जुम्लाका ६० मध्ये पाँच वडा बालविवाहमुक्त

जुम्ला / जुम्लाका ६० मध्ये पाँच वडा बालविवाहमुक्त वडा घोषणा भएका छन् । शनिबार कनकासुन्दरी गाउँपालिका– ५ सहित जुम्लाका पाँचवटा वडा बालविवाहमुक्त वडा घोषणा भएका हुन् । कनकासुन्दरी– ५ बालविवाहमुक्त घोषणा हुने जुम्लाको पाँचौँ वडा हो । यसअघि पातारासी– ४, तिला– ६, गुठीचौर– ४ र हिमा– १ बालविवाहमुक्त वडा घोषणा भइसकेका छन् ।

नेपाललाई सन् २०३० सम्म बालविवाहमुक्त राष्ट्र घोषणा गर्ने सरकारको दिगो विकास लक्ष्य रहेको छ । सोहीअन्तर्गत गैरसरकारी संस्थाहरूको सहयोग समन्वयमा पालिकाले बालविवाहमुक्त वडा घोषणा गरिरहेका छन् ।

कनकासुन्दरी– ५ नम्बर वडाले सूचक पूरा गरेकोले घोषणा गरिएको जनाएको छ । यस वडामा एक हजार तीन सय ९० जनसंख्या रहेको छ। वडामा पाँचवटा बस्ती रहेका छन्। वडाभित्र सबै सूचक पूरा भएको र बालविवाह शून्यमा भएको यकिन भएपछि घोषणा गरिएको गाउँपालिका अध्यक्ष दामोदर आचार्यले बताए । उनले भने, ‘गाउँपालिका, क्याड, प्लान, पेस नेपाल, बालविवाहविरुद्वको साझा अभियान सञ्जाल, आइएनएफ, जुम्लाको समन्वय सहकार्यमा वालविवाहमुक्त वडा घोषणा गरिएको हो ।’

२० वर्ष नपुगी विवाह गर्न नहुने कानुनी प्रावधान रहेको छ । बालविवाह गर्ने गराउनेलाई ३–५ वर्ष कैदी र ३० हजार जरीवाना गर्ने कानुनी प्रावधान रहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!