गरिबलाई निस्शुल्क नुन दिन्छु, जग्गा बाँझो राखे कारबाही गर्छुु

सुर्खेत ः मुगुको सदरमुकामसमेत रहेको छायाँनाथ रारा नगरपालिकामा विकास निर्माणदेखि भावी योजनाका विषयमा केन्द्रित रही नगर प्रमुख विष्णुकुमार भामसँग सुर्खेतस्थित हेमन्त केसीले कर्णाली र त्यस क्षेत्रको समसामयिक विषयमा गरेको कुराकानीको सम्पादित अंश ः

करिब दुई वर्ष बित्नै लाग्दा तपाईंले के के काम गर्नुभो ?

म निर्वाचित भएको अब दुई वर्ष पुग्दै छ। २ वटा बेलिब्रिज पुल, २ वटा मोटरेबल पुल, ४४ वटा सामुदायिक विद्यालयमा १५ वटा नयाँ विद्यालयका भवन निर्माण भएका छन्। त्यस्तै, चालु आर्थिक वर्षमा १० वटा विद्यालय निर्माण हुने क्रममा रहेका छन्। विमानस्थल रहेका ताल्चा, १३ नम्वरको लुमा , १४ को बामको सुम्ली पनि स्वास्थ्य संस्था निर्माण भएर सेवा प्रवाहको काम भएको छ।

२ वटा नगरबस सञ्चालनमा ल्याएका छौँ भने अब यो अबमा थप २ वटा बस थप्ने योजनामा रहेका छौँ। पालिकामा अधिकांश दलित समुदायको वर्चश्व भएकाले दलितसम्बन्धी नीति निर्माण गरिएको छ।

अन्तरजातिय बिहे गर्ने जोडिलाई १ लाख दिने निर्णय गरेर सो कामको सुरुवातसमेत भएको छ। नगरपालिका भित्र १ हजार २७६ घरधुरी दलित समुदायको रहेका छन्। पुस्तौँदेखि बस्दै आएका दलित समुदायले संस्कृतिक रुपमा गर्दै आएको कामलाई अझै प्रभावकारी बनाउका लागि नगरपालिकाले सहयोग गर्ने नीति लिएको छ।

बाजागाजा, विभिन्न प्रकारका नाचहरुलाई संरक्षण गर्नका निमित्त दलितसँग नगरप्रमुख कार्यक्रम कोष मार्फत प्रति घर रु २ हजार ५ सय भत्ता दिने निर्णय गरेर कार्यान्वनमा आएको छ। त्यस्तै नगरप्रमुखसँग बालबालिका कार्यक्रममा सञ्चालन गरेर यस नगरपालिका भित्र रहेका ४४ वटा बिद्यालयका अति बिपन्न तथा समस्यमा परेका ७ सय बालबालिकालाई ९कक्षा १ देखि १०० शैक्षिक सामग्री देखि पढाइलाई सघाउ पुग्ने खालको काम कार्यान्वयनमा आएको छ।

त्यस्तै, नगर प्रमुखसँग ज्येष्ठ नागरिक कार्यक्रम सञ्चालन गरेर वृद्ध वृद्धाहरुलाई न्यानो कपडा बल्याङ्गकेट वितरणलगायत जेष्ठ नागरिहरुलाई चस्मा ,हाते आधुनिक लठ्ठी वितरण कार्यक्रम कार्यान्वनमा आएको छ। कृषिमा आत्म निर्भर बनाउका लागि बिउँ वितरणको काम हुँदै आएको छ।

यस्ता खालका कामहरु गर्नका लागि ३० वटा क्याटागोरी बनाएर सोही अनुसार काम भइरहेको छ। एक वर्षमा वर्षमा १ हजार जनालाई रोजगारी दिने योजना तय गरेर काम गरिरहेका छौँ।

नगरपालिकाभित्र सडक सञ्जाल सबै ठाउँमा छ त ?

