रविसहित १४ जनाविरुद्ध एकैपटक जारी भयो पक्राउ पुर्जी ः लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको मुद्दा

काठमाडौँ ः  पोखरा को सूर्य दर्शन सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनालाई एकै पटक पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कास्कीले लामिछानेसहित उनीहरूलाई पक्राउका लागि एकै पटक अनुमति दिएको हो । सहकारी ठगीमा ठुलो सङ्ख्यामा पक्राउ अनुमति दिएको पहिलो पटक हो ।

जिल्ला न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले पक्राउ अनुमति दिएको हो । जिल्ला जिल्लाले लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र बावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दिपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिएको हो ।

जिल्ला अदालतले बयान लगायतका थप अनुसन्धान गर्नु पर्ने आधार, कारण मनासिब देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ ९३० बमोजिम निजलाई पक्राउ गर्न अनुमति दिइएको अनुमति पत्रमा उल्लेख छ।

रवि लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी सहितका प्रहरी निकायलाई पठाएको पत्रमा ‘ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा’मा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गरेर पठाइदिन भनिएको छ ।

कृष्णप्रसा जैसीसमेतको जाहेरी र प्रहरी प्रतिवेदनका आधारमा अघि बढेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्बन्धी मुद्दामा २ कात्तिकमा लामिछानेलाई पक्राउ गर्न अनुमति जारी भएको पत्रमा उल्लेख छ ।

‘पक्राउ अनुमति प्राप्त भए पश्चात निज प्रतिवादीको खोजतलास गरी फेला परेमा पक्राउ गरी यस कार्यालयमा पठाइदिनु हुन सादर अनुरोध गरिएको छ’, कास्कीका डीएसपी वसन्तकुमार शर्माले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।





error: Content is protected !!