२१ वर्ष देखि काठको टहरोमा ताल्चा विमानस्थलको टर्मिनल


मुगु ९ भदौ ः मुगुको ताल्चा विमानस्थलमा जहाज उडान हुन थालेको २१ वर्ष वित्यो । २०६० साल वैशाख ३ गतेदेखि पहिलो पटक रारा विमानस्थल ताल्चमा परिक्षण उडान गरेर हवाई सेवा सुरु गरिएको थियो ।
विमानस्थलमा सहजरुपमा जहाजले अवतरण गरेपछि सबै जनाले स्वागत सँगै हाल सम्म मौसमले साथ दिए सम्म नियमित उडान हुँदै आएको छ । नियमित उडान भएपनि जहाजसँग जोडिएका महत्वपूर्ण सुरक्षा तथा व्यवस्थापनको पाटो भने अझै भरपर्दो हुन सकेको छैन । टर्मिनल भवन र यात्रु कक्ष नहुँदा यात्रुलाई सुरक्षा चुनौती तथा यात्रमा सकस हुने गरेको पाइएको छ ।
ताल्चा विमानस्थलमा रहेको टर्मिनल टावर २१ वर्षदेखि काठको टहरोमै राख्नु परेको छ । २०६० सालदेखि कच्ची धावनमार्गबाट काठको टहरोबाटै जहाजको उडान तथा अवतरण सुरु गरिएको भएपनि हाल सम्म सुविधायुक्त टर्मिन टावर भवन निर्माण नहुँदा समस्य थुप्रिएको छ ।

टर्मिनल टावर, यात्रु कक्ष नहुँदा यात्रुलाई बस्न झरीको बेला ओत लाग्न जस्ता समस्याले सताउने गरेको छ । काठको ठहरोबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यताबाट अगाडी बढन नसकेको अवस्था छ । २०७२ मा ५२० मिटर लम्वाई तथा २० मिटर चौडाई रहेको धावन मार्ग कालोपत्रे भएपनि अन्य कामहरु हुन नसकेको हो । मुख्य र संवेदनशील टावर टर्मिनल भवन नबन्दा समस्या भएको रारा विमानस्थल ताल्च मुगुका विमानस्थल प्रमुख श्रीकृष्ण रिजालले बताए । टर्मिनल टावर अग्लो ठाउँमा हुनुपर्ने र चारैतिर देख्ने हुनुपर्दछ, तर त्यो यहाँ छैन भने काठको टहरो काम चलाउका लागि बनाइएको हो ।
टर्मिनल टावर निर्माणका लागि २०७६ असोज १६ गते नागरिक उड्डयन प्राधिकरणले पाँच वर्षअघि भ्याट सहित ८ करोड ६५ लाख ९ हजार ९९४ रुपैयाँमा ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सनसित ठेक्का सम्झौता गरेको थियो । २०७९ वेशाख ५ गते निर्माण कार्य सकाएर हस्तान्तरण गनुपर्ने भएपनि हाल चौथो पटक म्याद थपेर काम भइरहेको प्राद्यिकरणका सिभिल इन्जिनियर महेश नेपालीले जानकारी दिए । दुई वर्ष भित्र निर्माण गर्नुपर्ने भएपनि हाल सम्म चार पटक सम्म म्याद थपेर काम भइरहेको नेपालीले बताए । अब छानो देखि भित्री कामहरु बाँकी रहेको उनको भनाई रहेको छ ।
हिमपात, वर्षा, कोरोना महामारी जस्ता कारणले टावर, टर्मिनल भवन निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायीको भनाई रहेको छ । पटक–पटक म्याद थप्दै गएपनि ठेक्काको काम पुरा नभएपछि अब तीन महिनामा निर्माण सम्पन्न गर्ने गरी आगामी असोजसम्म म्याद थप भएको जनाइएको छ । रारा विमानस्थल ताल्च पर्यटकिय विमानस्थल हो । पर्यटक आवतजावत हुने विमानस्थलमा व्यवस्थित टावर र टर्मिनल भवन नहुँदा सुरक्षा चुनौती त छँदै छ । साथै, विभन्न अरु सुरक्षा खतरा बढ्ने सम्भावाना पनि उत्तिकै छ ।
विमानस्थल जस्तो संवेदनशिल क्षेत्रमा पनि सुरक्षाको कुनै प्रवन्ध छैन । विमानस्थलको चारैतिर खुल्ला छ । मानिस, पशुचौपाया कुकुर स्याल हिँड्ने गरेका छन् । भरपर्दो घेरबारसम्म छैन , तत्काल सम्बन्धित निकायले सुरक्षा चुनौतिलाई ध्यानमा नराखे दुर्घटना निम्तिन सक्ने स्थानीयको बुझाई छ ।










