आज २०८१ सालसम्म आइपुग्दा त्यही संस्थागत मूल्य, त्यही नीति छन्। जसलाई अहिले पनि ऐनलाई संशोधन गरिएको छैन। उनले अन्तरराष्ट्रिय श्रम बजारमा जान सक्षम जनशक्ति तयार गर्न आवश्यक रहेको पनि बताएकी थिइन्।

यी तहका पाठ्यक्रम परिमार्जन हुँदै

पाठ्यक्रम विकास केन्द्रका निर्देशक एवं सूचना अधिकारी वस्तीका अनुसार कक्षा १ र ३ को पाठ्यक्रम र पाठ्यसामग्री अद्यावधिक गरिनेछ। कक्षा ४ देखि १२ सम्मको सामाजिक विषयको पाठ्यक्रम अद्यावधिक गरिनेछ।

त्यस्तै, इसिडीको पाठ्यक्रम अनुकूलन गरिने उनले जानकारी दिए। उनले पाठ्यक्रम परिमार्जनको लागि विज्ञ, सरोकारवालासँग सुझाव, पृष्ठपोषण माग गरिएको जानकारी दिए। त्यही सुझावको आधारमा पाठ्यक्रम परिमार्जन हुने उनले जानकारी दिए।

कहिलेबाट हुन्छ परिमार्जित पाठ्यक्रम लागू ?

पाठ्यक्रम विकास केन्द्रका निर्देशक एवं सूचना अधिकारी वस्तीका अनुसार यो आर्थिक वर्ष, नभए ढिलोमा २०८२ सम्ममा पाठ्यक्रमको अद्यावधिक भइसक्नेछ। ‘सबै काम सक्दा २०८३ को नयाँ शैक्षिक सत्रबाट क्रमशः परिमार्जन भएको पाठ्यक्रम लागू हुन्छ,’ उनले भने।

उनका अनुसार विश्व बजारमा प्रतिस्पर्धी, राष्ट्रलाई योगदान दिनसक्ने लगायतका विषयवस्तुहरू पाठ्यक्रममा समावेश गरिनेछ।

‘विज्ञहरूबाट आएको सुझाव, प्रतिक्रियाअनुसारका राष्ट्रिय तथा अन्तरराष्ट्रिय नीति, संवैधानिक मूल्य मान्यता, नजिर, पाठ्यक्रम दस्तावेजीकरणलगायत आवश्यकताअनुसार विषय पाठ्यक्रममा समावेश गरि परिमार्जन हुनेछ,’ उनले भने।

पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास तथा वितरण निर्देशिका २०७९ मा पाठ्यक्रम अद्यावधिक, परिमार्जन र परिवर्तनका लागि विभिन्न आधारहरू तोकिएका छन्। जसमा मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका क्षेत्रमा भएका समसामयिक परिवर्तन आधार तोकिएको छ।

विज्ञान, प्रविधि तथा पेशा व्यवसायको क्षेत्रमा स्थापित नयाँ आविष्कार वा खोज, ऐन कानूनबमोजिम स्थापित नयाँ मान्यता, विषयगत सामान्य परिमार्जन वा सुधारको आधार तोकिएको छ।

यस्तै, पाठ्यक्रम मूल्याङ्कनबाट प्राप्त नतिजा तथा पृष्ठपोषण, समसामयिक परिस्थितिमा आएको परिवर्तनका आधारमा स्वीकृत पाठ्यक्रम परिमार्जन गर्न सकिन्छ।





error: Content is protected !!