हवाई उडान नरोक्न माग गर्दै हुम्लाबासीले दिए अल्टिमेटम

हुम्ला — हवाई सेवा प्रभावित हुने निर्णय सच्याउन हुम्लाका बासिन्दाले नागरिक उड्डयन प्राधिकरणलाई ४८ घण्टे अल्टिमेटम दिएका छन् । प्रमुख जिल्ला अधिकारीमार्फत सोमबार नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै अल्टिमेटम दिइएको हो ।
नागरिक उड्डयन प्राधिकरणले साउन १२ मा निर्धारण गरेको आन्तरिकतर्फको हवाई उडान कार्यतालिकाका कारण हिमाली जिल्ला हुम्लाको उडान प्रभावित भएको छ । उडान नहुँदा जिल्लाका बासिन्दालाई मर्का परेको भन्दै ज्ञापनपत्र बुझाइएको हो ।
नागिरक समाजका अनुसार हवाई सुरक्षा सतर्कता अपनाउने भन्दै दिउँसो साढे १२ बजेपछि उडानमा रोक लगाउने प्राधिकरणको निर्णयले जहाज नआउँदा जिल्लामा चार शिशुले उपचार अभाव ज्यान गुमाएको, कतिपय परीक्षार्थी परीक्षा दिनबाट बन्चित हुनु परेको छ, समयमा नै खाद्यान्न ढुवानी नहुँदा खाद्य अभाव भएर हुम्लाबासीलाई असर परेको छ ।
त्यसैले जिल्लामा क्रियाशील राजनीतिक दल र नागरिक समाजका अगुवाले हुम्ला जिल्लामा उडान कार्य तालिकामा पुनर्विचार माग गरेका हुन् । मागलाई बेवास्ता गरे कडा आन्दोलनमा जाने कांग्रेस नेता कैलाश भण्डारीले बताए ।
मुलुकका ७७ जिल्लामध्ये हुम्ला मात्रै हालसम्म राष्ट्रिय सडक सञ्जालले जोडेको छैन । यहाँ यातायातका साधनको विकल्प हवाई जहाज मात्र हो । उडान अनिश्चितताले हुम्लाबासीको दैनिकीमा असर परेको छ । प्राधिकरणले निर्णय सच्याउनुपर्ने हुम्ला नागरिक समाजका अध्यक्ष गणेश महतले बताए ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ श्रीनाथ पौडेलले समस्या समाधान हुनुपर्ने आफ्नो पनि मत रहेको बताए । उनले ज्ञापनपत्र मन्त्रालयमार्फत सम्बन्धित निकायमा तत्काल पुर्याउने प्रतिबद्धता व्यक्त गरे । कान्तिपुर



