भूकम्प पीडित त्रिपालमै हैरानी ः दुइ पालिकामा दिने रकम नै पुगेन

हेमन्त केसी
सुर्खेत , ३० मंसिर ः कात्तिक १७ गते मध्य रात गएको भूकम्पले नलगाड नगरपालिका –८ कोरिन्चेका मनबहादुर खत्रीको घरको आधा भाग भत्किएको छ । घरको आधा भाग भत्किएपनि जोखिम मोलेर पशुचौपाय देखि केही घरियासी सामानहरु घरभित्र राख्ने गरिएको छ । परिबारका सदस्यहरु खुल्ला ठाउँमा त्रिपाल टाँगेर बसीरहेका छन् ।

बिभिन्न निकायबाट प्राप्त १ थान त्रिपाल र घरमै रहेको कपडाको सहारामा यो परिवारले खुल्ला आकाशमा चिसो तथा अभावसँग संर्घष गरिरहेको छ । खत्रीको आधा घर भत्किएर त्यहाँ रहेका काठ देखि अन्य सामान निकाल्न १ लाख भन्दा बढी खर्च हुने अनुमान छ । भिरालो जमिन भएका कारण अन्य ठाउँमा अस्थायी टहरान निर्माण गर्नका लागि प्रयाप्त ठाउँ पनि छैन उहाँले भन्नुभयो । नयाँ अस्थायी आवास निर्माण गर्न भन्दा भूकम्पबाट छिया,छिया भएको घरबाट सामान निकाल्न बढी रकम खर्च हुने भएपछि खत्री परिवार चिन्तित भएको छ । अस्थायी आवास निर्माण गर्नका लागि खत्रीको खातामा अहिले सम्म रकम समेत आएको छैन् । राज्यले पठाउने भनेको रकम देखि अन्य प्रहरी ,सेना कोही पनि त्यहाँ केही पनि पुगेको छैन ।

त्रिपालमा दैनिक सुत्ने देखि खाना पकाउने गर्दा स्वास्थ्यमा गम्भिर असरहरु सर्बसाधारणहरुमा देखा पर्न थालेका छन् । परिबारका ठुला व्यक्ति घर नहुँदा त्रिपालमा आगलागीको समस्य उत्तिकै रहेको खत्रीको भनाई छ । अस्थायी टहरा निर्माण देखि घर पन्छाउने कार्य एकै पटक गर्नुपर्दा ठुलो समस्य निम्तिएको भूकम्प पीडितहरु बताउँछन् । भारत लगाएतका अन्य मूलुकमा गएर कमाइ गरेर परिबारका भारी समस्यहरु टार्ने यहाँका सर्वसाधारणहरु अहिले अस्थायी आवास देखि भत्किएका संरचना हटाउन समय खर्चिनु पर्दा आर्थिक उपार्जनको समय चौपट भएको छ । कमाएर परिबारको समस्य हल गर्ने समयमा अर्को तीर समय खर्चिनु पर्दा यहाँका भूकम्प पीडितहरु खाद्यान्न देखि अन्य घरको समस्य कसरी हल गर्ने भन्दै चिन्तामा रहेका छन् ।

  

आफ्नै खेतबारीमा उत्पादन हुने अन्नले ४ महिना खाना नपुग्ने सर्बसाधारणलाई आर्थिक रुपमा बलियो हुने समय नपाउदा अब कसरी परिबारका समस्य हुल गर्ने भन्दै चिन्तामा परेको बारेकोट गाउँपालिका –१ सिल्र्पाचौरका कालीबहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो ,‘ यत्ता घर भत्किएका छन् , उत्ता त्रिपालमा बस्नु परेको छ । छोराछोरीले विद्यालयमा पढन जाँदा समेत त्रिपालमै बसेर पढनु परेको छ । बाबा , हाम्रो घर कहिले बनाउने भन्दै छोरा,छोरीले हजार पटक प्रश्न गर्छन् ? अब के उत्तर दिनु ।’

बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरी भन्नुहुन्छ , ‘ बारेकोटमा प्रयाप्त मात्रामा राहत सामग्री नआउदा हैरान खोजेका छौँ । दाताहरु पनि जहाँ सजिलो छ , त्यहाँ पनि पुगेको हामीलाई अनूभुती भएको छ । विद्यालय सञ्चालन गर्नका लागि त्रिपाल आएको छ तर त्यसलाई जोडने कुनै पनि सामग्री आएको छैन । विद्यार्थीहरु भित्र बस्नका लागि कुनै सामग्री समेत उपलब्ध गराएको छैन । खुल्ला आकाशमै विद्यालय सञ्चालन गर्नुपरेको छ । वर्षायाम सम्म ठुलो विपती आउने सम्भावना मैले देखेको छु । ’ उत्ता नलगाड नगरपालिकामा अहिले सम्म अस्थायी आवास निर्माण गर्नका लागि बजेट पुगेको छैन । जिल्ला प्रशासन कार्यालयले रकम नभएको भन्दै बजेट निकासा नगरेको हो । त्यस्तै जुनिचाँदे गाउँपालिकामा पनि रकम निकासा पठाएको छैन ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी हरिश्चन्द्र शर्माका अनुसार भेरी नगरपालिकामा २ हजार ५४९ परिबार , नलगाड नगरपालिकामा ८ हजार ९७ , छेडागाड नगरपालिकामा ३ हजार ६६४ , बारेकोटमा ५ हजार ५८६ परिबार , कुशेमा ५ हजार २८६ , जुनिचाँदेमा २ हजार ५३६ , शिवालयमा ३ हजार ३०९ गरि जम्मा ३१ हजार ५५ घर परिबारले अस्थायी आवास निर्माण गर्नका लागि छनोट भएका छन् ।

अहिले सम्म अस्थायी आवास निर्माणका लागि भेरी नगरपालिकामा ६ करोड ३७ लाख २५ हजार , ९ करोड १६ लाख , बारेकोटमा १३ करोड ९६ लाख ५० हजार , कुशेमा १३ करोड २१ लाख ७५ हजार , शिवालयमा ८ करोड २७ लाख २५ हजार पठाएको छ । नलगाड नगरपालिका र जुनिचाँदे गाउँपालिकामा रकम अभावका कारण अहिले सम्म पठाउन सकिएको छैन ।

अहिले सम्म १ हजार ६२ वटा मात्र अस्थायी आवास निर्माण भएको सूचना अधिकारी शर्माले जानकारी दिनुभयो । दुइ पालिकामा रकम अभावका कारण अहिले तत्काल ५० करोड मागेर पठाएको शर्माले जानकारी दिनुभयो । भेरीमा ६४ वटा , नलगाडमा ८०० , बारेकोटमा १५० , कुशेमा ३० , जुनिचाँदेमा १८ वटा आवास निर्माण भएको पाइएको छ । भेरीमा १३१ जनालाई मात्र रकम पठाएको छ भने बारेकोटमा ९३ जनालाई पठाएको छ । हाल सम्म २२४ जना भूकम्प पीडितलाई अस्थायी आवास निर्माण गर्नका लागि रकम पठाएको छ ।
सुरुमा बिभिन्न सहयोगी निकायहरु सहयोगका लागि आएपनि अहिले पछिल्लो समय दात्ताहरु पनि बिस्तारै कम हुदै गएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो । संघ ,संस्थाहरुले मनपरी तरिकाले काम गरिरहेको समेत उहाँले आरोप लगाउनुभयो । आफूले तोकिएकै ठाउँमा मात्र जान जोड बल गर्ने अन्यत्र जान मन नगर्दा समस्य भएको उहाँको भनाई छ । दैनिक भूकम्प पीडितहरु बिरामी पर्ने देखि मृत्यु सम्म हुने संख्य बढेको छ । औषधि देखि स्वास्थ्यकर्मीको समेत अभाव हुँदै गएको पालिकाले बताएका छन् । भारी मात्रामा बिरामीको संख्य बढीरहेको छ ।
हेमन्त केसी





error: Content is protected !!