‘सौन्दर्य बिग्रिने भ्रमले छोराछोरीलाई पूर्ण स्तनपान गराउँदैनन् शहरी क्षेत्रका आमा’

सविना खनाल

काठमाडौं ः नेपालमा पढे लेखेका तथा उच्च आय भएका परिवारका महिलाले नै स्तनपान नगराउने गरेको पाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको पोषण शाखाका अनुसार पछिल्ला वर्षमा नेपालमा नेपालमा पढे लेखेका तथा उच्च आय भएका परिवारका महिलाले नै बच्चा जन्मिसकेको एक घण्टादेखि दुई वर्षसम्म स्तनपान नगराउने पाइएको हो।

पोषण शाखाका प्रमुख लिलाविक्रम थापाका अनुसार पछिल्लो विवरण अनुसार नेपालमा कुनै पनि औपचारिक शिक्षा नभएका ५९ प्रतिशत आमाहरूले पूर्ण स्तनपान गराउदा आधारभूत मात्रै शिक्षा लिएका ६१ प्रतिशत आमाले स्तनपान गराउने गरेका छन्।

तर माध्यामिक तहको शिक्षा लिएका आमामध्ये जम्मा ५३ प्रतिशतले मात्रै पूर्ण स्तनपान गराउने गरेको देखिएको छ। ‘ स्वास्थ्यको अन्य सूचकमा अशिक्षित भन्दा शिक्षितहरुको चेतना राम्रो भएको पाइन्छ तर नवजात शिशुदेखि २ वर्षसम्मका बालबालिकहरुलाई स्तनपान गराउने मामिलामा भने साक्षर भन्दा कम साक्षर आमाले आफ्ना बालबालिकालाई पूर्ण स्तनपान गराएको पाइएको छ’,पोषण शाखा प्रमुख थापाले भने।

यसरी पूर्ण स्तनपान नगराउनेमा धेरैजसो जागिरे आमा रहेको समेत उनको भनाइ छ। यस्तै आर्थिक रूपमा हेर्ने हो भने पनि न्यून आय भएका भन्दा मध्यम तथा उच्च आय भएका आमाले स्तनपान नगराउने पाइएको छ। मन्त्रालयको विवरण अनुसार न्यून आय भएका आमाले ६४ प्रतिशत स्तनपान गराउँछन्। यस्तै मध्यम आय भएकाले ५८ प्रतिशत पूर्ण स्तनपान गराउने गरेको पाइएको छ तर उच्च आए भएका ४४ प्रतिशत आमाले पूर्ण स्तनपान नगराउने गरेको पाइएको छ।

‘आर्थिक रूपमा हेर्ने हो भने पनि न्यून भन्दा उच्च आय भएका आमाले पूर्ण स्तनपान नगराउने पाइएको छ’,पोषणा शाखा प्रमुख थापाले भने, ‘यस्ता आमाहरुले फर्कुला मिल्क खुवाउने गरेको पाइएको छ, जसले गर्दा बालबालिकामा कुपोषणको समस्या बढेको छ।’

यस्तै नेपालमा जागिरे आमाहरुलाई बच्चा जन्माइसके पछि नियमित स्तनपान गर्न भन्दै ९८ दिन सुत्केरी बिदा दिने गरिए पनि धेरै संघसंस्थामा कार्यान्वयन नहुँदा समस्या भएको समेत थापाको भनाइ छ।

लुम्बिनी र बागमती प्रदेशमा पूर्ण स्तनपानको दर एकदमै न्यून

यति मात्रै होइन ग्रामीणभन्दा शहरी क्षेत्रमा बसोबास गर्ने आमाले पनि पूर्ण स्तनपान नगराउने गरेको पाइएको छ। अझै प्रदेश स्तरमा हेर्ने हो भने त संघीय राजधानी भएको बागमती र लुम्बिनी प्रदेशमा पूर्ण स्तपानको दर एकदमै कम रहेको छ। प्रदेशस्तरमा हेर्दा कोशी प्रदेशमा पूर्ण स्तनपानको दर ५३ प्रतिशत, मधेश प्रदेशमा ६५ प्रतिशत, बागमती प्रदेशमा ४३ प्रतिशत, गण्डकी प्रदेशमा ६४ प्रतिशत, लुम्बिनी प्रदेशमा ३६ प्रतिशत कर्णाली प्रदेशमा ७४ र सुदूरपश्चिम प्रदेशमा पनि ७४ प्रतिशत छ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण ९एनडीएचएस० २०२२ ले विगत पाँच वर्षमा पूर्ण स्तनपान गराउने आमाको संख्यामा १० प्रतिशतले कमी आएको देखाएको थियो। सन् २०१६ को एनडीएचएस प्रतिवेदनमा नेपालमा पूर्ण स्तनपान गराउने आमाको प्रतिशत ६६ प्रतिशत रहेको उल्लेख थियो।

चिकित्सक तथा स्वास्थ्यकर्मीले बच्चालाई जन्मेदेखि ६ महिना नलागेसम्म आमाको दूधबाहेक अन्य केही कुरा नखुवाउन अर्थात् पूर्ण रूपमा स्तनपान गराउन सुझाव गरेका छन्।

शिक्षित र शहरी क्षेत्रका आमाले नै स्तपान गराउने दर घट्दै जादा बालबालिकामा पोषण कम हुँदा उनीहरूको वृद्धिविकास नै कम हुने मात्रै होइन स्वयं आमाको स्वास्थ्यमा समेत असर गर्ने दर बढ्दै गएको बताउँछन्, थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा। शैलेन्द्र्विक्रम कर्माचार्य। उनका अनुसार नेपालमा अशिक्षित भन्दा शिक्षित आमाले स्तनपान नगराउनुको प्रमुख कारण ‘शारीरिक बनावट बिग्रिने’ भन्ने भ्रमले गर्दा हो।

‘स्तनपान गराउदा शारीरिक संरचना बिग्रिने जस्ता भ्रमले आजभोलि आमाले कम स्तनपान गराउँछन्। तर बुझ्नु पर्ने कुरा के हो भने बच्चा जन्मेदेखि दुई वर्षसम्म नियमित स्तनपान गराउने आमाको शरीर झन् स्वस्थ रहन्छ’, उनी भन्छन्, ‘नियमित स्तनपान गराउने आमामा भविष्यमा डिम्बासयको समस्या देखिने सम्भावना एकदमै कम हुन्छ।’

बाल्यकालमा आमाको दूध पर्याप्त खान नपाएका शिशुमा बाल्यकालमा शुरू हुने प्रकृतिको मधुमेहको सम्भावना रहन्छ। उनीहरूमा अपेक्षाकृत वृद्धि विकाससमेत नहुने हुन्छ। यदि बच्चा महिना नपुगी जन्मेको छ भने ‘नेक्रोटाइजिङ एन्टोरोकोलाइटिस’ जस्तो घातक रोगसमेत हुनसक्छ। त्यसैले ६ देखि ८ महिनासम्म शिशुका लागि आमाको दूध उत्तम मात्र हैन, यी जीवनरक्षक आहार हो।





error: Content is protected !!