कर्णाली प्रदेश अस्पतालमा एमआरआई मेसिन सञ्चालनमा

सुर्खेत ः कर्णाली प्रदेश अस्पतालमा एमआरआई सेवा विस्तार भएको छ। शुक्रवार मुख्यमन्त्री यामलाल कँडेलले एमआरआई मेसिनको उद्घाटन गरेसँगै उक्त सेवा विस्तार भएको हो।
उक्त मेसिन थ्री टेस्ला (६४ च्यानल) को हो । मेसिन खरिद गरेको लामो समय भए पनि सञ्चालनमा आउन सकेको थिएन। यो मेसिनलाई नेपालकै उत्कृष्ट र अत्याधुनिक प्रविधिको मानिएको छ । सुर्खेतमै एमआरआई मेसिनबाट उपचार सेवा सुरु भएपछि महँगो खर्च गरेर सुर्खेतबाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ ।
अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार हाल यो मेसिनबाट दैनिक आठ जनासम्म बिरामीको उपचार हुँदै आएको छ । २५ देखि ३५ जनालाई दैनिक जाँच गर्न सकिने यो मेसिन आर्टिफिसियल इन्टेलिजेन्ससहितको आवाजविहीन उच्च गुणस्तरको छ । आवश्यक परेको खण्डमा २४ सै घण्टा सेवा दिन अस्पताल तयार रहेको उनले बताए।
सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश अस्पताललाई एमआरआई मेसिन खरिदको लागि बजेट उपलब्ध गराएको थियो । पाँच वर्ष ग्यारेन्टी भएको उक्त मेसिन नेपाली २९ करोड ७१ लाख परेको छ । मेसिन २०२३ मा निर्मित भएर परीक्षण गरिएको थियो ।
प्रदेश अस्पतालका अनुसार चुम्बकीय शक्तिबाट चल्ने अति नै उच्चस्तरको प्रविधि हो । यसले स्नायु, मेरुदण्ड, हाड जोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ । त्यसले सही रूपमा रोग पत्ता लगाइ उपचार गर्न सजिलो हुन्छ ।
उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले प्रदेश अस्पतालका आगामी संरचना विकास र सञ्चालनबारे यो क्षेत्रका विज्ञसँग छलफल गरी अध्ययनपछिको यथार्थ रिपोर्टका आधारमा प्रदेश सरकार अघि बढ्ने बताए ।
उनले भने, ‘तथ्यले जे बताउँछ सो आधारमा काम गर्न हामी अघि बढ्नेछौँ । गर्नैपर्ने काममा सामूहिक निर्णय गर्न सबै तयार हुनुपर्छ ।



