विस्थापित भएको २६ वर्ष पछि जगतिपुरवाट जाजरकोट दरवारमा खड्ग देवता

जाजरकोट ः २६ वर्ष पछि जाजरकोट दरवारमा पुरानो राजधानी जगतिपुरवाट खड्ग देवता सहितको फुलपाती जाजरकोट दरवारमा भित्र्याइएको छ ।
प्रत्यक वर्ष फुलपाती पर्वका अवसरमा जाजरकोट दरवारमा भित्र्याइने खड्ग देवता गएको २५ वर्ष सम्म खलंगाकै कालिका मन्दिरवाट जाजरकोट दरवारमा भित्र्याउने गरिएको थियो । जाजरकोट राज्यको प्रतीक मानिएको उक्त खड्ग देवतालाइ दशैंको सप्तमीमा जगतिपुरवाट भित्र्याउने चलन वन्द भए पनि यसलाइ फेरि जगतिपुरमै लिने पहल गरिएको थिएन । मुलुकको शसस्त्र द्धन्दका कारण असुरक्षा भएको भन्दै २०५५ सालमा उक्त खड्गलाइ खलंगाको कालिका मन्दिरमै राखिएको थियो । द्धन्द समाधान भएपनि स्थानीय सरोकारवालाहरुको वेवास्ताका कारण खड्गलाइ जगतिपुर नलिएर कालिका मन्दिरमै राखिएको थियो ।


यस वर्ष जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको विशेष पहल, समन्वय र सक्रियतामा २६ वर्ष पछि जगतिपुर दरवार क्षेत्रको खडग देउताको मन्दिरमा लगिएको थियो । प्रतिष्ठानको पहल र समन्वयमा जिल्लामा वसेको सर्वपक्षीय वैठकले यस वर्ष देखि जगतिपुरवाटै खड्ग देवता ल्याउने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार आज जगतिपुरका स्थानीयले विधि प्रक्रिया पुरयाएर पुरानै परम्परा अनुसार वाजा सहित जाजरकोट दरवारका लागि ल्याएको खड्ग देउता ग्रहण गर्न जाजरकोटी राजाका सन्तानहरु, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी सहितका सुरक्षा निकायका प्रमुख तथा अन्य सुरक्षाकर्मीहरु, नागरिक समाज, पत्रकार सर्वसाधारणहरु विशेष तयारीका साथ शान्तिचौतारा गएका थिए ।
जगतिपुरवाट ल्याइएको खड्ग देवतालाइ वाजागाजा सहित शान्तिचौतारामा भव्य स्वागत सहित ग्रहण गरेर गैरीखालीमा पुगी वजुको मन्दिर छेउमा पुजा अर्चना सहित नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले जाजरकोटकी देवीहरु कालिका, मालिका र भगवतीलाइ सलामी दिएका थिए । उक्त पुजा र सलामी पछि ठुलो संख्यामा रहेका सर्वसाधारण, सुरक्षाकर्मीहरु र अन्य व्यक्तिहरुको सहभागितामा उक्त खड्ग र फुलपातीलाइ जाजरकोट दरवार पुरयाएको थियो । दरवार पुरयाइएको खड्ग र फुलपातीलाइ विशेष पुजा सहित जाजरकोट दरवारको जमराघरमा भित्र्याइएको थियो । उक्त अवसरमा पुन नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले सलामी दिएका थिए ।


जाजरकोटको इतिहास मौलिकता र सँस्कृति जोगाउनको लागि आफूहरुले २६ वर्ष पछि जगतिपुरवाटै ल्याउने चलन सुरु गराउन पहल र समन्वय गरेको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताउनुभयो । अध्यक्ष केसीले जगतिपुरका स्थानीय सरोकारवालाहरु, खलंगाका स्थानीय सरोकारवालाहरु, जाजरकोटी राजाका सन्तानहरु, प्रमुख जिल्ला अधिकारी लगाएत विभिन्न सुरक्षा निकायहरु र सवैको सल्लाहमा यो वर्ष देखि पुरानो परम्परालाइ निरन्तरता दिने काम गरिएको बताउनुभयो । यस्तै जाजरकोटी मौलिकता र परम्परालाइ पुरानै शैलीमा निरन्तरता दिन यो पटक देखि जगतिपुरवाट खड्ग देवता जाजरकोट दरवारमा ल्याउने कार्य गरिएको प्रजिअ उमाकान्त अधिकारीले बताउनुभयो । यस्तै जाजरकोटी राजा उपेन्द्रविक्रम शाहका पनाति प्रवेशविक्रम शाहले आफूहरुको पुरानो परम्परालाइ निरन्तरता दिने काम भएकोमा खुसी व्यक्त गनुभयो ।





error: Content is protected !!