सुस्तामा हतियारसहित भारतीय सुरक्षाकर्मी प्रवेश, स्थानीयको प्रतिकारपछि फिर्ता

नवलपरासी ः पश्चिम नवलपरासीको सुस्तामा भारतीय हतियारधारी सुरक्षाकर्मी गैरकानुनी रुपमा प्रवेश गरेका छन् । सुस्ताका दुईजना नेपालीलाई समात्न उनीहरु गाडीसहित आएका हुन् । भारतीय हतियारधारी सशस्त्र बन रक्षकको टोली छिरेर दुईजना नेपालीलाई पक्राउ गर्न शुक्रबार दिउँसो आएका हुन् ।

तर, भारतीय सुरक्षाकर्मी नेपाल छिरेको थाहा पाएपछि स्थानीयले घेरा हालेर नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)लाई खबर गरेका थिए । केहीबेरमै भारतीय हतियारी सुरक्षाकर्मीलाई सशस्त्रले नियन्त्रणमा लिएर भारततिरै पठाइदिएको हो ।

सशस्त्रले नियन्त्रणमा लिएपछि भने भारतीय सुरक्षाकर्मीहरुले आफूहरु सशस्त्र वनरक्षक भएको र गस्ती गर्ने क्रममा बाटो भुलेर नेपाल तर्फ आउन पुगेको भन्दै उम्किएका थिए । सामान्य केरकारपछि प्रहरीले उनीहरुलाई भारततिरै पठाइदिएको छ । भारतीय सुरक्षाकर्मीहरु हतियारसहित नेपाली बस्तीमा छिरेपछि सुस्ताबासी त्रसित बनेका छन् शुक्रबार दिउँसो साढे ३ बजे बिआर २२ बिजे ४४१६ नम्बरको जिपमा उनीहरु आएका थिए ।

सुस्ताका स्थानीय बासिन्दाका अनुसार उनीहरु हतियारसहित गाडीमा ५ जना आएका थिए । भारतीय भूभाग हुँदै बिना अनुमति सोझै हतियारसहित सुस्ता आएका थिए । यसरी गैरकानुनी रुपमा प्रवेश गर्दा नेपाली सुरक्षाकर्मीहरु भने बेखबर बनेका थिए । स्थानीयले घेरा हालेर नियन्त्रणमा लिएपछि मात्रै प्रहरी र सशस्त्रले थाहा पाएका थिए । भारतीय सुरक्षाकर्मी छिरेको देखेपछि सुस्ताका स्थानीयले नाराबाजी गरेका थिए ।

स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीहरु सुस्ताका नेपाली नागरिक दुखी यादव र हिरामन तुरहालाई पक्राउ गर्न आएको तर स्थानीयले प्रतिकार गरेपछि उनीहरुको योजना विफल भएको थियो । सुस्तामा अरु बेला पनि भारतीय सशस्त्र सीमा बललगायत सुरक्षाकर्मीबाट लुटिने, कुटिने, दुर्व्यवहारजस्ता घटना हुँदै आएका छन् ।

सुस्तावासीलाई सीमा हुँदै आउजाउ गर्दा चेकजाँचका नाममा दुःख दिने गरेको भन्दै विरोध हुने गरेको छ । यसरी विरोध गर्नेहरुलाई भारतीय सुरक्षाकर्मीले दुर्व्यवहार गर्ने गरेका छन् ।

सुस्ताबासीलाई समान्य किनमेलकालागि पनि भारतीय बजारको भर पर्नुपर्ने बाध्यता छ । दैनिक घरायसी सामान किनमेल गर्न जाँदापनि भारतीय सुरक्षाकर्मीले हरेक पटक हुने जाचमा दुःख दिने गरेका एक स्थानीयले बताए ।

‘शुक्रबार भारतीय सुरक्षाकर्मी गाडीसहित नेपाल छिरेको भन्दै गाउँलेले खबर गरेपछि हामी पुग्यौ र चौकीमा ल्याएर सम्झाई बुझाई गरेर भारत पठाइदिएका हौं,’ प्रहरी चौकी सुस्ताका सहायक निरीक्षक (असई) राजराज चौधरीले भने, ‘गस्ती गर्दै आउदा बाटो बिराएर आएका हौं भनेका थिए, हामीले उीनहरुलाई कागज गराएर छोडेका छौ ।’ हामीले सुस्ता आउन नेपाली सुरक्षा अधिकारीको अनुमती चाहिने कुरा ससम्झाएर पठाइदियौं । उनका अनुसार गाडीमा चालकसहित भारतीय ५ जना सुरक्षाकर्मी आएका थिए ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले भारत बिहारका प्रहरी र त्यहाँको डिएफओ सुस्ता सिमानाबाट ७ सय मिटरभित्र छिरेको बताइन् । ‘भारतीय सुरक्षाकर्मी बिना अनुमति आएका हुन्, र उनीहरु यसरी छिर्नुको उद्देश्य खराब हो जस्तो बुझिदैँन,’ प्रजिअ श्रेष्ठले भनिन्, ‘त्यहाँ सिमा क्षेत्र प्रस्ट नभएका कारण नेपालतर्फ आइपुगेको र उीनहरुलाई प्रहरीले नेपालको क्षेत्र हो भनेपछि गल्तीले आइपुगेको स्विकार्दै भारत नै फिर्ता गरिएको छ ।’

त्रिवेणी पारी नारायणी नदीको पूर्वतर्फ सुस्ता पर्छ । त्यहाँ नेपाल भारतको सीमा स्तम्भ छैन । सुस्ताको त्यस क्षेत्रमा करिब ६ सय नेपाली बसोवास गर्छन् । नारायणी नदी पारी भारतीय सिमानासंग जोडिएको सुस्ता र भारत सिमानामा दशगजा समेत छैन । दशगजा (दुई देशको सिमाना) समेत नभएका कारण वर्षेनी भारतले सुस्ता अतिक्रमण गर्दै आएको छ ।

४० वर्षअघि ५६ हजार हेक्टर नेपाली भूभाग रहेको सुस्तामा भारतले सिमाना अतिक्रमण गर्दै अहिले सानो क्षेत्रमा सिमित गरिसकेको छ ।

हृाल सुस्ताको सिमा क्षेत्रमा भारतले ४ स्थानमा भारतीय अर्ध सैनिक बल एसएसवीको पोष्टनै राखेको छ । नेपालतर्फ सीमा सुरक्षार्थ सशस्त्र र सीमा पार अपराध रोकथाम तथा नियन्त्रणमा नेपाल प्रहरीको सानो युनिट तैनाथ छ । स्रोत ः कान्तिपुर




सम्बन्धित समाचार


error: Content is protected !!