काम नगर्ने ठेकेदारलाई ठेक्का माथी ठेक्का

हेमन्त केसी
सुर्खेत, २३ ः माघ ः जाजरकोटका तीन पालिकामा प्रदेश सरकारले निर्माण गर्न लागेका सडक , पुलहरुको ठेक्का लागेको लामो समय भएपनि निर्माण व्यवसायीले काम नगर्दा सर्बसाधारणले हैरानी खेप्नु परेको छ । कति पय ठाउँमा पुल निर्माण नहुँदा मानिसको अकालमै ज्यान समेत गएको छ ।

नलगाड नगरपालिका , जुनिचाँदे गाउँपालिका र छेडागाड नगरपालिकामा नेपाल मेघा सिस्ने जेभीले लिएका ठेक्काहरु अलपत्र परेका हुन् । कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जाजरकोट स्थित पूर्वाधार विकास कार्यालय मार्फत ति ठेक्का गरेका थियो । बहुवर्षे नाम दिइएको उक्त ठेक्काको काम सुरु नै नहुँदा कार्यालय प्रमुख देखि अन्य सरोकारवालालाई टाउको दुखाइको विषय बनेको छ । निर्माण व्यवसायीलाई काम गर्न पटक , पटक कार्यालयले पत्र काटछ , तर निर्माण व्यवसायी हुन्छ , भन्दै काममा अहिले सम्मा नफर्केको वित्तान्त रहेको छ । जाजरकोटमा मात्र तीन वटा ठेक्का अलपत्र पार्ने नेपाल मेघा सिस्ने जेभीले अन्यत्र के गरेको होला खोजिको विषय बनेको छ ।

३ करोड ९८ लाखमा नलगाड नदी माथी नलगाड नगरपालिका–५ सिर्के र बारेकोट गाउँपालिका–८ साघुतरामा पुल अलपत्र परेको छ । जसको अन्तिम सम्झौता मिति समेत ६ महिना अघि समाप्त भइसकेको छ । त्यहाँ अहिले सम्म काम सुरु नै भएको छैन । त्यस्तै छेडागाड नगरपालिकाको साल्म खोलामा रहेको पुल समेत अलपत्र पर्दै आएको छ । ४८ करोड ८० लाख १५ हजार निर्माण हुने उक्त पुलको ठेक्का समेत यही जेभीले लिएको छ । २०७८ साउन २९ मा पुल निर्माणको लागि सम्झौता भएको थियो । पुलको अन्तिम मिति २०८० माघ २८ गते सकिदै छ ।
कामको प्रगती ३ प्रतिशत मात्र भएको पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख सोहिन्दर यादव बताउनुभयो । यो पश्चिम जाजरकोट भित्र पर्ने छेडा –जुम्ला सडकको मुख्य पुल हो । यो पुल निर्माण नहुँदा पश्चिम क्षेत्रको यातायात सेवा प्रभावित हुदै आएको छ ।

म्याद सकिन ८ दिन मात्र बाँकी रहदा निर्माण व्यवसायीले पुल निर्माण तर्फ चासो नै देखाएको छैनन् । कार्यालयले आधा दर्जन पत्र समेत काटिसकेपनि पुल निर्माणको काम अगाडी बढन सकेको छैन । सोही सडक खण्डको छेडा, थालह सनाखोला चाँदे जुम्ला सडक,जुनिचादेमा निर्माण सडक समेत काम नहुँदा अलपत्र पर्दै आएको छ । ३० किलोमिटर सडक निर्माण गर्नुपर्ने भएपनि नेपाल मेघा सिस्नेले काम नगर्दा अलपत्र पर्दै आएको हो । १५ करोड ५२ लाखमा सम्झौता भएको उक्त सडकको अहिले सम्मा २ प्रतिशत मात्र काम भएको छ । यो सडकको अन्तिम मिति २०८२ पुस ४ गते रहेको छ । २०७८ पुस ५ गते सम्झौता भएको थियो । २४ लाख ७१ हजार मात्र यो सडकमा खर्च भएको छ ।

पश्चिम जाजरकोटको पुल र सडकका विकासको बाधकको रुपमा उक्त जेभी देखा परेको स्थानीयबासीहरु बताउँछन् । समयमै काम नगर्दा पश्चिम जाजरकोटको सडक मृत्यु मार्ग जस्तै भएको जुनिचाँदेका रेशम खड्काले बताए । सडक तथा पुल निर्माणको ढिलाइका विषयमा कार्यालयले गरेको ताकेता समेत निर्माण व्यवसायीले नटेर्दा प्रशासनको सहयोग लिनु परेको छ । प्रशासन कार्यालयको पनि जिल्लामा भएका विकास निर्माणका काममा खासै चासो नभएको खडकाले बताउनुभयो । जिल्लाबाट निर्वाचित भएर गएका जनप्रतिनिधिहरु समेत विकास निर्माण हुने गरेको ढिला सुस्तीका विषयमा मुखदर्शक भएको आरोप लाग्दै आएको छ । त्यस्तै बारेकोट गाउँपालिका–२ र ५ को बीचमा रहेको घाट स्थित नलगाड खोलाको पुल निर्माण अलपत्र परेको छ । एक मात्र पिल्लर उठाएर बीचमा काम रोखिएको छ ।
नारायनम निर्माण सेवा नेपालगन्ज १८ बाँकेले लिएको उक्त पुलको काम ४ करोड ६५ लाख ४ हजार८५२ मा लिएको थियो । २०७९ जेठ २३ गते सम्झौता भएको उक्त पुलको २०८० मंसिर सकिएर पुन म्याद थपेर २०८१ मंसिर २२ बनाएको छ । १ करोड ४० लाख ४ हजार ९११ रुपैयाँ निर्माण व्यवसायीले भुक्तानी लिएको कार्यालयले जनाएको छ । ३० प्रतिशत काम भएको कार्यालयले जनाएको छ । सुरुमा काम राम्रो गरेका भएपनि पछिल्लो समय काम बीचमै छाडेर सम्पर्कमा आउन छाडेको कार्यालय प्रमुख यादवले बताउनुभयो । पटक ,पटक पत्र काटेर छलफलमा आइ , काममा लाग्न आग्रह गरिएपनि निर्माण व्यवसायीले नसुनेको उनको गुनासो छ । निर्माण व्यवसायीसँग हामीले सम्पर्क गर्न खोज्दा फोन नै नउठदा प्रतिक्रिया लिन सकिएन ।

जिल्लाका यसरी विकास निर्माणको काम अलपत्र पर्दा सम्म यहाँका जनप्रतिनिधिहरु साना गोष्टी ,सभा र उद्घाटनका कार्यक्रममा रमाइरहेको आरोप स्थानीयबासीले लगाउदै आएका छन् । जिल्ला भएका सबै खालका बेथितीका विषयमा कोही पनि बोल्ने आट नगर्ने स्थिती किन आयो नेकपा एसका जाजरकोट अध्यक्ष कमानबहादुर खडकाले बताउनुहुन्छ । जत्ता हेरेपनि चित्त बुझाउने ठाउँ छैन , उनले भने । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी हरिश्चन्द्र शर्माले गुनासो आएपछि मात्र छलफल हुने गरेको बताए । गुनासो नआउदा सम्म त के नै थाहा हुन्छ र उहाँले भन्नुभयो ।

 




सम्बन्धित समाचार


error: Content is protected !!