मानव–पशु अलग घर निर्माण कार्यक्रम प्रभावकारी बन्दै

हेमन्त केसी
काँक्रेविहार (सुर्खेत), ६ असारः जाजरकोटको बारेकोट गाउँपालिकामा मानव–पशु अलग घर निर्माण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पुस्तौदेखि एउटै घरको भुइँ तलामा पशु चौपाया र माथिल्लो तलामा मानिसहरू बस्दै आएकामा गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी निर्वाचित भएलगत्तै मानव–पशु अलग घर कार्यक्रम ल्याउनुभएको थियो ।
अहिले पालिकाका अधिकांश ठाउँमा मानव–पशु अलग घर निर्माणकार्य जारी रहेको छ । हालसम्म ९५ पशु घर निर्माण भएको गाउँपालिकाका अध्यक्ष गिरीले जानकारी दिनुभयो । सुरुमा पाँच भैँसी हुने किसानलाई उक्त पशु घर निर्माण गरिएको थियो भने आगामी वर्षमा तीनदेखि पाँचसम्म भैँसी हुने किसानका लागि पशु घर निर्माण गरिने उहाँको भनाइ छ । पालिकाभित्र पशुपालन गरेर दैनिक गुजारा चलाइरहेका किसानलाई पशु घर निर्माणको कार्यक्रमले समेट्ने गरेको उहाँले बताउनुभयो ।
स्थानीय स्रोत साधन प्रयोग गरेर उक्त पशु घर निर्माण गरिएका हुन् । पशु घर निर्माणले पशु चौपायाको स्वास्थ्य राम्रो हुनुका साथै मानवको स्वास्थ्यलाई समेत सघाउ पुग्ने उहाँको अपेक्षा छ । आर्थिक अभावका कारण मानव र पशु चौपाया एकै ठाउँमा हुँदा स्वास्थ्यमा समस्या आउने गरेकाले आफूहरूले पहिलो काम यही गरेको अध्यक्ष गिरीले बताउनुभयो । गाउँपालिका र प्रदेश सरकारको लगानीमा उक्त कार्यक्रम सञ्चालन भइरहेको छ ।
पालिकाभरि निश्चित मापदण्डका आधारमा पशु चौपायाको अलग घर निर्माण कार्य हुँदै आएको छ । पशु चौपाया पालनका हिसाबले बारेकोट पहिलो नंमा पर्छ । वर्षायाममा पाटन क्षेत्रतिर चरिचरनका लागि लिने गरिन्छ भने हिउँद ाममा घरमा ल्याएर पालन गरिँदै आएको छ । यो कर्णालीकै नयाँ कार्यक्रम पनि हो । भूकम्पका कारण केही संरचनामा क्षति भए पनि फेरी मर्मतको काम चलिरहेको छ ।



