कुन रोगका बिरामीले के नखाने
दसैँमा मासु, मिठाई, मैदाबाट बनेका परिकार, प्रशोधित प्याकेटका खाद्य र पेय पदार्थको अत्यधिक प्रयोग हुने गरेको पाइन्छ । यस्ता खानेकुरा धेरै प्रयोगमा ल्याउँदा स्वस्थ व्यक्तिसमेत बिरामी पर्न सक्छन् र पहिलेदेखि नै स्वास्थ्य समस्या भोगिरहेकामा त झन् बढी समस्या निम्तिने हुँदा दसैँको खानपानमा ध्यान दिन चिकित्सकले सुझाएका छन् ।
उच्च रक्तचाप, भल्बमा समस्या भएको, मुटुको पम्पमा समस्या र रक्तनलीमा कमजोरी तथा मुटुमा बोसो जमेको वा जन्मजात विभिन्न मुटुरोगका समस्याबाट नेपालमा लगभग सबै उमेर समूह प्रभावित छन् । यस्ता मुटुसम्बन्धी समस्या खानपान र जीवनशैलीसँग प्रत्यक्ष जोडिएका छन् । खानपानमा ध्यान नदिँदा समस्या बढ्ने जोखिम उच्च रहने भएकाले मुटुरोगीले विशेष ध्यान दिनुपर्ने हुन्छ ।
जुनसुकै मुटुसम्बन्धी रोग भएका व्यक्तिले बोसोयुक्त खाना खानुहुँदैन । खासगरी रातो बोसोयुक्त मासु, तेलमा फ्राई गरेर खाइने अन्य खाद्यवस्तुसमेत खानुहुँदैन । काँचो नुन पूर्ण रूपमा बन्देज गर्नुपर्छ । काँचो मासु, सलाद, अचार वा अन्य परिकारमा नुन राखेर खाँदा झन् समस्या निम्तिन्छ । नुनले शरीरमा पानीको मात्रा बढाउने र कमजोर मुटुले पम्प गर्न नसक्दा शरीरमा पानीको मात्रा बढी हुने हुँदा हातखुट्टा सुन्निने, फोक्सोमा पानी भरिनेजस्ता समस्या देखिन्छन् ।
मुटुलाई असर गर्न सक्ने कोल्डड्रिंक्स, धूम्रपान, मद्यपानसमेत गर्नुहुँदैन । प्याकेटका खानेकुरामा नुन र ट्रान्सफ्याटको मात्रा बढी हुने भएकाले यस्ता खानेकुरासमेत खानुहुँदैन । एकैपटक धेरै मात्रामा खानेकुरा नखाने, सकेसम्म सेतो मासु खाने, रातो मासुहरू खानैपरेमा बोसो कम भएको मासु मात्र खानुपर्छ । फ्राई गरेको मासुभन्दा तेल, मसला, नुन कम राखेर पकाएर वा उसिनेर मासु खान सकिन्छ । सेकुव र धेरैपटक प्रयोग गरिएको तेलमा पकाएको खाना नखाने तथा सकेसम्म नियमित व्यायामलाई निरन्तरता दिनुपर्छ । बिरामीले मात्र नभई परिवारका सदस्यहरूले समेत बिरामीका अगाडि धूम्रपान गर्नुहुँदैन ।
चाडबाडमा कोल्डड्रिंक्स, मैदाबाट बनेका खानेकुरा, मिठाईजस्ता चिनीको मात्रा अत्यधिक हुने खाद्य पदार्थहरू खाने प्रचलन छ । शरीरमा चिनीको मात्रा बढी भएर मधुमेहको समस्या भोगिरहेका व्यक्तिहरूले यी खाद्य पदार्थहरू पूर्णतया बन्देज गर्नुपर्छ ।
खानपानसँगै मधुमेहका बिरामीलाई व्यायाम निकै आवश्यक हुन्छ । खाना पचाउन र शरीरमा चिनीको मात्रा सन्तुलित राख्नका लागि खानापछि व्यायाम आवश्यक हुन्छ । धेरैजसो बिरामीले मर्निङवाक गर्ने र दिउँसो खाना खाएर आराम गर्छन्, जुन पर्याप्त हुँदैन । तसर्थ, खाना खाएपछि नियमित व्यायाम गर्न नबिर्सौँ ।
कोक, फ्यान्टाजस्ता कोल्डड्रिंक्स, प्याकेटका जुस, मिठाईबाट टाढै बस्नुपर्छ । बोसोयुक्त खानेकुरा खानुहुँदैन । प्याकेटका खानेकुरा, फास्टफुडहरू, माटोमुनि फल्ने आलुजस्ता तरकारीसमेत कम प्रयोग गर्नुपर्छ । भातको सट्टामा तरकारी, सागपात, गेडागुडी खान सकिन्छ ।
ग्यास्ट्रिक, कब्जियत
चाडबाडमा मासुको अत्यधिक प्रयोगले पाचन प्रणालीमा समस्या निम्त्याउँछ । अझ विशेष गरी खसीको मासु र पोलेको, तारेको वा काँचो मासु खाँदा नपच्ने वा ढिला पच्ने हुँदा पखाला लाग्ने, वाकवाकी आउने र कब्जियत हुन्छ ।
