माछामासु र धूम्रपान निषेध गरिएको गाउँ

दाङ देउखुरीको हुलाकी राजमार्गअन्तर्गत पर्छ राजपुर गाउँपालिका वडा नम्बर ३ को प्रतापपुर।

यो गाउँमा अहिले ६६ घरधुरी छन्। ती घरधुरीमा झण्डै ४ सय जनाको बसोबास छ।   सबैतिर दसैंको रौनक छ। बडादसैंअन्तर्गत् बिहीबार फूलपाती भएकाले कतिपय ठाउँमा बलिको चाँजोपाँजो पनि भइरहेको छ।

बलि नदिनेहरूले पनि माछामासु खाएर दसैं पर्व मनाउने तयारी गरिरहँदा प्रतापुर यसबाट बाहिर छ। प्रतापपुरको आफ्नै परिचय छ। उसले सदियौंदेखि शाकाहारी गाउँको छवि बनाएको छ।

प्रतापपुर बलि प्रथा, माछा—मासुका लागि जीवजन्तुको काटमारबाट मात्र होइन, मदिराबाट पनि टाढा छ। यो गाउँमा कसैको घरमा मदिरा बनाइँदैन पनि।

चाडबाडमा पनि यहाँ मांस—मदिरा बर्जित रहेको प्रतापपुरकी ४१ वर्षीया भागमती यादवले बताइन्। गाउँभन्दा बाहिर गएर कसैले खाएको थाहा पाएमा उसले घर प्रवेश पनि नपाउने यादव सुनाउँछिन्।

भगवतीकाअनुसार उनीहरूको यो परम्परादेखि चलिआएको रीतिरिवाज हो। धर्म र संस्कृति हो।  उनीहरूका पूर्वजहरू यही मान्यतामा चल्ने गर्थे। उनीहरूले यसलाई निरन्तरतामा मात्रै दिएका हुन्।

आधुनिक पुस्तासम्म आइपुग्दा पनि यो चलन उत्तिकै कडाइका साथ लागू भइरहेको छ। ‘यो हाम्रो पूर्वजहरूको पालादेखि चल्दै आएको रीतिरिवाज र परम्परा हो,’ उनले भनिन्, ‘गाउँमा कसैले मासु—मदिरा त खान पाउँदैन नै, कसैले बाहिर गएर खाइहाल्यो भने पनि उसले घर प्रवेश पाउँदैन।’

भगवतीकाअनुसार यादव समुदायले माछा—मासु नखाने मात्र होइन, मासुका लागि पालिने कुनै पनि जीवजन्तु कुखुरा, खसीबोका, भेडा, बङ्गुर जस्ता कुनै पनि जनावर घरमा पाल्दैनन्।

दूध र दुग्ध पदार्थका लागि घर—घरमा गाई, भैंसी भने सबैले पाल्छन्। आफ्नो जातीय धर्म र परम्पराअनुसार सानैदेखि माछामासु खानु हुँदैन भन्ने सिकाएकाले त्यो मान्यतालाई सबैले पालना गर्दै आएको भगवतीले बताइन्।

‘बानी जस्तो लगायो त्यस्तै हुँदो रहेछ,’ उनले भनिन्, ‘सानैदेखि नखाने बानी भएको हुँदा यहाँ माछा—मासुप्रति कसैको रूचि देखिँदैन। पशु हत्या गरेर आहारा बनाउनु हुँदैन भन्ने सिकाएकाले सबैले त्यही रूपमा बुझे।’

भगवतीका अनुसार पर्वका बेला गाउँघरमा आउने पाहुना र आफन्तलाई पनि माछामासु तथा मदिरा बाहेकका परिकारबाट स्वागत—सत्कार गरिन्छ।

गम्भीर बिरामी परेको समयमा स्वास्थ्यका लागि चिकित्सकले माछामासु खान सुझाउँदा पनि यहाँका युवाले इन्कार गर्ने गरेको द्वारिकाप्रसाद यादवले बताए।

सानैदेखि माछामासु नखाएकाले चिकित्सकले करै गर्दा पनि मन नजाने उनी बताउँछन्। गाउँमा विवाह, भोजदेखि घरमा आउने पाहुनाको सत्कारका लागि दूध, दही र फलफूल दिने गरिएको उनले बताए।

‘म एक पटक बिरामी परेको थिएँ। मलाई चिकित्सकले माछामासु खान सल्लाह दिनुभएको थियो,’ उनले भने, ‘मलाई इच्छा लागेन। बालखैदेखि त्यही बानी परेकाले कसरी खाऊँ भन्ने लाग्यो।’

उनका अनुसार गाउँमा माछामासु र मदिरा मात्रै हैन धूम्रपान पनि निषेध छ। काम विशेषले गाउँ बाहिर रहेकाले पुस्तैनी यो परम्परा उल्लङ्घन भएको हुनसक्ने बताउँछन्।

‘गाउँ बाहिर जे जस्तो गरे पनि गाउँमा आइसकेपछि भने कसैले पनि माछामासु खान, मदिरा, चुरोट सेवन गर्न पाउँदैनन्। नियम मानिहाल्नुपर्छ,’ उनले भने।

पशुपन्छीको वध गर्नु वा प्राणी हत्या गर्नुलाई स्थानीय यादव समुदाय पाप ठान्ने गर्छन्। धर्ममा अति विश्वास गर्ने प्रतापपुरवासीहरू पूजापाठ र परम्परागत रीतिरिवाजका सच्चा अनुयायी भएको बताउँछन्।

सात्विक भोजन मात्रै गर्नुपर्छ र त्यसो गर्नाले परपीडक प्रवृत्तिको नाश हुन्छ भन्ने उनीहरूको मान्यता छ। हिंसाको विचार वा भावना त्याग्नाले जीवन सुखमय तथा आनन्दमय बन्छ भन्ने अटुट मान्यताले गाउँलाई नै सात्विक बनाएको द्वारिकाप्रसाद यादवले बताए।

३९ वर्षीय दिनानाथ यादवले पनि परम्परादेखि चलिआएको नियममा सबै अडिनु गौरवको कुरा भएको बताउँछन्।

प्रतापपुरवासीको आयआर्जनको स्रोत नै खेती किसानी र गाई—भैंसी पालन हो।

‘यसका साथै समुदायका मानिसहरू आफ्नो परम्परागत मान्यताको जगेर्ना गर्न पनि उत्तिकै तल्लीन छन्,’ उनले भने।





error: Content is protected !!