६९ जनाको मोतीबिन्दुको सफल शल्यक्रिया

जाजरकोट, वैशाख ३१ गते ः नलगाड नगरपालिका–१ बस्ने टली विकले बढ्दो उमेरसँगै कमजोर बन्दै गएका दुवै आँखाका ज्योति करिब करिब गुमाइसक्नुभएको थियो । जब दुवै आँखाको ज्योति गुम्यो टलीका लागि दिनरात एकनास बनेको थियो । गाउँमै भएको शिविरमा दायाँ आँखा शल्यक्रिया गरेपछि ८० वर्षीय विकको आँखाको ज्योति फर्किएको छ । आँखाको ज्योति फर्किएपछि आफूले पुनर्जन्म पाएसरह भएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।

यसै गरी नलगाड नगरपालिका–५ का कौशिला मल्लको पनि दुवै आँखाका ज्योति गुमिसकेका थिए । ६१ वर्षीय कौशिलाले पनि शल्यक्रियापछि आँखाको ज्योति पाउँदा संसार देखेको बताउनुभयो । उहाँ जस्तै ज्येष्ठ नागरिकले आफ्नो गुमेको आँखाको ज्योति पुनः पाउँदा खुसीको सीमा नभएको बताएका छन् ।

मोतीबिन्दुले दुवै आँखा देख्न नसक्ने भएकी नलगाड नगरपालिका–७ की बिर्मी योगी पनि कोठाभित्रै बस्न बाध्य हुनुभएको थियो । नलगाड नगरपालिका–७, दल्लीमा सञ्चालन भएको दुईदिने निःशुल्क मोतीबिन्दु शल्यक्रिया शिविरमा आँखा अपरेसन सफल भएपछि टली, कौशिला, खड्के, बिर्मी र जैकलाको उमेर भएका ६९ जनाले नयाँ संसार देख्न सक्ने भएका छन् ।

नेपाल नेत्र ज्योति सङ्घ, कर्णाली प्रदेशद्वारा सञ्चालित एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमको आर्थिक सहयोग, राप्ती आँखा अस्पताल दाङको प्राविधिक सहयोग र नलगाड नगरपालिकाको व्यवस्थापन तथा आयोजनामा निःशुल्क मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन भएको थियो ।

दुई दिनसम्म सञ्चालन भएको उक्त शिविरमा ५२१ जनाले आँखा जाँच सेवा लिएको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमका सामुदायिक संयोजक निर्मला सुनारले जानकारी दिनुभयो । जसमा ६९ जनाको मोतीबिन्दुको सफल शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।

नेपाल नेत्र ज्योति सङ्घका एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमका कर्णाली प्रदेश व्यवस्थापक मानबहादुर कुँवरले नलगाड नगरपालिकासँगको समन्वयमा शिविर सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । शिविरमा राप्ती आँखा अस्पताल दाङमा कार्यरत डा. ज्योति सापकोटाको नेतृत्वमा नेत्र स्वास्थ्यकर्मीको सहभागिता थियो ।





error: Content is protected !!