स्थानीयले चन्दा संकलन गरेर बनाए तुइन

सल्यान — सल्यानको बन्गाडकुपिण्डे–२ का बासिन्दाले चन्दा संकलन गरेर तुइन हालेका छन् । डेढ लाख रुपैयाँको लगानीमा दुई महिनाअघि तुइन निर्माण गरिएको हो । प्रतिपरिवार २ हजारदेखि १५ हजार रुपैयाँसम्म उठाइएको थियो । ‘तुइनले केही हदसम्म सजिलो त भयो,’ स्थानीय मानबहादुर घर्तीले भने, ‘तर तुइनबाट खस्ने हुन् कि भन्ने डरले १२/१३ वर्षका बालबालिकालाई विद्यालय पठाउन सकेका छैनौं, ठूलालाई नै तुइनमा जोखिम छ ।’
कुनिकमा आधारभूत विद्यालय मात्र भएकाले झन्डै ३ दर्जन बालबालिका जाजरकोटको भेरी नगरपालिकास्थित खारा र भुरचौर बजारका दुई माध्यमिक विद्यालय जान्छन् । स्थानीयले भुरचौर बजारबाटै दैनिक उपभोग्य सामग्री खरिद गर्छन् भने उपचारका लागि पनि त्यहीं जान बाध्य छन् ।
तुइन पनि नहुँदा विगतमा स्थानीय बासिन्दा गाडीको ट्युब प्रयोग गरी भेरी नदी वारपार गर्न बाध्य थिए । स्थानीय डिल्ली घर्ती १ सय २५ मिटर लामो तुइनबाट तर्न १५ मिनेटभन्दा बढी समय लाग्ने बताउँछन् । ‘दूरी लामो भएकाले आफैं डोरी तान्दा हातमा चोटपटक लाग्ने जोखिम उत्तिकै छ,’ उनले भने, ‘मान्छे त जसोतसो वारपार गर्छौं तर सामान ढुवानी गर्न मुस्किल नै छ ।’
हरेक निर्वाचनमा यहाँका उम्मेदवारले पुल बनाइदिने भन्दै भोट माग्न बिर्संदैनन् । ‘तर जितेर गएपछि वाचा भुल्छन्,’ घर्तीले दुखेसो गरे, ‘हामीलाई भने सधैं सास्ती छ ।’ उनका अनुसार बन्गाडकुपिन्डे–२ कुनिक, बामे, लाखर, राइरा र जाजरकोटको भेरीगंगा नगरपालिकास्थित खाराका झन्डै ६० परिवारलाई आउजाउ गर्न तुइनकै भर पर्नुपर्ने बाध्यता छ ।