यो सदरमुकामको पालिकासमेत रहेका कारण कर्णाली राजमार्ग यसैमा जोडिएको छ। हाम्रो नगरपालिकाको मुटु भएर कर्णाली राजमार्गको अधिकांश सडक निर्माण भएको छ। हवाई सेवासमेत हाम्रो पालिकाको ताल्चामा छ। सदरमुकाम भएकाले सबैको ध्यान यहाँ पुग्नु स्वाभाविक पनि छ। पालिकाभित्र १४ वटा वडामा ८७ वटा बस्ती रहेका छन्।

छायाँनाथ रारा नगरपालिका वडा नं ९ को मुर्म , १४ को सुम्लीमा सडक पुगेको छैन। अन्य सबै ठाउँमा सडक पुगेको छ। सडक पुगेको ठाउँमा ग्राबेल तथा कच्ची सडक निर्माण कार्य भइरहेको छ। सडकको पहुँच पुगेकै कारण हामीले २ वटा नगरबस चलाएर यहाँका स्थानीयबासीलाई यातायातमा सहजता ल्याउने काम भएको छ। अहिले यहाँ खास गरी ४ वटा रुट रहेको छ। थप रुटका लागि यो आबमा २ वटा नगरबस थप्ने लागेका छौँ।

सदरमुकाम भित्रको पालिकामा स्वास्थ्य क्षेत्रमा के के भएका छन् ?

प्रदेश सरकारको मताहातमा रहेको एक स्वास्थ्य सेवा कार्यालय, जिल्ला अस्पताल रहेको छ। हाम्रो नगरपालिका भित्र २९ वटा स्वास्थ्य संस्थाहरु रहेका छन्।

१० वटा प्रसूतिगृह रहेका छन्। नगरपालिकाले बोलपत्रमार्फत औषधि खरिद गरेर भारी मात्रामा ठाउँ ठाउँमा औषधि व्यवस्थापन गरिरहेका छ। तर जिल्ला अस्पतालमा डाक्टर नहुने समस्य विद्यमान रहेको छ। प्रदेश सरकारले दक्ष चिकित्सकको व्यवस्थापन नगर्दा भरपर्दो उपचार पाउने अवस्था अझै भइसकेको छैन। हामीले नगरपालिकाबाट जती काम गरेका छौँ , त्यो कामले पक्कै पनि नगरबासीमा राहत नै पुगेको होला भन्ने अपेक्षा छ।

स्वास्थ्यकर्मीहरु समेत नगरपालिका भित्र व्यवस्थापनको पाटो राम्रो नै छ। बिशेष गरी नगरवासीको स्वास्थ्य स्थितीमा सुधार ल्याउन आगामी नयाँ बर्ष २०८१ को सुरुवात वैशाखको पहिलो हप्तादेखि एमडिजिपी चिकित्सकको व्‍यवस्थापनसँगै १० शैयाको नगर अस्पातलको स्थापाना गर्ने लक्ष्यमा छौँ।

पालिकाको सबै ठाउँमा विद्युत् पुगेको छ त ?

जिल्लाका चार पालिकामध्ये हाम्रो पालिकामा मात्र केन्द्रीय प्रशारण लाइन पुगेको छ। सदरमुकाममा केन्द्रीय लाइन बलिरहेको छ। सदरमुकामदेखि बाहिरका पालिकामा अझै केन्द्रीय लाइन पुगेको छैन। जिल्लाका चार पालिकाका प्रमुखसँग प्रदेश र संघ सरकारका प्रतिनिधिसँग छलफल भएको थियो। बाहिरका पालिकाका प्रमुख ज्यूहरुले सोलार माग गर्नुभएको थियो तर मैले सबै ठाउँमा विद्युत नै चाहिन्छ भन्दै आफ्नो माग राखेको छु।

अहिले पनि छायाँनाथ रारा नगरपालिकाको अधिकांश बस्तीमा विद्युतीकरणको ब्यबस्थापन भइसकेको छ। विद्युत नपुगेको छायाँनाथ रारा नगरपालिका वडा नं १०, ११, १२ मा विशेष गरी विद्युतिकरणको लागि लाईन खिच्ने काम भइरहेको छ।

प्रतिव्यक्ति ५ पोका मात्र नुन पाउने दुस्ख कहिले अन्त्य होला ?

