ओलीमाथि आक्रमण प्रकरण ः प्रहरीले रोक्न खोज्दा खोज्दै भीडमा छिरे, मुक्काले हान्ने प्रयास
धनकुटा ः मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका छन् ।
भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो । उनीमाथि लेगुवाकै महेश राईले मुक्का हानेका हुन् । ओलीको स्वागतमा लाइनमा बसेकाहरुकोबीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर मुक्का प्रहार गरेका हुन् ।
एक मुक्का हानेपछि राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरुले उनलाई समातेका थिए । मुक्का हान्ने राईलाई प्रहरीले पक्राउ गरेको छ । उनले मुक्का हान्नुको कारण खुलेको छैन ।
तर कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाले राईले मादक पदार्थ सेवन गरेको पाइएको बताए ।
उनले पूर्वप्रधानमन्त्री ओलीलाई उनले छुन नपाएको समेत बताए । बाँस्तोलाले दाबी गरे, ‘उनको मुक्का हान्ने नियत देखिँदैन, मापसे गरेर त्यस्तो गरेको देखिन्छ ।’