दोस्रो पटक रबीको हिरासत यात्रा

सुर्खेत ः पाँच वर्ष पहिले पहिलो पटक रास्वपाका अध्यक्ष रबी लामीछाने पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनमा संलग्न रहेको अभियोगमा २०७६ साउन ३० गते पक्राउ परेका थिए । उनै लामिछाने आज सुक्रबार बेलुकी पाँच वर्ष पछि पक्राउ परेका छन् सहकारीको रकम ठगी गरेको आरोपमा । पहिला पत्रकार हुँदा पक्राउ परेका लामीछाने अहिले गृहमन्त्री हुँदै रास्वपाको केन्द्रीय अध्यक्षको हैसियतमा रहेका छन् । यत्ति मात्र होइन, उनले नेतृत्व गरेको दल प्रतिनिधिसभाको चौथो दलको भूमिकामा रहेको छ ।
पुडासैनी केशमा लामीछाने अदालतको आदेश अनुसार धरौटीमा रिहा भएको केही अवधिपछि जीबी राईसँग मिलेर गोर्खा मिडिया नेटवर्क सञ्चालनमा ल्याएका थिए । बीचमै उनले टिभी छाडेर राजनीतिमा होमिएका थिए । आफ्नो नेतृत्वमा २०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरी २०७९ को निर्वाचनमा उनले भाग लिएर उक्त निर्वाचनबाट उनीसहित रास्वपाका २० जना प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । त्यसपछि उपप्रधानमन्त्री सहित गृहमन्त्री बन्ने सौभाग्य उनले पाए । राजनीतिमा आउनु अघि टेलिभिजन सञ्चालनका लागि पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन गरेको आरोपमा दोस्रो पटक केही समय अघि मात्र सुरक्षा दिने प्रहरीले पक्राउ गरेको पोखरा लिदै छ । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले सहकारीबाट आएको रकम अपचलन गरेको ठहर गर्दै कारबाहीको सिफारिस गरेको भन्दै उनलाई आज पक्राउ गरियो । सो समितिका संयोजक एमालेका नेता सुर्य थापा रहेका थिए ।
सहकारीबाट गोर्खा मिडियामा ल्याएको ६५ करोड ५४ लाख रकम गितेन्द्रबाबु (जीबी) राई र रवि लामिछानेले चेक काटेर खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, कम्पनीका अध्यक्ष राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । सहकारीबाट पैसा लैजान फर्जी कागजपत्र तयार भएको उल्लेख गर्दै प्रतिवेदनमा जीबी, लामिछाने र छविलाई कारबाही गर्न समितिले सरकारलाई निर्देशन दिएको थियो । नागरिकताको विषयमा उनले चितवनबाट दुई पटक चुनाव लडनु परेको थियो । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो ।
नागरिकता विवाद उठेपछि उनले २०७५ जेठ ४ मा काठमाडौँस्थित अमेरिकी दूतावासमार्फत नागरिकता त्याग्ने प्रक्रिया सुरु गरेका थिए । तर, यो प्रक्रिया २०७९ माघ १४ गते मात्र पूरा भयो । सर्वोच्चको फैसलापछि उनको सांसद र गृहमन्त्रीको पद गयो । त्यसपछि नागरिकता पुनः लिने प्रक्रिया पूरा भएको हो । दोहोरो नागरिकता विवादमा मुछिएका सभापति लामिछानेको पासपोर्ट (राहदानी) काण्ड अझै सेलाएको छैन । सभापति लामिछानेको टाउकोमा राहदानी ‘तरबार बनेर’ झुण्डिएकै छ ।
लामिछानेले अमेरिकी नागरिकता लिइसकेपछि पुरानो नेपाली नागरिकताकै आधारमा २०७३ जेठ १३ गते नेपाली राहदानी लिएका थिए । उनले त्यसपश्चात् अमेरिकी पासपोर्ट र नेपाली पासपोर्ट एकसाथ प्रयोगमा ल्याएको भन्दै उनीविरुद्ध युवराज सफलले मुद्दा हालेका थिए । उनले राहदानी प्रकरण मिलाउन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राजनीतिक सौदावाजी गरेर प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेको र त्यसको बदलामा महान्यायाधिवक्ता कार्यालयबाट लामिछानेको राहदानीको मुद्दा अघि नबढाउने निर्णय भएको बताइन्छ ।
तर, त्यो प्रयास पनि लामो समय टिकेन । नेपाली राहदानी दुरुपयोगको उजुरीमा मुद्दा नचलाउने निर्णयको कारण खुलाउन सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयलाई आदेश दियो । लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको कार्यालयको निर्णयलाई चुनौती दिँदै युवराज पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्चको फैसलापश्चात् उनको राहदानी दुरूपयोगको विषय जुनसुकै समयमा बिउँतिन सक्छ ।









