क्यान्सर अनुसन्धान केन्द्र सञ्चालन गर्ने तयारीमा केयू

धुलिखेल ः काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) ले क्यान्सर रोगको समयमा नै पहिचान गर्न प्रयोगशालाका साथै क्यान्सरको अनुसन्धान शुरु गर्ने भएको छ।

विश्वविद्यालय परिसरमा रहेको नेपाल टेक्नोलजी इनोभेशन सेन्टर (एनटीआईसी) को भवनमा क्यान्सरको समयमै पहिचान, उपचार तथा अनुसन्धान केन्द्र स्थापना गर्ने योजना अघि बढाएको हो।

विश्वविद्यालयले कोरिया अन्तरराष्ट्रिय सहयोग एजेन्सी (कोइका) को सहयोगमा इनोभेशन सेन्टरमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी नेपालकै क्यान्सरको अनुसन्धान केन्द्र बनाउने लक्ष्य लिएको इनोभेशन सेन्टरका निमित्त निर्देशक प्राडा राजेन्द्र ज्ञवालीले जानकारी दिए।

उनले कोइकाले विश्वविद्यालयका लागि उपलब्ध गराएका अधिकांश स्वास्थ्यसम्बन्धी उपकरण क्यान्सर पहिचानका लागि मिल्दोजुल्दो भएकाले आवश्यक पर्ने थप उपकरण तथा रसायनलगायत सामग्री उपलब्ध गराई क्यान्सर अनुसन्धान केन्द्र बनाउन लागेको बताए।

“अहिले पनि क्यान्सर रोगसम्बन्धी कतिपय परीक्षण गर्न विदेश पठाउने गरिएको छ, विदेश पठाइएका नमुनाको परीक्षण भएर रिपोर्ट आउन ३/४ हप्ता लाग्ने गरेको छ, रिपोर्ट आउँदा क्यान्सर अर्को चरणमा पार गर्ने खतरा हुने र विरामीको समय र पैसाको बरबादी हुने भएकाले विदेश पठाउने क्यान्सर परीक्षण नेपालमा नै गर्न क्यान्सर अनुसन्धान केन्द्र बनाउन लागेका हौँ,” प्राडा ज्ञवालीले भने।

३ महिनाभित्र केन्द्र सञ्चालन गर्ने लक्ष्यका साथ उपकरणको व्यवस्थापन, आवश्यक उपकरण खरिदलगायत गर्दै आएको विश्वविद्यालयले केन्द्रका लागि ३ सातापहिले क्यान्सर रोग विशेषज्ञ डा। अजयकुमार झालाई केन्द्र प्रमुखमा नियुक्त गरेको छ।

कोइकाको सहयोगमा विश्वविद्यालयमा स्थापना भएको स्वास्थ्य प्रयोगशालाबाट पहिलो चरणमा रक्त क्यान्सरको उपचारका लागि आवश्यक जनशक्ति, आधुनिक प्रविधि र सुविधा उपलब्ध गराइने भएको छ।

विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले समुदायलाई आवश्यक पर्ने क्यान्सरलगायतका गम्भीर रोगका सेवा दिन विश्वविद्यालयले तयारी अघि बढाएको बताए।

स्वास्थ्य प्रयोशाला प्रमुख डा. अजयकुमार झाले समुदायसम्म क्यान्सरको उपचार कसरी गर्न सकिन्छ भन्ने विषयमा काम गरिने बताए।

कोइकाले करिब १ अर्ब नेपाली रुपैयाँको लागतमा नेपाल टेक्नोलजी इनोभेशन सेन्टर (एनटीआईसी) को भवनका साथै करिब २० करोड रुपैयाँ बराबरको स्वास्थ्य प्रयोगशालाका लागि आवश्यक पर्ने उपकरण, फर्निचरलगायत उपलब्ध गराएको थियो। स्रोत ः थाहाखबर





error: Content is protected !!