खासगरी बच्चाहरूलाई अत्यधिक मासु र बजारको खानेकुरा खुवाइने हुँदा ग्यास्ट्रिक र कब्जियतजस्ता समस्या हुन्छ । पोलेको मासु सकेसम्म नखानुस् । पोलेको सेकुवामा कार्बनको मात्रा हुने भएकाले पेटमा समस्या निम्त्याउँछ । पकाएको मासु प्रयोगमा ल्याउने र मासुसँगै अन्य सागपात र तरकारीसमेत खानुपर्छ ।
बाथ
शरीरमा युरिकएसिड बढाउने खानेकुराहरू खानुहुँदैन । मासुजन्य खानेकुराले शरीरमा सुजन निम्त्याउने भएकाले बाथरोग भएका व्यक्तिले मासुजन्य खानेकुरा सीमित मात्रामा खानुपर्छ । फोक्सो, कलेजो, आन्द्राजन्य भित्री मासुसमेत बाथका बिरामीले खानुहुँदैन । मासुको सट्टामा अण्डा र अन्य तरकारीहरू प्रयोगमा ल्याउन सकिन्छ ।
यस्तै, चिसो खानेकुरा वा पेयपदार्थहरू खानुहुँदैन । बाथका रोगीले सामान्यतया खानेकुरा बार्नुपर्दैन, तर शरीरमा पानीको मात्रा भने घट्न दिनुहुँदैन । जुस वा अन्य इनर्जी ड्रिंक्सभन्दा शुद्ध खानेपानी पिउनुपर्छ । चिसो ठाउँमा जाँदा न्यानो कपडा लगाउने, घामबाट समस्या भएकाहरूले छालाको स्याहार गर्ने र घुँडा दुख्ने बिरामीहरूले धेरै उकालो र ओरालो हिँड्नुहुँदैन ।
दम–श्वासप्रश्वास
दम र श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिले खानेकुरा बार्नुपर्छ भन्ने छैन । तर, अत्यधिक तेल, बोसो, नुन वा गुलियो भएको खानेकुराबाट टाढा बस्नुपर्छ । धूम्रपान र मद्यपान गर्नुहुँदैन । भिडभाडमा जाँदा वा एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्दा मौसम परिवर्तनसँगै आउन सक्ने संक्रमणहरूबाट सचेत हुन आवश्यक छ । डेँगु, टाइफाइड, ज्वरोजस्ता समस्याबाट बच्न मौसमअनुसार कपडा लगाउन र नियमित व्यायाम गर्न छुटाउनुहुँदैन ।
अक्सिजन लिइरहेका दम र श्वासप्रश्वाससम्बन्धी बिरामीले अक्सिजन छुटाउनुहुँदैन । त्यस्तै, नियमित औषधिहरू छुटाउनुहुँदैन । र, विशेषगरी कुनै स्वास्थ्य समस्या देखिएमा चाडबाड नभनीकन आवश्यक उपचार वा चिकित्सकको सल्लाह लिन अति आवश्यक छ । खासगरी यात्रा गर्दा वा मौसम परिवर्तनको कारणले फोक्सोसम्बन्धी समस्याहरू बढ्ने जोखिम रहने भएकाले विशेष ख्याल राख्नुपर्छ ।
मिर्गौला र कलेजोरोग
अत्यधिक नुन, चिनी, मासु वा सुक्खा खानेकुरा र क्याफिनयुक्त खानेकुराबाट मिर्गौलाका रोगीहरू टाढै बस्नुपर्छ । शरीरमा नुन बढी हुँदा रक्तचाप बढेर मिर्गौलामा समस्या देखिन्छ । फ्राई गरिएको मासु, ससेज, फ्रिजमा राखिएका खानेकुरा, चिप्स आदि खाद्य पदार्थ मिर्गौलाका रोगीले खानुहुँदैन ।
चिनीयुक्त वस्तु, सोडा, फ्राई गरिएका खानेकुरासमेत मिर्गौलाका लागि हानिकारक हुन सक्छन् । प्रशोधित खानेकुराले समेत मिर्गौलामा प्रत्यक्ष रूपमा असर पुर्याइरहेको हुन्छ ।
बोसोजन्य खानेकुरा, उच्च प्रशोधित, नुन र चिनीको मात्रा बढी भएका खानेकुराले कलेजोलाई समेत असर गरिरहेको हुन्छ । कलेजोका बिरामीले विशेष गरी बोसो, धूम्रपान र मद्यपानबाट टाढा बस्नुपर्छ । यसबाहेक, नियमित उपचार डायलाइसिस र औषधिको सेवन गर्न छाड्नुहुँदैन । सामान्य नियमित व्यायामलाई पनि निरन्तरता दिनुपर्छ ।