ट्रक दुर्घटनामा चालकको मृत्यु

सुर्खेत, ३ कात्तिक ः कर्णाली करिडोरको कालीकोटको तिलागुफा नगरपालिका–५, खल्लागाड मालवहाक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुटवलबाट जुम्ला जाँदै गरेको लु १ क ३९३० नम्बरको ट्रक खल्लागाड नजिक मोडमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिनुभयो ।
रावतका अनुसार शनिबार भएको उक्त ट्रकमा रहेका तीन जना घाइते भएका छन् । घाइते हुनेमा सहचालक रामबहादुर बिक, कालीकोट ठेगाना भएका आमा छोरी एकुमाया उपाध्याय र उहाँको छोरी ग्रिस्मा उपाध्याय रहेका छन् ।
जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक टोपबहादुर महताराले दुर्घटनामा परी घाइते भएका तीनै जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको बताउनुभयो ।



