रारा ताल पुगे ३९२ साइबेरियन चरा

सागर परियार
जुम्ला ः नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा रहेको मुगुस्थित रारा तालमा छ महिनामा मात्रै ६ हजार भन्दा बढी पर्यटक पुगेका छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्म रारामा ६ हजार ५५७ जना आन्तरिक र १५६ जना बाह्य गरी ६ हजार ७१३ जना पर्यटकले अवलोकन गरेका हुन् ।

सडक समस्या तथा होटलबास अभावकै बीच पनि रारामा पर्यटकको संख्या बढ्दो मात्रामा छ । पर्यटन पूर्वाधार अभाव भएपनि रारामा पर्यटकको आगमन बढ्दै गएको छ । विश्वकै उत्कृष्ट पर्यटन गन्तव्यका रुपमा रहेको रारा पर्यटकका लागि मात्रै आर्कषणको केन्द्र छैन । रारा ताल चराचुरुङगीका लागि पनि आर्कषण गन्तव्य बनेको छ ।

रारा तालमा हरेक पुस र माघमा सयौंको संख्यामा साइबेरियन चरा पुग्ने गरेका छन् । अत्यधिक चिसोका कारण साइबेरियाबाट चिसो छल्न विभिन्न प्रजातिका चरा रारा पुग्छन् । रारा पुगेका चराको रारा राष्ट्रिय निकुञ्जले गणना गर्ने गरेको छ । विभिन्न रंग बदलेर पर्यटकलाई मनमोहक पार्ने राराको सुन्दरतामा साइबेरियन चराको आगमन पनि थप आनन्द लिने माध्यम बनेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत राजु घिमिरेले बताए ।

रारा पुगे ३९२ साइबेरियन चरा
नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा तालमा ३९२ वटा साइबेरियन चरा पुगेका छन् । साइबेरियाबाट चिसो छल्न ३९२ वटा चरा तालमा पुगेको निकुञ्ज कार्यालयका संरक्षण अधिकृत घिमिरेले बताए । निकुञ्जमा रहेका नेपाली सेनासहितका २४ जना जनशक्तिले चरा गणना गरिएको थियो । ‘चरालाई ‘ए’ देखि ‘डी’ ग्रुपमा विभाजन गरी गणना गरेका थियौं’ उनले भने, ‘३९२ वटा विभिन्न प्रजातिका चरा आएका छन् ।’

मरुल १७८ वटा, कालीजुरे हाँस ८१ वटा, हरियो टाउके हाँस १ वटा, खोया हाँस ३ वटा, सुनजुरे हाँस ११७ वटा र सिउरे डुबुल्की चरा १२ वटा गरी जम्मा ३९२ वटा साइबेरियन चरा रारा पुगेको निकुञ्ज प्रमुख घिमिरेले जानकारी दिए । उनका अनुसार रारा ताल दिउँदको समयमा पर्यटकसँगै चराका लागि पनि उत्कृष्ट गन्तव्य बनेको छ । साइबेरियामा नेपालका हिमाली जिल्ला भन्दा अत्यधिक चिसो हुने भएपछि प्राय हिउँदमा विभिन्न प्रजातिका चरा रारा आउने गरेका छन् ।

विगतको तुलनामा यो वर्ष धेरै संख्यामा चरा आएका हुन् । ५ किमी लम्बाई र ३ किमी चौडाइमा फैलिएको रारामा बाह्रै महिना पर्यटक पुग्ने गरेपनि पूर्वाधार अभावका कारण अपेक्षित पर्यटकको आगमनमा वृद्धि हुन सकेको छैन । सन् २०१२ मा पहिलो पटक रारा तालमा वरपर २७२ प्रजातिका चरा रहेको रेकर्डमा उल्लेख छ । जसमा ४९ प्रजातिका जल पन्छी छन् । पर्यटकको आर्कषण केन्द्र भएपनि पंछीका लागि रारा ताल आश्रय स्थलका रुपमा रहेको छ ।





error: Content is protected !!