तस्करबाट बरामद सुन गालिँदै

काठमाडौँ — चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ब्रेक सुबाट बरामद गरिएको सुन मंगलबार गालिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले तस्करीको उक्त सुन सोमबार तौलँदा ६० केजी ७ सय ८९ ग्राम रहेको पाइएको थियो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), राजस्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय र नेपाल राष्ट्र बैंक टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सोमबार बरामद ब्रेक सुबाट सुन निकालेर जोखिएको थियो । मंगलबार उक्त सुनलाई गालेर विभिन्न तौलका टुक्रा बनाइँदै छ । सुनमा कालो रङ लगाइएकाले त्यसलाई पनि हटाइँदै छ । यसकारण सुनको वास्तविक परिमाण गालेपछि मात्र थाहा हुने टक्सार कार्यालयले जनाएको छ । सुन गाल्दा विभिन्न परिमाणका साँचोमा राखिने भएकाले सुनका टुक्रा कति तौलका हुन्छन् भन्ने पनि मंगलबार ९सुन गालेपछि० मात्र जानकारी हुने टक्सार महाशाखाले जनाएको छ ।

राजस्व अनुसन्धान विभागले सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो । सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ । सोही क्रममा सीआईबीले सुनको परिमाण जोख्ने र त्यसलाई गाल्ने जिम्मा नेपाल राष्ट्र बैंकको टक्सार विभागलाई दिएको थियो । टक्सार विभागले आइतबार साँझ सीआईबीको पत्र प्राप्त गरेको थियो । सोही पत्रका आधारमा सोमबार ब्रेक सुबाट सुन निकालिएको र मंगलबार गालिएको हो ।

हङकङबाट गत असार २९ गते ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरिसकेको तस्करीको सुन सिनामंगल सडकबाट राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले बरामद गरेको थियो । १ सय ६० वटा ब्रेक सु बरामद भएकोमा त्यसभित्र लुकाइएको सुनको परिमाण भने करिब ६१ केजी रहेको पाइएको हो ।

सुरुमा दुई जनालाई सुनसहित पक्राउ गरेकोमा त्यसपछि भन्सारका अधिकृतसहित ३ कर्मचारी, ३ विदेशी नागरिक र ४ जना भन्सार एजेन्टसहित १८ जनालाई पक्राउ गरिएको थियो । त्यसमध्ये १७ जना हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् भने एक जनालाई हाजिरी जमानतमा रिहा गरिएको छ । यही प्रकरणमा पक्राउ परेका दुई चिनियाँ र भारतीय राहदानीवाहक अर्का एक जनालाई पक्राउ गरिए पनि हाजिरी जमानतमा छाडिएको थियो । कान्तिपुर





error: Content is protected !!