धार्मिक पर्यटन प्रवर्द्धन गर्न सिंजा केदारनाथ महोत्सव सुरु

जुम्ला — जुम्लाको धार्मिक पर्यटन प्रवर्द्धन गर्न सिंजा केदारनाथ महोत्सव सुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त महोत्सवको उद्घाटन कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री भीमप्रसाद शर्माले गरेका छन् ।
मन्त्री शर्माले जुम्ला धार्मिक पर्यटनको गन्तव्य भएकोले संरक्षण र प्रवर्द्धनका कर्णाली प्रदेश सरकारले जोड दिने बताए ।
‘सिंजा खसभाषाको उद्गम स्थल हो । आफ्नै भाषा संस्कृति र धार्मिक रितिरिवाज छन् । तिनीहरुको उचित संरक्षण प्रवर्द्धन र व्यापक प्रचारप्रसारले मात्र आन्तरिक तथा बाहृय पर्यटकहरु भित्र्याउन सकिने अवस्था रहन्छ । जसका लागि कर्णाली प्रदेश सरकार सदैव सकरात्मक भएर हातेमालो गर्न तयार छ,’ मन्त्री शर्माले भने ।
महोत्सवमा कर्णालीका उद्योग वन तथा पर्यटनमन्त्री कृष्ण जिसीसमेत सहभागी थिए । केदारनाथलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन पहल गर्ने उनले बताए ।
ुसाउन पूर्णी, एकादशी केदारनाथको मेला, भारा न्हान्य, गौजो काट्ने बर माग्ने मेलाु मूल नाराका साथ सिंजा गाउँपालिका–४ बारेगाउँ नजिकैको केदारनाथ मन्दिरमा महोत्सव सुरु भएको हो ।
महोत्सोवमा जुम्लामै उत्पादित स्याउका स्टलहरु राखिएको छ । सिमी, राडीपाखीहरु, पुर्खाहरुले प्रयोग गर्ने विभिन्न काष्ठकलाका सामग्रीसमेत महोत्सवको आकर्षक वस्तु हुनेछन् । महोत्सवमा सिंजाका गाउँगाउँबाट मानिसहरु आएका छन् । पहिलो दिन पञ्जेवाजाको प्रस्तुतिसहित स्थानीय झाँकीसमेत प्रदर्शन गरिएको थियो । साथै काठेपिङहरु लगाएर महोत्सवमा रमाइलो गरिएको सिंजा गाउँपालिकाले जनाएको छ ।
पहिलो दिन झण्डै ५ हजारको हाराहारीमा मानिसहरुले अवलोकन गरेको बताइएको छ । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले पनि प्रस्तुति दिएका थिए । महोत्सवमा रैथानेबालीबाट बनेका परिकार पनि बिक्रीका लागि राखिएको स्थानीय उमेश बुढाले बताए ।
यसैबीच सिंजा गाउँपालिकाले महोत्सव संचालन गर्न भन्दै आइतबार सार्वजनिक बिदा दिएको छ । महोत्सवले ओझेलमा परेको केदारनाथ मन्दिरको उजागर गर्ने पालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने, ‘केदारनाथको ऐतिहासिक तथा धार्मिक महत्त्व छ । तर उचित प्रचारप्रसारको अभावमा सधैँ ओझेलमा परिरहेको छ । महोत्सवको आयोजनाले यो स्थानलाई धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्य राखिएको छ ।’
जुम्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरु भने महोत्सवमा सहभागी भएका छैनन् । गाउँपालिकाले प्रदेश तथा प्रतिनिधिसभाका सांसदहरुलाई निम्तो दिए पनि उनीहरू उपस्थित भएनन् । महोत्सवको अवसरमा खस पात्रोसमेत सार्वजनिक गरिएको थियो ।








