भेरी करिडोर , राप्ती लोकमार्गको यातायात सेवा अवरुद्ध

सुर्खेत , ३२ साउन ः भेरी करिडोरको जाजरकोटको भेरी नगरपालिका–४ बोहरामा सडक अवरुद्ध भएको छ । बोहरामा पहिरो कारण सडक अवरुद्ध भएको हो । पहिरोले विद्युतका पोलहरु बगाउदा तारहरु चुडिएको जिल्ला प्रहरी कार्यालय ,जाजरकोटले जनाएको छ ।

विहानै देखि यातायात सेवा ठप्प हुनुका साथै विद्युत सेवा समेत पूर्ण रुपमा बन्द भएको छ । सडक खुलाका लागि भेरी करिडोरको टिम खटिएको जाजरकोटका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ११ र १२ को बिचमा पर्ने पितिबाङ खोलामा पानीको बहाव बढ्दा राप्ती लोकमार्ग अवरुद्ध भएको छ । गएरातीको वर्षाका कारण पितिवाङ खोलाको बहाव बढ्दा राप्ती लोकमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलका अनुसार खोलाको बहाव बढ्दा खोलामा रहेको कल्भर्ट भन्दा माथिबाट पानी बग्न थालेपछि राजमार्ग अवरुद्ध भएको हो ।


बाटोमा केही समस्या नभएको र पानीको सतह घट्ने बित्तिकै राजमार्ग सुचारु हुने उहाँको भनाई छ । राजमार्ग अवरुद्ध हुँदा बिहानै देखि दाङ जाने सवारी साधान तथा सदरमुकाम मुसिकोट आउने साना ठुला सवारी साधान पितिवाङ खोलामा अडिएका छन् । यो खोलामा पुल नहुँदा बर्सेनि वर्षायाममा यसैगरी अवरुद्ध हुने गरेको छ । यो ठाउँमा वर्षौं देखि सवारी यात्रुहरुले सास्ती खेपिरहेका छन् ।

यसैबिच रुकुम पश्चिम खण्डमा मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । चौरजहारी मुसिकोट खण्ड अन्तर्गत सानीभेरी गाउँपालिकाको चाइनाबगर र गिठागोटमा पहिरो झर्दा लोकमार्ग अवरुद्ध भएको डिएसपी पोखरलले जानकारी दिनुभयो । गएरातीको वर्षाका कारण सडकमा पहिरो झरेका कारण लोकमार्ग अवरुद्ध रहेको उहाँको भनाई छ । लोकमार्ग खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!