रुकुम पश्चिम कांग्रेसमा प्रतिनिधि चयन, असन्तुष्ट पक्षले उठायो प्रश्न

हेमन्त केसी
सुर्खेत, १३ असोज ः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुकुम पश्चिमबाट ३३ जना महाधिवेशन प्रतिनिधि तथा प्रदेशसभा ‘क’ र ‘ख’का क्षेत्रीय सभापति सर्वसम्मत निर्वाचित भएका छन्। प्रतिनिधि चयनपछि भने पार्टीभित्रै असन्तुष्टिका आवाज सार्वजनिक भएका छन्।
३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित
जिल्ला निर्वाचन अधिकृतको कार्यालयले सोमबार राति सार्वजनिक गरेको सूचनाअनुसार रुकुम पश्चिमबाट ३३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत निर्वाचित भएका हुन्।
निर्वाचन अधिकृत किशोर पौडेलका अनुसार खुला महिलातर्फ मिठ्ठु मल्ल, सीता ओली, लेखमाया केसी र बालकुमारी गिरी निर्वाचित हुनुभएको छ।
खुला पुरुषतर्फ प्रेमप्रकाश ओली, गोपालजी जंग शाह, कृष्णबहादुर रोकाय, खड्कबहादुर डाँगी, महेन्द्र केसी, राजु केसी, डा। दीपक पुन, कालुराम खड्का , कमलकुमार शाह र गोरखप्रसाद चन्द निर्वाचित हुनुभएको छ।
पेशागततर्फ हरिचन्द्र शाह, युवा महिलातर्फ रेखा मल्ल, युवा खुलातर्फ लालबहादुर ओली र सुशील खड्का, अपाङ्गतातर्फ प्रेमबहादुर ओली तथा श्रमिकतर्फ जितेन्द्र बुढाथोकी निर्वाचित हुनुभएको छ।
त्यस्तै द्वन्द्व प्रभाविततर्फ धीरेन्द्रकुमार बटाला, दलिततर्फ यज्ञबहादुर नेपाली, अल्पसंख्यकतर्फ बलवीर गोसाईं, आदिवासी जनजातितर्फ जनकुमार बाँठा र सृष्टि बाँठामगर, दलित पुरुषतर्फ मानबहादुर नेपाली तथा दलित महिलातर्फ आश्मादेवी गहतराज निर्वाचित हुनुभएको छ।
खस आर्य पुरुषतर्फ कर्णबहादुर ओली, परमेश्वर भण्डारी, सुरतजंग मल्ल र हर्कसिं खत्री तथा खस आर्य महिलातर्फ दीपा पाण्डे र मनिषा रोकाय निर्वाचित हुनुभएको छ।
प्रदेशसभा ‘क’को सभापतिमा अमृत बोहरा र ‘ख’को सभापतिमा तुलसीराम बुढा पनि सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
रुकुम पश्चिममा कांग्रेसका ७३ वटै वडा तथा छवटै स्थानीय तहमा अधिवेशन सम्पन्न भइसकेपछि प्रतिनिधिसभा क्षेत्र तथा प्रदेशसभा ‘क’ र ‘ख’को संयुक्त अधिवेशन भएको हो।
सहमतिको नाममा आफूअनुकूल चयन गरिएको गुनासो
प्रतिनिधि चयनपछि कांग्रेसभित्रै केही नेता तथा कार्यकर्ताले भने असन्तुष्टि व्यक्त गरेका छन्।
जिल्ला सचिव तारक शाहीले सहमतिको नाममा रातारात प्रक्रिया अघि बढाइएको दाबी गर्नुभएको छ। उहाँका अनुसार प्रतिनिधि चयनको प्रक्रियाबाट जिल्लाका कांग्रेस कार्यकर्ताको एउटा हिस्सा सन्तुष्ट छैन।
शाहीले पार्टी सञ्चालनमा सहमतिको प्रक्रियाभन्दा पनि आफूअनुकूल निर्णय गरिएको आरोप लगाउँदै ‘ठेक्काको हिसाबले कांग्रेस चलाइएको’ टिप्पणी गर्नुभएको छ।
उहाँले द्वन्द्व प्रभावितको कोटामा समेत आफूहरूले अपेक्षा गरेको व्यक्तिलाई प्रतिनिधित्व नगराइएको दाबी गर्नुभएको छ। यद्यपि निर्वाचन अधिकृतको कार्यालयको सूचनाअनुसार द्वन्द्व प्रभाविततर्फ धीरेन्द्रकुमार बटाला निर्वाचित हुनुभएको छ।
सहिद लोकेन्द्र बटालाका छोरा तेजेन्द्र बटालाले पनि आफूलाई सहिद परिवारको सदस्यका रूपमा महत्वपूर्ण समयमा विभिन्न अवसरबाट छुटाउने गरिएको गुनासो गर्नुभएको छ। उहाँले सहिद परिवारको प्रतिनिधित्व र योगदानलाई उचित ढंगले सम्बोधन नगरिएको दाबी गर्नुभएको छ।
यी आरोप तथा असन्तुष्टि सम्बन्धित व्यक्तिहरूका भनाइ हुन्। निर्वाचन अधिकृतको कार्यालयले भने ३३ जना महाधिवेशन प्रतिनिधि र दुई प्रदेश क्षेत्रीय सभापति सर्वसम्मत निर्वाचित भएको औपचारिक सूचना सार्वजनिक गरेको छ।
जिल्ला सभापति प्रेमप्रकाश ओलीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन कांग्रेस केन्द्रीय सदस्य मानबहादुर नेपालीले गर्नुभएको थियो। उद्घाटन सत्रको सञ्चालन जिल्ला सचिव परमेश्वर भण्डारीले गर्नुभएको थियो।