नगरवासीका लागि नुनको समस्या छैन। बाहिरका पालिकाका साथीहरुले दुस्ख पाएको अवस्था छ। हामीले त्यसको समाधान गर्न वडा तहबाट पालिकाले रकम तिरिदिने गरी कार्डमार्फत प्रतिमहिना ५ पोका नुन दिने योजना बनाएका छौँ।

पालिकाभित्र पाँच हजार घरमध्ये ४ हजार घरघुरीलाई प्रतिमहिना ५ पोकाका दरले घरघरमा नुन नगरपालिकाले नै किनेर दिने योजनामा कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ। यो काम कार्डका आधारमा हुनेछ। यो सबै काम गरिबसँग नगरप्रमुख कार्यक्रममार्फत हुनेछ।

खाद्य जोखिमको अवस्थालाई सुधार गर्नका लागि के छ योजना ?

बाँझो जग्गा राख्नेलाई कारबाही गर्ने नीति नगरपालिकाले लिएको छ। हामीले सोचलाई गरिब बनाएको अवस्था छ। खेती नगर्नेलाई कारबाही गर्ने नीति कडाइका साथ लिने लिएमा मात्र कृषि क्षेत्रमा सबैको ध्यान जाने देखिन्छ।

स्थानीय रैथानीबाली पर्यप्त रुपमा पाइने गरेको छ। पहिलेभन्दा अहिले कृषि क्षेत्रमा यहाँका स्थानीयबासीहरु लागेको पाइएको छ। कृषकले उत्पादन गरेको खाद्यान्न तथा अन्य मासुजन्य बस्तुलाई बजारीकरण गर्नका लागि हाटबजारको व्यवस्था गरिएको छ।

त्यस्तै बधशाला सञ्चालनमा गर्नका लागि नगरपालिकाले पहलकदमी लिएको छ। सबै कुरालाई व्यवस्थित बनाएर नगरपालिकालाई संमृद्धिको गती हामी अगाडी बढाउछौँ। यो हाम्रो चुनावी प्रतिबद्धता पनि हो।

त्यस्तै, स्थानीय रुपमा उत्पादन भएका सिमी लगायतका अन्य दाल जन्य वस्तुहरु बाहिर जिल्लामा पुर्याउने अभियानमा छौँ। यो कामका लागि सबै तहका सरकारका नीति तथा कार्यक्रमहरु मिलाएर लिएमा काम गर्नसमेत सहज हुनेछ।

संघ र प्रदेशमा पालिकाले सिफारिस गरेका योजना आउँछन् कि आउँदैनन् ?

हामीले बस्तीस्तरदेखि वडा हुँदै पालिकामार्फत छनोट गरेर पठाएका योजनाहरु माथिबाट पठाउने काम हुँदैनन्। माननीय ज्यूहरुले आफू अनुकूलका ठाउँमा योजना पठाउँदा यहाँ समस्या भएको छ। समस्या एकातिर हुन्छ, योजना अर्कैतिर आउँछ।

त्यसैले गर्दा केही समस्या आएका छन्। योजना पठाउँदा समन्वय, सहकार्य लगाएका कामहरु नहुँदा काम गर्न अलि समस्या हुँदै आएको छ। सबैको उद्देश्य भनेको जिल्ला बनाउने नै हो, त्यसकारण हामीले सहकार्यलाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने लाग्छ।

नगरपालिकाको एक मुख दश रूख, अभियान भन्नेछ यसको उद्देश्य खास के हो ?

छायाँनाथ रारा नगरपालिका आफैँमा एक भौगोलिक विकटता भएको नगरपालिका हो। यहाँ भिरालो जमिन छ। बाढी पहिरोको पनि उत्तिकै जोखिम नगरपालिका भएको कारण एक मुख दश रूखको अभियान सञ्चालन गरेर बाढीपहिरो रोकथाम र नगरपालिकालाई हरित गृह नगरपालिका निर्माण गर्न सघाउ पुर्‍याउन यो अवधारण सञ्चालन गरिएको हो। अभियानअन्तर्गत एकजना नगरबासीले दशवटा विरुवा अनिवार्य लगाउनु पर्नेछ।





error: Content is protected !!