कर्णालीका चार जिल्लामा औलो

कर्णाली ः कर्णालीमा औलोको जोखिम घट्दै गएको पाइएको छ । प्रदेशभर विगत चार वर्षको तथ्यांकलाई हेर्ने हो भने चालु आर्थिक वर्ष २०८०/ ८१ को फागुन मसान्तसम्म आइपुग्दा आयातित र स्थानीय औलो संक्रमणको जोखिम घट्दै गएको पाइएको हो ।
आर्थिक वर्ष २०७६ / ७७ देखिको तथ्यांकमा कर्णालीका सात जिल्लामा औलोका पोजेटिभ बिरामी भेटिएकोमा चालु आर्थिक वर्षमा आइपुग्दा चार जिल्लामा औलो सीमित भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।
निर्देशनालयले उपलब्ध गराएको तथ्यांकमा मुगु, हुम्ला, कालीकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत र सल्यानमा औलोका बिरामी रहेकोमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आइपुग्दा चार जिल्ला सुर्खेत, कालीकोट, हुम्ला र मुगुमा मात्रै औलो पोजेटिभ देखिएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका फोकल पर्सन श्यामलाल आचार्यले जानकारी दिए ।
जिल्लागत तथ्यांक अनुसार हाल हुम्ला र कालीकोटमा एकरएक, सुर्खेतमा २० र मुगुमा दुई गरी जम्मा २४ जनामा स्थानीय तथा आयातित औलो संक्रमण पुष्टि भएको छ । यो अवधिमा प्रदेशभर स्थानीय औलो संक्रमण पोजेटिभ एक जनामा मात्रै देखिएको छ । दोस्रो स्थानबाट आएको भन्दा स्थानीय स्तरमै फैलिने संक्रमणलाई जोखिम मान्ने गरिन्छ ।
यस्तै, कर्णालीका दुई जिल्ला हुम्ला र कालीकोटका चार वडा भने स्थानीय औलोको उच्च जोखिममा रहेको आचार्यले बताए । जसमा हुम्लाको अदानचुली गाउँपालिकाका वडा नम्बर २, ३ र ४ र कालीकोटको खाँडाचक्र नगरपालिकाको २ नम्बर वडा रहेका छन् ।
यस्तै, मध्यम जोखिम भएका वडामा हुम्लाको अदानचुली वडा नम्बर २ र ३, चंखेली गाउँपालिका वडा नम्बर २, ताजाकोट गाउँपालिका वडा नम्बर १, मुगुको सोरु गाउँपालिका वडा नम्बर ४ र ५, खत्याड गाउँपालिका र सुर्खेतको भेरीगंगा नगरपालिका र वीरेन्द्रनगर नगरपालिका रहेको आचार्यले बताए ।
प्रदेभर चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ३६ हजार ६ सय १३ जनामा मलेरियाको माइक्रोस्कोपी र आरडीटी दुवै जाँच गरिएको उनको भनाइ छ । सरकारको औलो रणनीतिक योजना सन् २०१४(२०२५ अनुसार नेपाललाई सन् २०२५ सम्म औलोमुक्त राष्ट्र बनाउने परिकल्पना पूरा गर्न कर्णालीमा औलो निवारण रणनीति नै बनाएर लागि परेको उनले बताए ।
कर्णालीमा औलो निवारणका लागि सरकारी स्वास्थ्य संस्थामा औलोको परीक्षण तथा उपचार निस्शुल्क उपलब्ध हुने स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए । उनका अुनसार हरेक औलोका बिरामी तथा जोखिम क्षेत्रको १(३(७ ९पहिलो दिन जानकारी, तेस्रो दिनभित्र खोज र सात दिनभित्र रोकथाम० पद्दती अनुरुप नियमित सक्रिय खोजपड्ताल भइरहेको छ । यस्तै, औलो रोकथाम तथा नियन्त्रणका लागि जोखिम क्षेत्रमा आमा तथा गर्भवती महिलाका लागि कीटनाशक झुल वितरण गरिनुका साथै आवश्यकता अनुसार कीटनाशक विषादीसमेत छर्किने व्यवस्था गरिएको कँडेलले बताए ।
यी हुन् औलो निवारण रणनीति
प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले औलो निवारणका लागि विभिन्न रणनीति अवलम्बन गरेर काम गरिरहेको छ । जसअन्तर्गत प्रभावकारी निर्णय लिन औलोसम्बन्धी निगरानी र सूचना प्रणाली सुदृढीकरण गर्ने, औलोको जोखिम स्थानमा भेक्टर नियन्त्रण कार्यक्रम सञ्चालन गरी औलो सर्ने दरलाई घटाउने रणनीति निर्देशनालयले अपनाइरहेको छ ।
यस्तै, औलोका लागि गुणस्तरीय निदान तथा प्रभावकारी उपचारमा सर्वव्यापी पहुँच सुनिश्चित गर्ने, सरकारको नेतृत्वदायी भूमिका तथा प्रतिबद्धता र समुदायको सहभागिता सुनिश्चित गर्ने, प्राविधिक तथा व्यवस्थापकीय क्षमता सुदृढ गर्नेलगायतका रणनीतिका साथ अगाडि बढिरहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डा। रविन खड्काले बताए ।
