गृहमन्त्री श्रेष्ठ पुगे बेइजिङ

बेइजिङ ः चीनको भ्रमणमा रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठ गएराति राजधानी बेइजिङ आइपुगेका छन्। बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चीनको पर्यावरण तथा वातावरण मन्त्रालयका उच्च अधिकारी चू यूउनले स्वागत गरे।

श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवं चिनिया कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा आएका हुन्।

मंगलबार उपप्रधानमन्त्री श्रेष्ठ र चीनको सार्वजनिक सुरक्षामन्त्री वाङबीचमा द्विपक्षीय सहयोग र सम्बन्धबारे छलफल हुनेछ। वाङ चिनियाँ कम्युनिष्ट पार्टीको सचिवालयलय सदस्य तथा स्टेट काउन्सिलर हुन्। उपप्रधानमन्त्री श्रेष्ठ आजै चिनिया राष्ट्रपति सी चीनफिङले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन्।

भ्रमणका क्रममा मन्त्री श्रेष्ठ यहाँ आयोजना हुने ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन’मा सहभागी हुनेछन्। उनले बुधबार आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यतालिका छ।

यसैगरी चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका आपत्कालीन व्यवस्थापनमन्त्री वाङ सियाङ्सीबीच द्विपक्षीय भेटवार्ता हुनेछ। त्यहाँ रहँदा उनले प्रकोप जोखिम अवलोकन तथा पूर्वसूचना केन्द्र र आपत्कालीन ‘कमाण्ड सेन्टर’को अवलोकन गर्ने कार्यक्रम छ।





error: Content is protected !!