पक्की पुल अलपत्र परेको ठाउँमा बेलिब्रिज निर्माण गरिने ः खारामा कहिले होला पक्की पुल ?

सुर्खेत , २२ माघः जाजरकोटको नलगाड जलविद्युत आयोजनाको पहुँच मार्गमा ९ वर्ष देखि पुल अलपत्र परेपछि नयाँ बेलिब्रिज पुल निर्माण गर्न थालिएको छ । त्यस्तै छेडागाड नगरपालिकाको मनघाट स्थित छेडाखोलामा पनि बेलिब्रिज पुल निर्माण गर्न पहल थालिएको छ ।

नलगाड नगरपालिका–५ र बारेकोट –८ को बीचमा रहेको खारामा छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले पक्की पुल निर्माण गर्नका लागि लिइएको ठेक्काको पुल लामो समय देखि निर्माण नभएपछि उक्त ठाउँमा बेलिब्रिज निर्माण गरि तत्काल समस्य हल गर्न पहल थालिएको पूर्व जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । त्यस्तै पश्चिम जाजरकोटको लाइफ लाइन सडक भित्र पर्ने छेडागाड नगरपालिकाको प्रशासकीय केन्द्र मनघाटमा पुल नहुँदा परेको समस्य हल गर्न बेलिब्रिजकै सहारा लिइएको छ ।

छेडागाड नगरपालिका–१२ र ५ को बीचमा रहेको छेडाखोलामा पुल निर्माण गरि मनघाट जान र आउनका लागि पनि बेलिब्रिज बनाउन लागिएको हो । मनघाट छेडागाड नगरपालिकाको केन्द्र पनि हो। यी दुई पुलको सामान कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले सोमबार बुझेका छन् । अब ती सामान सम्बन्धित क्षेत्रमा पु¥याएर जडान गर्नका लागि बाटो खुलेको छ । ३ महिनाभित्र पुल दुइ ठाउँमा जोडनका लागि काम हुने मन्त्री सिंहले बताए ।

संघीय सरकारले उपलब्ध गराएको यी दुई थान पुलको सामान सडक डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख इन्जिनियर निरज शाक्यले मन्त्री सिंहलाई हस्तान्तरण गरेका छन् । संघीय सरकारले उपलब्ध गराएको उक्त बेलिब्रिज पुलका सामान प्रदेश सरकारले जडानको जिम्मेवारी लिएको छ । यी दुई स्थानमा पक्की पुल बनेपछि बेलिब्रिज सडक डिभिजनलाई नै फिर्ता गर्ने सहमति रहेको छ ।

यी दुई स्थानमा पुल नहुँदा परेको समस्याबारे यहाँका स्थानीयबासीले उर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई ज्ञापन पत्र समेत बुझाएका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बस्नेतले पूल निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अनुरोध गरेपछि तत्काल दुइ ठाउँमा बेलिब्रिज पुल बन्ने भएका हुन् । खारामा अहिले अस्थायी रुपमा काठहरु नलगाड खोला माथी राखेर यातायातका साधनहरु सञ्चालन गरिर्दै आएको छ । स्थानीय यातायात व्यवसायीले आफ्नै लगानीमा काठ राखेर सवारीसाधनहरु तार्ने काम गर्दै आएका छन् ।

हिउँद याममा मात्र उक्त ठाउँमा काठको लाप्को प्रयोग हुन्छ भने वर्षायाममा खारामा यातायात सेवा बिच्छेद हुँदै आएको छ । संघ सरकारले उपलब्ध गराएको बेलिब्रिज पुल प्रदेश सरकारले ढुवानी तथा जडानको काम गर्ने योजना रहेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!