स्वास्थ्य संस्थाबाट स्क्रिनिङ तथा परीक्षण, निजी, सरकारी तथा बहुनिकायलाई कार्यक्रम सम्बन्धमा स्थलगत अनुशिक्षा तालिम तथा अभिमुखीकरण, सीमा जोडिएका छिमेकी राष्ट्रसँग औलो निवारण सम्बन्धमा सहकार्यसमेत गर्ने गरेको उनको भनाइ छ ।
औलो निवारण कार्यक्रमका चुनौती
हिमाली जिल्लामा औलोका बिरामी देखिनु तथा आवश्यक प्रतिकारात्मक क्रियाकलापजस्तै खोजपड्ताल तथा विषादी छर्कन समयमा पुग्न कठिनाइ रहेको निर्देशक खड्काले बताए । स्वास्थ्य संस्थामा मलेरिया जाँचमा कमी, औलो परीक्षण स्वास्थ्यकर्मीहरूको प्राथमिकता नपर्नु, स्थानीय सरकारबाट औलोका लागि रणनीति र बजेट व्यवस्थापन कम प्राथमिकता हुनु औलो निवारण कार्यक्रमका चुनौती रहेको निर्देशक खड्काको भनाइ छ ।
भारत तथा तेस्रो मुलुकबाट आउने आयातित केसको समयमै व्यवस्थापन गर्न कठिनाइ, औलो निवारण कार्यक्रमका लागि माग भए बमोजिम पर्याप्त आर्थिक स्रोतको अभाव रहनु, प्रदेश तथा स्थानीय तहमा औलोसम्बन्धी तालिम प्राप्त स्वास्थ्यकर्मीको अभाव तथा इन्टोमोलोजिष्टहरूको अभावलगायतका चुनौतीले कार्यक्रम सोचे अनुरुप प्रभावकारी हुन नसकेको उनले बताए ।
औलो निवारणका लागि आगामी कदम
औलो निवारणका लागि निर्देशनालयले अगाडि बढाउने आगामी कदममा आरडीटी कीटको समयमै माग, आपूर्ति र विभाजन गर्ने कार्यलाई निरन्तरता दिने, निजी अस्पतालमा औलोको परीक्षण, निदान तथा उपचारमा मूलप्रवाहीकरण गर्ने र सञ्जाल गठन रहेका छन् । यस्तै, सबै जिल्लामा समानान्तर रूपमा मलेरिया कार्यक्रम सञ्चालनलाई निरन्तरता दिने, १–३–७ मोडलमा मलेरिया केसको अनुसन्धान र खोजपड्तालाई निरन्तरता दिने, औलोसम्बन्धी तथ्यांकलाई व्यवस्थित र विश्वसनीय बनाउने निर्देशनालयको आगामी योजना छ ।
के हो औलो, कसरी जोगिने ?
सामान्यतया मलेरिया भनेर चिनिने यो रोग प्लाज्मोडियम नामक परजिबीका विभिन्न जातबाट हुने गर्दछ । प्लाज्मोडियम भाइवेक्स, प्लाज्मोडियम मलेरी, प्लाज्मोडियम ओभेल र प्लाज्मोडियम फाल्सिपारम गरी चार जातका परजिबीबाट यो रोग लाग्ने गर्दछ । साधारणतया नेपालमा प्लाजमोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सीफारम गरी दुई जातका परजिबी पाइन्छ ।
प्लाज्मोडियम फाल्सीफारम जातको औलोले मानिसको मस्तिष्कमा समेत आक्रमण गर्न सक्ने हुनाले मानिसको ज्यान छिटो लिने गर्दछ । एनोफिलिज जातको पोथी लामखुट्टेले स्वास्थ्य मानिसमा टोक्दा मलरियाका परजिबीहरू सर्ने गर्दछन् । मानिसको शरीरमा प्रवेश गरेपछि कलेजो र राता रक्तकोषमा विकास भई हुकिएका परजिबीहरू रगतको माध्यमबाट शरीरभर फैलिएर विभिन्न किसिमका लक्षण देखा पर्दछन् । बेलैमा सही निदान र उपचार नभए छोटो समयमै ज्यान लिन सक्ने रोग हो ।
सामान्यतया औलो रोगका परजिबी भएको लामखुट्टेको टोकाइ भएको १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, जोर्नीहरू दुख्ने,असजिलो महसुस हुनेजस्ता सामान्य लक्षण देखा पर्दछन् । निरन्तर वा दिन बिराएर ज्वरो आउने, कलेजो सुनिने, रगतको मात्रा कमी हुने तथा परजिबीको प्रकृति अनुसार विभिन्न लक्षण तथा समस्या देखिने गर्दछन् ।
औलो रोगको उपचारका लागि नेपालमा विभिन्न औषधि सरकारले निस्शुल्क रूपमा स्वास्थ्य संस्थामार्फत उपलब्ध गराउँदै आएको छ । परजिबीको प्रकार अनुसार रोगको उपचार पनि छुट्टाछुट्टै हुने गर्दछ । स्वास्थ्यकर्मीको सल्लाह बमोजिम पूर्ण रूपमा औषधि सेवन गर्नुपर्ने हुन्छ । लामखुट्टेको टोकाइको माध्यमबाट मात्र सर्न सक्ने यो रोगबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु नै मुख्य रोकथाम हो ।










