कर्णालीमा उद्योगभन्दा कृषिमा बढी कर्जा लगानी

सुर्खेत : कर्णाली प्रदेशमा उद्योगभन्दा कृषिमा बढी कर्जा लगानी भएको छ । नेपाल राष्ट्र बैंक सुर्खेतको गत आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि पुस मसान्तसम्मको आर्थिक तथ्यांकअनुसार कर्णालीमा उद्योगमा भन्दा कृषिमा बढी कर्जा लगानी भएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका निर्देशक नारायणप्रसाद पोख्रेलले कर्णालीमा उद्योगमा भन्दा कृषिमा धेरै कर्जा लगानी भएको बताए । उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि पुस मसान्तसम्म कर्णालीका १० वटै जिल्लामा कृषिमा ४ अर्ब ५२ करोड १८ लाख कर्जा लगानी भएको छ । उद्योगमा भने ३ अर्ब ३० करोड २१ लाख औद्योगिक कर्जा लगानी भएको छ ।

कर्णालीको सबैभन्दा धेरै कृषि कर्जा लगानी भएको जिल्ला सुर्खेत हो । सुर्खेतमा २ अर्ब ३ करोड ७५ लाख कर्जा लगानी भएको छ । त्यसपछि धेरै कृषि कर्जा लगानी हुने जिल्लामा रुकुम पश्चिम छ । रुकुम पश्चिममा ५४ करोड १५ लाख लगानी भएको छ ।

यस्तै जुम्लामा ४२ करोड ८५ लाख, सल्यानमा ४० करोड ८४ लाख र जाजरकोटमा ३२ करोड ३४ लाख रुपैयाँ कृषि कर्जामा लगानी भएको छ । दैलेखमा २५ करोड ९७ लाख, हुम्लामा १५ करोड २ लाख, डोल्पामा १४ करोड ७६ लाख, कालिकोटमा १३ करोड २९ लाख कृषि कर्जा लगानी भएको छ । सबैभन्दा कम कृषि कर्जा लगानी भएको जिल्ला मुगु हो । मुगुमा ९ करोड २१ लाख रुपैयाँ कृषि कर्जामा लगानी भएको छ ।

कर्णालीमा सबैभन्दा धेरै दूध, धान, मासु, अण्डा र माछापालनमा कृषि कर्जा लगानी हुने गरेको छ । यसको उत्पादन पनि यहाँ बढी हुने भएकोले कृषि लगानी बढी हुने गरेको पोख्रेलले बताए ।

आव २०८०/०८१ को साउनदेखि पुस मसान्तसम्म कर्णालीमा दूध ४ करोड ८५ लाख ४७ हजार लिटर, मासु १६ हजार ७ सय ७८ मेट्रिक टन, अण्डा १६ लाख ६९ हजार वटा र माछा १ सय ७४ मेट्रिक टन उत्पादन हुने गरेको छ । यस्तै कर्णालीमा सवैभन्दा धेरै उत्पादन हुने खाद्य बालीमा जौ छ । जौ बाली १६.८ प्रतिशत, गहुँ ८.७ प्रतिशत, मकै ८.१ प्रतिशत, कोदो ७.३ प्रतिशत र धान २.५ प्रतिशत हुने गरेको छ । सो अवधिमा कर्णाली प्रदेशको कूल गार्हस्थ उत्पादनमा कर्णाली प्रदेशको २ खर्ब २९ अर्ब रहेको छ ।

आव २०७९/०८० को सोही अवधिमा कर्णालीको कृषिमा ५४ खर्ब ८५ अर्ब ६० र आव २०७८/०७९ को सोही अवधिमा ४४ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी भएको थियो ।

नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान निर्देशक पोख्रेलले अन्य प्रदेशको तुलनामा कर्णालीको कूल गार्हस्थ उत्पादन कम भएको बताउँदै राष्ट्र बैंकले निकालेको तथ्यांकलाई तथ्यपरक बनाउने प्रयास गरिएको बताए ।

नेपाल राष्ट्र बैंक सुर्खेतका प्रमुख बाबुराम कोइरालाले कर्णालीमा २०७६ मा राष्ट्र बैंकको कार्यालय स्थापना गरेको हुँदा त्यस यताबाट कर्णालीको आर्थिक गतिविधि र तथ्यांक संकलन गरिएको बताए ।





error: Content is protected !!